काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरमा नहुने लगभग निश्चित भएको छ । पूर्वाधारको काम नसकिएकाले मंसिरमा हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा नहुने लगभग पक्का भएको हो । खेलकुद मन्त्री तेजुलाल चौधरीले नै आगामी मंसिरमा दशौँ राष्ट्रिय खेलकुद हुन नसक्ने प्रष्ट पार्नुभएको छ ।
सप्तरीको राजविराज पुगेर मन्त्री चौधरीले पूर्वाधारको कारण देखाउँदै दशौँ राष्ट्रिय खेलकुद पूर्वनिर्धारित मितिमा हुन नसक्ने बताउनुभएको हो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म हुन सक्ने उहाँको भनाइ थियो । कर्णाली प्रदेशमा मंसिर, पुस र माघ महिनामा अत्यधिक जाडो हुने भएकाले प्रतियोगिता फागुन महिनामा गर्ने मन्त्रालयले योजना बनाएको उहाँको भनाइ थियो । अहिलेकै अवस्थामा प्रतियोगिता गर्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।
‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमा सञ्चालन गर्ने तय गरेका थियौँ, पूर्वाधार निर्माण गर्ने क्रम चलिरहेकाले प्रतियोगिता अब आगामी फागुनमा सञ्चालन गर्छौं,’ उहाँले भन्नुभयो, ‘चिसोको समयमा बसोबासको समेत समस्या हुन्छ । फागुनमा चिसो कम हुने भएकाले त्यही बेला राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएका छौँ ।’
कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ देखि ७ गतेसम्म सञ्चालन गर्ने घोषणा गरिएको थियो । तर, प्रतियोगिता निर्धारित समयभन्दा पछि धकेलिने प्रष्ट देखिएको हो । सरकारले प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ बजेटसमेत दिएको छ । तर, पूर्वाधारलाई कारण देखाउँदै नयाँ मन्त्रीले प्रतियोगिता सर्ने निश्चित भएको बताउनुभएको हो । कर्णालीको पछिल्लो स्थलगत भ्रमणका क्रममा उहाँले तयारी प्रतिवेदनका आधारमा निर्णय गर्ने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच