
काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले तत्काल पक्राउ नगर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरसमेत देशबाहिर रहेका बेला लामिछानेलाई तत्काल पक्राउ नगरिने भएको हो । यसअघि सहकारी प्रकरणमा संसदीय विशेष छानविन समितिले गरेको सिफारिशको आधारमा लामिछानेलाई आइतबार राति नै पक्राउ गर्ने तयारी थियो । तर, उच्च राजनीतिक नेतृत्वबाट ‘ग्रिन सिग्नल’ नपाएपछि प्रहरी पछि हटेको उच्च स्रोत बताउँछ । उहाँलाई पक्राउ गर्ने तयारीस्वरूप रास्वपा पार्टी कार्यालय वनस्थलीमा आइतबार प्रहरी पुगेको थियो । तर, उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै रविलाई पक्राउ गर्ने कार्य तत्काललाई रोक्न उच्च राजनीतिक नेतृत्वबाट निर्देशन आएको उच्च स्रोतको भनाइ छ । स्रोतका अनुसार सरकारले तत्काल पक्राउ नगर्न निर्देशन दिएपछि प्रहरी पछाडि हटेको हो । तर, लामिछानेमाथि निगरानी भने गरिरहन निर्देशन आएको प्रहरी स्रोतको दाबी छ ।
प्रहरी महानिरीक्षक कुँवर सोमबार इन्टरपालेलको कार्यक्रममा सहभागी हुन ग्रिस प्रस्थान गर्नुभएको छ भने प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभामा सहभागी हुन यसअघि नै अमेरिका पुगिसक्नु भएको छ । प्रधानमन्त्री र प्रहरी नेतृत्वसमेत फर्केपछि उचित राजनीतिक परामर्श गरेरै रविलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ । प्रहरीले यसअघि आइतबार नै सहकारीको रकम ठगी आरोपमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पक्राउ गरेको थियो । जोशीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएर कास्की लगेको थियो । संसदीय विशेष समितिले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्नेगरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड बढी रकम ल्याएर खर्च गरिएको देखाएको थियो । समितिको प्रतिवेदन बुझेलगत्तै सरकारले कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै प्रतिवेदन कार्यान्वयन गर्न लिखित निर्देशन आएपछि गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो ।
जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति, तीन अभियोगमा अनुसन्धान हुने
जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा आइतबार काठमाडौंबाट पक्राउ पर्नुभएका जोशीलाई सोही दिन जहाजबाट कास्की लगिएको थियो । प्रहरीले जरुरी पुर्जी थमाएर पक्राउ गरेकामा सोमबार कार्यालय समयमा जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले भने सुरुमा १० दिन म्याद थप मागेको थियो ।
सरकारी वकिल र आरोपितका तर्फबाट बहसपछि न्यायाधीश चन्द्रकान्त शर्माको इजलासले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । गोर्खा मिडिया नेटवर्कका चार सञ्चालकमध्ये जोशी सुरुवाती कालमा सञ्चालक समितिको उपाध्यक्ष हुनुहुन्थ्यो । तर, पछि भने उहाँले आफ्नो भागको सेयर बेचेर बाहिरिनुभएको थियो ।
पूर्वडिआइजी जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुने भएको छ । जोशीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ । संगठित अपराधमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ ।
जोशीको प्रारम्भिक बयान- जिबी र रवि नै प्रमुख जिम्मेवार हुन्
सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वडिआइजी छविलाल जोशीले सहकारीको रकम अपचलन प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछाने र गितेन्द्रबाबु राई (जिबी) नै प्रमुख जिम्मेवार रहेको बयान दिनुभएको छ । कास्की प्रहरीको प्रारम्भिक बयानका क्रममा उहाँले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याउने र खर्च गर्ने भूमिकामा लामिछाने र राईकै भूमिका प्रमुख रहेको बताउनुभएको हो । कास्की प्रहरी स्रोतका अनुसार जोशीले बयानमा सहकारीको रकम अपचलनमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभयो । उहाँले जिल्ला अदालतमा म्याद थपका क्रममा पनि आफ्नो कुरा राख्नुभएको थियो । जसमा पनि उहाँले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता अस्वीकार गर्नुभयो । ‘म गलत संगतमा परेँ, सहकारीबाट पैसा लैजाँदा सही पनि छैन, मैले पहिल्यै सेयर फरफारक गरेर गोर्खा मिडिया नेटवर्कबाट बाहिरिसकेको हो,’ उहाँले भन्नुभयो ।
पोखरामा रविका समर्थक र सहकारी पीडितको दोहोरो प्रदर्शन
रास्वपाका समर्थक र सूर्यदर्शन सहकारीका पीडितहरूले पोखरामा प्रदर्शन गरेका छन् । रविलाई पक्राउ गर्न नहुने भन्दै समर्थकहरू सडकमा उत्रिएपछि पीडितहरू पनि विरोध प्रदर्शनमा उत्रिएका थिए । रविलाई पक्राउ गर्न माग गर्दै सोमबार मध्याह्न पीडितहरूले जिल्ला प्रशासन कार्यालय कास्की पुगेर प्रदर्शन गरेका हुन् । पीडितले रविलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरिरहँदा रास्वपा समर्थकले भने पक्रन नहुने भन्दै प्रदर्शन गरेका थिए । दुवै पक्ष विरोधमा उत्रिएपछि पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । पोखराको शहीदचोकमा रास्वपाको विरोध प्रदर्शन भएको थियो भने नजिक रहेको प्रशासन कार्यालय अगाडि सहकारी पीडितले प्रदर्शन गरेका हुन् । जोशीलाई पक्राउ गरेपछि आइतबार साँझा रविलाई पनि पक्राउ गर्ने हल्ला चलेको थियो । रविलाई समात्ने हल्ला चलेपछि आइतबार राति रास्वपा कार्यालयमा समेत समर्थकहरू भेला भएका थिए । सोमबार पनि बिहानैबाट रास्वपा सभापति लामिछानेसहित नेताहरू पार्टी कार्यालयमा भेला भएका थिए । नेताहरू कार्यालय पुगेपछि रास्वपा समर्थकहरू पनि पार्टी कार्यालयमा भेला भएका थिए ।
समितिलाई कारबाही सिफारिश गर्ने अधिकार छैन, उसले गलत गर्यो : अर्याल
रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले सहकारीको रकम अपचलनसम्बन्धी छानविन गर्न बनेको संसदीय छानविन विशेष समिति आफ्नो टिओआर (कार्यादेश)बाट बाहिर गएको दाबी गर्नुभएको छ । सोमबार पार्टी कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति अर्यालले समितिले गलत गरेको जिकिर गर्नुभयो । समितिलाई कारबाही सिफारिश गर्ने अधिकार नै नरहेको उहाँको दाबी थियो । ‘संसदीय छानविन समिति आफ्नो टिओआरबाट बाहिर गयो । उसले गलत गरिसक्यो । उसलाई कारबाही सिफारिश गर्ने अधिकार छैन,’ उहाँले भन्नुभयो । समितिले ल्याएको ८७ अर्ब रकम अपचलनमा ध्यान नदिई सरकार रवि लामिछानेको मात्रै पछि लागेको उहाँले आरोप लगाउनुभयो । ‘८७ अर्बको कुरा त्यही प्रतिवेदनले दिएको छ । कुनकुन सहकारीमा रहेछ भनेर बहस चलाउने ? ८७ सय करोडको चाहिँ हिसाब छैन । रवि लामिछाने चाहिँ ठग होइन रहेछ भनेर मिडियामा बोल्दै हिँड्नुभएको छ । लिखित रूपमा प्रतिनिधि सभामा पेस गर्नुभएको छ । तर, बहस त्यहाँ मात्रै भइरहेको छ,’ उहाँले भन्नुभयो ।
ठगको बचाउ गर्ने होइन समातेर प्रहरीलाई बुझाइदिनुस् : ढकाल
रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगीमा मुछिएका पार्टी सभापति रवि लामिछानेको बचाउ नगर्न समर्थकहरूलाई आग्रह गर्नुभएको छ । सोमबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टीको मूल उद्देश्य विधिको शासन स्थापित गर्नु भएको भन्दै अपराधी, ठग, दलालहरूको संरक्षण नगर्न आग्रह गर्नुभएको हो । सहकारी ठगलाई ढाल बनाएर बचाउने कोसिस गर्नु दुर्भाग्यपूर्ण रहेको उहाँले बताउनुभएको छ । ढकालले पार्टी कार्यालयमा लुकेर बसेका ठगलाई कानुनी कारबाहीको लागि प्रहरीलाई बुझाउनुपर्नेमा जोड दिनुभएको छ । ‘हामीले बनाएको पार्टी भ्रष्ट, ठग, दलाल र अपराधीको संरक्षणको लागि होइन, बल्की तिनीहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरूको ऊर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो,’ उहाँले लेख्नुभएको छ, ‘पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस् ताकि कानुनभन्दा माथि कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् ।’
कसैको राजनीति जोगाउन मलाई बलि चढाउन खोजियो : लामिछाने
रास्वपा सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादको बाटोमा लागेको आरोप लगाउनुभएको छ । प्रहरीले उहाँलाई पक्राउ गर्ने तयारी गरेको चर्चाबीच आइतबार राति पार्टी कार्यालयमा भेला भएका समर्थकलाई सम्बोधन गर्दै लामिछानेले सरकार अधिनायकवादको बाटोमा लागेको आरोप लगाउनुभयो । ‘पञ्चायतमा यस्तो भएको सुनेका छौँ, यो के गर्न खोजेको ? अनुसन्धानको कुन कसीमा उभिनुपर्छ तयार छौँ । लैजानुस म तयार छु, म छानविनका लागि तयार छु,’ उहाँले भन्नुभयो, ‘सरकार अधिनायकवाद जाँदै छ कि भन्ने संकेत देखिएको छ ।’ लामिछानेले सहकारीको रकम हिनामिनामा समितिले आफ्नो संलग्नता नभेटेको दाबी दोहोर्याउनुभयो । तर, सहकारी छानविनसम्बन्धी संसदीय समितिले गोर्खा मिडियामा आएको सहकारीको रकम हिनामिनामा लामिछाने संलग्न रहेको निष्कर्षसहित कारबाही सिफारिश गरेको थियो । लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोपसमेत लगाउनुभयो । ‘कसैको राजनीति जोगाउन मलाई बलि चढाउन नखोज्नुस् । आँट भए आऊ, तर मलाई षड्यन्त्र गरेर होइन । चुनाव लडेर जित्नुस् । यस्तो षड्यन्त्र गरेर होइन’, उहाँले भन्नुभयो, ‘गल्ती गर्ने भागेर बसेका छन्, म त यहाँ शिर ठाडो गरेर बसिरहेको छु । मैले सरकारलाई स्पष्ट भनेको छु ।’ लामिछानेले प्रधानमन्त्री ओलीलाई अमेरिकाबाट आँखा नसन्काउन चेतावनीसमेत दिनुभयो । लामिछानेले सहकारी पीडितलाई न्याय दिने भए बसेर कुरा गर्न आग्रह गर्नुभएको छ । ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौँ,’ उहाँले आइतबार मध्यराति फेसबुकमा लेख्नुभएको छ, ‘सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच