काठमाडौं । सञ्चालनमा रहेका जलविद्युत् गृहमध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ । बाढीपहिरोले दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडबक्र्स)मा ठूलो क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द भएको थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्र्याउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको छ । कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरण पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । डिस्याण्डरमा रहेका दुर्ईवटा पोखरीमा लेदो, गेग्र्यान, ठूल्ठूला ढुंगा थुप्रिएका छन् । दुर्ईवटा पोखरी प्रत्येकमा ७५/७५ हजार घनमिटर लेदो, ढुुंगालगायत थुप्रिएको अनुमान गरिएको छ ।
‘सबैभन्दा ठूलो आयोजना बन्द हुँदा विद्युत् आपूर्तिमा समस्या त परेकै छ, वर्षायामको विद्युत् निर्यात पनि प्रभावित भएको छ, विद्युत्गृह चलाउन सकेनौँ भने हिउँदमा आन्तरिकरूपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहने देखिएको छ ।’
कन्ट्रोल रुम भवन, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको हो । कन्ट्रोल रुममा कार्यरत कम्पनीका दुर्ई कर्मचारी र सुरक्षाका लागि खटिएका दुर्ई सैनिक गरी चारजनाको मृत्यु भएको थियो । खहरे खोलामा अझै माथिबाट लेदो आइरहेको र ढुंगासमेत खसिरहेको छ ।
अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ सात बजेबाट विद्युत् उत्पादन बन्द गरिएको थियो भने बाँधका सम्पूर्ण ढोका खुला गरिएको थियो । जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो । बाँधबाट डिस्याण्डर बीचमा रहेको कल्भर्टमा पुगेको क्षति अझै यकिन गर्न सकिएको छैन । विद्युत् उत्पादन बन्द हुँदा माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको प्रवद्र्धक कम्पनीले दैनिक चार करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, सचिव सुरेश आचार्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली विज्ञ समूहसहित मंगलबार आयोजनास्थल पुगी पहिरोले पुर्याएको क्षतिका जानकारी लिएको छ ।
टोलीले संरचनाको मर्मतसम्भार गरी विद्युत्गृह सञ्चालन गर्ने विभिन्न विकल्पबारे विज्ञसमूह र कम्पनी व्यवस्थापनसँग छलफल गरेको थियो । टोलीमा जलविद्युत् केन्द्रको सम्पत्ति बिमा गरिएको राष्ट्रिय बिमा संस्थानका सर्वेयर पनि सहभागी थिए । राज्यमन्त्री तामाङले तामाकोशी बन्द हुँदा समग्र राष्ट्रलाई नै ठूलो क्षति भइरहेकाले हरेक उपाय अवलम्बन गरी विद्युत् उत्पादन जतिसक्दो छिटो सुरु गर्नुपर्ने बताउनुभयो । आयोजना प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरका सञ्चालक समिति अध्यक्षसमेत रहनुभएका कार्यकारी निर्देशक घिसिङले पहिरोले नियन्त्रण कक्ष, डिस्याण्डर, कल्भर्टलगायतका संरचनामा ठूलो क्षति पुर्याएको बताउनुभयो । अझै पनि खहरे खोलामा बाढी आइरहेको र उक्त संरचना रहेको स्थानभन्दा माथि ठूल्ठूला ढुंगाहरू देखिएको उल्लेख गर्दै उहाँले उक्त क्षेत्र अझै जोखिमयुक्त रहेकाले लाइडार सर्वेमार्फत् समग्ररूपमा भौगर्भिक अध्ययन गरी जोखिम पहिचान गर्न लागिएको बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘सञ्चालनमा रहेको सबैभन्दा ठूलो विद्युत्गृह बन्द हुँदा आन्तरिकरूपमा विद्युत् आपूर्तिमा समस्या त परेकै छ, यसबाट वर्षायामको विद्युत् निर्यात पनि नराम्ररी प्रभावित भइरहेको छ, विद्युत्गृह चलाउन सकेनौँ भने हिउँदमा आन्तरिकरूपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहने देखिएको छ, त्यसले जतिसक्दो छिटो विद्युत्गृह सञ्चालन गर्न हरसम्भव उपायहरू लगाएका छौँ ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले विज्ञ समूहबाट विद्युत्गृह सञ्चालन गर्न विभिन्न सुझाव प्राप्त भएकाले सुझावहरू समेटेर मर्मतसम्भारका उपायहरू अवलम्बन गरी कार्ययोजनाका साथ काम सुरु गरिसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाँधमा रहेका गेट चलाउन र डिसेण्डर सफा गर्न गोङ्गरबाट लगिएको ११ केभी विद्युत् लाइन मर्मतसम्भार गरी चालु गर्ने र पावर ट्रान्सफर्मर तथा केबल प्राधिकरणबाट जडान प्रक्रिया सुरु भइसकेको छ ।’ विद्युत्गृह रहेको गोङ्गरबाट बाँधस्थलतर्फ जाने प्रवेश सडकअन्तर्गत काभ्रेभिर नजिक करिब एक सय मिटर सडक भासिएको पनि उहाँले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच