काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात(एक्जिम) बैंक भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ । आयोजनाको ६.२ किलोमिटर लामो सुरुङ खनी कंक्रिट लाइनिङको काम धमाधम भइरहेको छ । कमजोर भौगर्भिक अवस्थाका कारण सुरुङलाई पूर्णरूपमा कंक्रिट लाइनिङ गर्नुपर्नेछ । हालसम्म मुख्य सुरुङको एक किलोमिटर कंक्रिट लाइनिङ गरिएको छ । प्राधिकरणका अनुसार मुख्य सुरुङबाट विद्युत््गृहसम्म पानी पुर्याउन राखिने १०५० मिटर पेनस्टक पाइपमध्ये १३० मिटर जडान गरिएको छ । विद्युत्गृहको मुख्य सिभिल संरचना निर्माण सम्पन्न गरी टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको छ । विद्युत् उत्पादनका लागि २०/२० मेगावाटका दुर्ईवटा युनिट रहनेछन् ।
नदी फर्काउन आवश्यक बाँधको सिभिल संरचना निर्माण भएको छ भने बाँधमा रहने गेटलगायतका उपकरण आयोजनास्थलमा ढुवानी भइसकेका छन् । बालुवा थिग्ग्रयाउने पोखरी (डिसेन्टर)को निर्माण करिब ३० प्रतिशत सकिएको छ । वर्षाका कारण रोकिएको हेडबक्र्सको निर्माण पनि सुरु हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रोपावरका सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङले बिहीबार निर्माणस्थल अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गर्नुभएको थियो । उहाँले विभिन्न समस्या झेल्दै आएको आयोजना आगामी असारभित्र जुनसुकै अवस्थामा सम्पन्न गर्ने गरी एकीकृत तालिका बनाएर अघि बढ्न निर्देशन दिनुभयोे । घिसिङले भन्नुभयो, ‘कमजोर तथा जटिल भौगोलिक अवस्थिति, कोरोना महामारी, भूकम्पलगायतका बाबजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ, आयोजना निर्माण सम्पन्न हुने विषयमा भारतीय अधिकारीहरूबाट निरन्तर चासो व्यक्त भइरहेको हुन्छ, सबै पक्षले अन्तिम प्रयास गरी चालु आर्थिक वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिनुपर्छ, यसका लागि हाम्रोतर्फबाट आवश्यक सहजीकरण गर्नेछौँ । असारभित्र सम्पन्न हुने गरी एक हप्ताभित्र निर्माण समयतालिका टुंगो लगाएर सबै पक्षले हस्ताक्षर गरी सोहीबमोजिम कार्य अगाडि बढाऔँ, कंक्रिट लाइनिङको काम सम्पन्न गर्न चुनौतीपूर्ण देखिएकाले जनशक्ति थप गरी निर्माणलाई तीव्रता दिनुपर्ने देखिन्छ ।’
आयोजनाको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्न नपाउँदा ढुंगा, गिट्टी, बालुवा अभाव बेहोर्नुपरेको थियो । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको २९ असार २०७८ को एकल इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा वातावरणीय महत्वको देखिएकाले रिटको अन्तिम टुंगो नलागेसम्म उक्त नदीको प्राकृतिक बहाव पथान्तरण गरी जलाशय बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालिग्राम चोरी निकासी तथा विनाश गर्नेलगायतका प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्य नगर्नू नगराउनू भनी अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । आयोजना प्रवद्र्धक रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले नदीजन्य निर्माण सामग्रीमा देखिएको समस्या हाल अस्थायीरूपमा समाधान भएको बताउनुभयो । कुनै ठूलो समस्या नआएमा असारभित्र आयोजना सम्पन्न हुने अवस्थामा रहेको उहाँको भनाइ थियो । आयोजनाको अनुमानित लागत नौ अर्ब १७ करोड रुपैयाँ रहेको छ । आयोजनामा भारतीय एक्जिम बैंकको छ करोड ७० लाख डलर सहुलियतपूर्ण ऋण र बाँकी रकम सरकार र प्राधिकरणको लगानी रहेको छ । त्रिशूली र देवीघाट जलविद्युत्पछि भारतले विद्युत् उत्पादनतर्फको राहुघाटमा सहायता उपलब्ध गराएको हो ।
सुरुमा आयोजनाको क्षमता ३२ मेगावाट थियो । आयोजना निर्माणका लागि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएपछि ठेक्का तोडिएको थियो । त्यसपछि आयोजनाको क्षमता बढाएर ४० मेगावाट बनाएर नयाँ ठेक्का सम्झौता गरिएको थियो । सिभिल संरचना र हाइड्रो मेकानिकल कार्य इञ्जिनियरिङ, खरिद र निर्माण इपिसी ढाँचामा जय प्रकाश एसोसिएट्स भारतले, इलेक्ट्रो मेकानिकल कार्य भारत हेवी इलेक्ट्रिकलले र निर्माण सुपरीवेक्षण वाप्कोस् भारतले गरिरहेका छन् । दैनिक चार घण्टा पिकिङ गर्न मिल्ने आयोजनाबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत्् उत्पादन हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच