पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ का लागि अनुमानित ६२ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । क्यानको शुक्रबार पोखरामा भएको वार्षिक साधारणसभाले उक्त बजेट पारित गरेको हो । साधारणसभामा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले वर्ष २०२५ को अनुमानित व्यय प्रस्तुत गर्नुभएको थियो । क्यानका बोर्ड सदस्य एवं प्रवक्ता छुम्बी लामाका अनुसार नेपाल प्रिमियर लिग (एनपिएल) का लागि तयारी समितिले गरेको निर्णयसमेत साधारणसभाले अनुमोदन गरेको छ ।
सभाले क्यानले गर्ने नियमित प्रतियोगितालाई प्रदेशस्तरमा विकेन्द्रित गर्ने निर्णय गरेको छ । खेलमैदानको उपलब्धता भएका प्रदेशका विभिन्न उमेर समूहका प्रतियोगिता लैजाने निर्णय भएको लामाले बताउनुभयो । विकेन्द्रीकरणकै लागि क्यानले आयोजना गर्ने एलिट कपलाई पर्सा र जनकपुरमा लैजाने उहाँले जानकारी गराउनुभयो ।
क्यानका सचिव पारस खड्काले कार्यकालको पहिलो वर्षको प्रगति विवरण र भावी योजना प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले कोषाध्यक्षद्वारा प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ ।
साधारणसभाको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गर्नुभएको थियो । साधारणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले प्रदेश सरकारले गण्डकी प्रदेशका दुई जिल्लामा प्रदेशस्तरीय क्रिकेट रंगशालाको निर्माण कार्य अघि बढाएको बताउनुभयो । नेपाली क्रिकेटले प्राप्त गरेको उचाइ कायम राख्न युवा खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले युवा तथा उमेर समूहका खेलाडीको उत्पादनमा क्यानले विशेष ध्यान दिन सुझाव दिनुभयो । उहाँले जिल्ला संघ विस्तार, विश्वकप क्रिकेटको तयारीका लागि बजेट विनियोजनमा राखेपले सघाएको स्मरण गर्नुभयो ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले २०२७ मा हुने यू–१९ महिला विश्वकपको आयोजनाको तयारीमा जुटिरहेको जनाउँदै त्यसका लागि काठमाडौं र पोखरालाई छानिए पनि पोखरामा पूर्वाधार अवस्था कमजोर हुँदा सम्भावना कम रहेको बताउनुभयो । त्यसका लागि प्रदेश सरकारले यथाशीघ्र योजना अघि सार्न आग्रह गर्नुभयो । नेपाली क्रिकेटले खेलाडीलाई राष्ट्रिय र प्रदेश तहमा मासिक भत्ताको सुरुवात गरेको बताउँदै यसले नेपाली क्रिकेटको जग तल्लो तहबाटै बलियो बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।
आम्दानी बजेट ६१ करोड ७२ लाख
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी २०२५ को अनुमानित वार्षिक आम्दानी बजेट ६१ करोड ७२ लाख रुपैयाँ हुने बताएको छ । पोखरामा सम्पन्न क्यानको वार्षिक साधारणसभाले उक्त अनुमानित बजेट प्रस्तुत गरेको हो । क्यानको आगामी आर्थिक वर्षको अनुमानित आम्दानी ६१ करोड ७२ लाख ७४ हजार ३५० रुपैयाँ छ ।
क्यानलाई आइसिसीले वार्षिक २४ करोड ५५ लाख २० हजार प्रदान गर्नेछ । क्यानलाई आइसिसीले एसिसीबाट शोधभर्ना अनुदान नौ करोड ३२ लाख ९१ हजार ८५० रहने अनुमान गरेको छ । त्यस्तै, एसिसीले तीन करोड ९६ लाख अनुदान दिनेछ । राखेपबाट आम्दानी एक करोड १० लाख हुनेछ ।
प्रायोजक र स्पोन्सरबाट इनकम नौ करोड ३५ लाख हुनेछ । टिकट ब्रिकी, बैंकको ब्याज, मैदान भाडा, बोडकास्टिङ, चन्दा, मर्चेन्डाइजिङ सबै गरी ६१ करोड ७२ लाखको बजेट अनुमान गरेको छ ।
उक्त बजेटबाट क्यानले मुख्य प्रशिक्षक, प्रादेशिक प्रशिक्षक, मैदान कर्मचारी, क्युरेटर, कार्यसमिति बैठक, प्रदेशलाई दिने अनुदान र अन्य घरेलु प्रतियोगितामा २१ करोड ४३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । विभिन्न घरेलु प्रतियोगिता र अन्यमा १३ करोड खर्च हुने अनुमान गरेको छ ।
नेपालको सिनियर पुरुष र महिला टोलीको विदेशमा सहभागिता, बन्द प्रशिक्षण, सिरिजहरू, लिग २, यू–१९ विश्वकप एसिया छनोट, हवाई टिकटलगायतमा २९ करोड १२ लाख खर्च हुने अनुमान गरेको छ । क्यानको २०२५ को कुल अनुमानित खर्च ६९ करोड ५० लाख रुपैयाँ छ ।
नेपालले श्रीलंकासँग सिरिज खेल्ने
नेपालले २०२५ मा श्रीलंकासँग सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेण्डर २०२५ मा उक्त सिरिज राखिएको छ । निमन्त्रणा द्विपक्षीय सिरिज २०२५ अप्रिलमा हुने क्यानले जनाएको छ । नेपालले हालसम्म टेस्ट टोलीको सिनियरसँग सिरिज खेलेको छैन । घरेलु मैदानमा नेपालले पछिल्लो दुई वर्षमा जिम्बावे ‘ए’, आयरल्याण्ड ‘ए’ र वेष्टइण्डिज ‘ए’सँग भने त्रिवि क्रिकेट मैदानमा सिरिज खेलिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच