
काठमाडौंं । उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन् । शुक्रबारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था(एसिक)हरूको ३६औँ सम्मेलनका वक्ताहरूले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्वपूर्ण हुने बताएका हुन् । प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निकै कमले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रवृत्ति रहेको बताउनुभयो । कुल जनसंख्याको अत्यन्त कम अर्थात् १८ प्रतिशतले मात्रै कर्जा लिने गरेको उहाँको भनाइ थियो । बैंक तथा वित्तीय संस्थाले महिलालाई कर्जा प्रवाह गर्दा प्रतिफलको दर उच्च हुने भए पनि महिलामा धितो राख्ने सम्पत्ति कम हुने गरेकाले ऋण लिएर र काम गर्ने अवस्था नभएको भन्दै उहाँले समृद्ध राष्ट्र बन्न महिलासहित सुविधाबाट वञ्चित समुदायसम्मका समाजका सबै वर्गमा कर्जाको सहज पहुँच हुनुपर्ने बताउनुभयो ।
सम्मेलनमा नवप्रवर्तनमा लगानी : कर्जा सुरक्षण संस्थाको भूमिका विषयक सत्रका सहभागीहरूले नवप्रवर्तन र उद्यमशीलतामा कर्जा सुरक्षणको आवश्यकतासहित आफ्नो देशको अभ्यास र अनुभव आदानप्रदान गरेका थिए । कोरिया कर्जा सुरक्षण कोष (कोडिट) अध्यक्षका नीति सल्लाहकार जुंगिन योनले कोडिटले नयाँ सोच र योजना भएका तर वित्तीयरूपमा अप्ठेरोमा परेका उद्यमीमा लगानी गरेको बताउनुभयो । मलेसियाली क्रेडिट ग्यारेन्टी कर्पोरेसन (सिजिसी)का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मोहम्मद इसकले मलेसियाका साना तथा मझौला उद्योग (एसएमई)मध्ये एक तिहाइलाई सिजिसीले सहयोग गरिरहेको जानकारी गराउनुभयो । खासगरी सुरक्षा, वित्तीय व्यवस्था र आवश्यक अन्य काममा सहयोग गरिरहेको उहाँको भनाइ थियो ।
फिलिफिन्सको कर्जा सुरक्षण निकाय फिलिपिन ग्यारेन्टी कर्पोरेसन (पिजिसी)का वरिष्ठ उपाध्यक्ष सेल्सो गुटिअरेजले फिलिपिन्सको नवप्रवर्तनसम्बन्धी कानुन र कार्यक्रमले साना उद्योगीको विकासलाई निरन्तरता दिन सहयोग गर्दै आएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘हामी ग्रामीण विकासको माध्यमबाट देश विकासको प्रयास गरिरहेका छौँ, कर्जा सुरक्षणका लागि हामीले शहरी क्षेत्रबाहिरका मानिसलाई आवेदन दिन प्रोत्साहित गर्छौं ।’ ताइवनको एसएमई क्रेडिट ग्यारेन्टी फण्ड (टिएसएमइजी) का युसिन कुओले आफूहरूले एसएमईलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्दै आइरहेको बताउनुभयो । सरकार र बैंकसँगको सहकार्यमा उद्यमीहरूलाई सहयोग गरिरहेको उहाँको भनाइ थियो । सम्मेलनको दोस्रो सत्रमा नवप्रवर्तन फाइनान्सिङमा एसियाली देशका उत्कृष्ट अभ्यासका विषयमा छलफल भएको थियो । उक्त सत्रमा क्रेडिट ग्यारेन्टी कर्पोरेसन अफ कम्बोडिया (सिजिसिसी) डेपुटी प्रमुख कार्यकारी अधिकृत लिडा नोले विशेषगरी साना तथा मझौला उद्योग र अन्य व्यवसायलाई सहयोग गर्ने उद्देश्यले कर्जा र बन्ड ग्यारेन्टीहरू आफ्नो संस्थाले प्रदान गर्दै आएको बताउनुभयो ।
जापान फाइनान्स कर्पोरेसन (जेएफसी)का वरिष्ठ अर्थशास्त्री योहेई यामागुचीले सन् २०२७ सम्ममा नवप्रवर्तनको क्षेत्रमा लगानी बढाएर सात अर्ब अमेरिकी डलरभन्दा बढी पु¥याउने उद्देश्यले जापानी सरकारले पाँचवर्षे विकास योजना ल्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जापानका वाणिज्य बैंकहरूले बिजनेसलाई प्रोत्साहन गर्दा अन्य देशका तुलनामा इक्विटी फाइनान्स मार्केटको क्षेत्रमा विकास कम भएको देखियो, जेएफसी जस्ता संस्थाबाट नवप्रवर्तन र साना तथा मझौला उद्यम एसएमईलाई प्रोत्साहन गर्न सरकारले हस्तक्षेप गर्नुपर्ने देखिएको थियो ।’
कार्यक्रममा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सिइओ अनिर्वाण घोष दस्तीदारले स्टार्टअप र एमएसएमई बढिरहेको क्षेत्र/स्थानमा क्रेडिट ग्यारेन्टीको काम अझ महत्वपूर्ण भएको बताउनुभयो । नेपालमा २७ प्रतिशत जनसंख्यामा बैंकको पहुँच पुग्न बाँकी रहेको उल्लेख गर्दै उहाँले वित्तीय पहुँच समावेशी बनाउन पर्याप्त अवसर भएको बताउनुभयो । नेपालमा उदीयमान र विस्तार हुँदै गएकाले स्टार्टअपसँगै आर्थिक सम्भावना बढाउन क्रेडिट ग्यारेन्टीको आवश्यकता बढी रहेकोे दस्तीदारको भनाइ थियो । भारत हैदरावादस्थित फिनटेक कम्पनी टी-हबका सल्लाहकार सञ्जय ठाकुरले एसियाली क्षेत्रमा कर्जा सुरक्षाले साना तथा मझौला उद्योग विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो तर कर्जा सुरक्षाका योजना वास्तविक समस्यामा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो । जापानका ५१ क्षेत्रमा ५१ प्रकारकै कर्जा सुरक्षण योजना रहेको उल्लेख गर्दै उहाँले सोबाट पनि एसियाली देशहरूले पाठ सिक्नुपर्ने पनि बताउनुभएको थियो । सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा एसियाका १६ देशका सुरक्षण निकायको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच