जडिबुटी र पर्यटनमार्फत् समृद्धिको खोजी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । पश्चिम म्याग्दीको समृद्धि जडिबुटी र पर्यटनको जोडिएको निपश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं ४ मा पर्ने मुदीका प्राकृतिक स्रोतहरुलाई आर्थिक उपार्जनको माध्यम बनाउन स्थानीय सरकारले पहल सुरु गरेको छ ।

जलविद्युत, पर्यटन र जडिबुटीको प्रशस्तै सम्भावनाको मुदीलाई स्थानीय उत्पादन र प्राकृतिक स्रोतसँग जोडेर विकासका योजनाहरु बनाइको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

अथाह प्राकृतिक स्रोत,जडिबुटी र पर्यटनको प्रशस्तै सम्भावनाहरु रहेको भएपनि भौगोलिक विकटता र सरोकारवाला निकायहरुको बेवास्ताका कारण ‘सुनको सिरानी हालेर नुनको खोजीमा’भौतारिइरहनु पर्ने बाध्यतामा रहेको यस गाउँलाई प्राकृतिक स्रोत र पर्यटनसँग जोडेर विकासका योजनाहरु बनाइएको उहाँको भनाइ छ ।

मुदीमा संसारकै सातौं र नेपालको चौथो अग्लो धौलागिरी हिमाल छ । त्यहाँ वर्षेनी करोडौं रुपैयाँ आम्दानी हुन सक्ने जडिवुटी र लाखौं रुपैयाँ राजस्व संकलन गर्न सकिने पर्यटकीय सम्भावनाका अवसरहरु पनि रहेका छन् । तर ती सबै सम्भावनाहरु विगतका राजनीतिक नेतृत्वको अदूरदर्शिता र सरोकारवाला निकायको बेवास्ताका कारण ‘भिल्लका देशमा मणि’जस्तै बनेको स्थानीय वासिन्दाहरु बताउँछन् ।

पाँचसय ५१ घरधुरी र १८ सय जनसङ्ख्या रहेको मुदी गाउँमा स्थानीय वासिन्दाहरुले यार्सागुम्वा बिक्री गरी एक वर्षमा गाउँमा करीव एक करोड रुपैयाँ भित्र्याउन सफल हुन्छन् । यार्सागुम्वाका अतिरिक्त बिखला, चिराइतो, सतुवा, जटामसी, कुट्की, वनलसुनलगायतका जडिबुटी र दुर्लभ मानिएको सेतो ढुङ्गो पनि मुदीमा प्रशस्तै पाइने धवलागिरि गाउँपालिका वडा नं ४ मुदीका वडाअध्यक्ष यामबहादुर घर्तीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँका जडिबुटीहरुको पनि देश विदेशमा राम्रो माग रहेकाले प्रशस्त आम्दानी गर्न सकिने सम्भावनालाई ध्यानमा राखी गाउँपालिकाले जडिबुटी निकासीका लागि व्यवहारिक नीति अवलम्वन गरेको छ ।

मुदीमा मात्रै करीव २० किलो यार्सागुम्वा संकलन गर्न सकिने प्रवल सम्भावना रहँदारहँदै पनि संकलन गर्ने सीप र सामग्रीको अभावमा स्थानीयले प्रशस्तै लाभ भने लिन नसकेको अवस्थामा स्थानीय सरकारले जडिबुटी संकलन, बजार व्यवस्थापन र निकासी नीति सरल बनाइदिए पछि सजिलो भएको मुदीका दलमान घर्तीले जानकारी दिनुभयो ।

जति नै धेरै सम्भावनाहरु भएपनि सरोकारवाला निकायहरुको चासो र राजनीतिक दलहहरुको सहयोग विना स्थानीयको पहलले मात्र सम्भव नहुने हुँदा पश्चिम म्याग्दीले जति फाइदा लिनुपर्थ्याे त्यसको पाँच प्रतिशत पनि लाभ लिन नसकेको मुदीका तीर्थ तिलिजाले बताउनुभयो ।

जडिबुटीमामात्रै होइन पश्चिम म्याग्दी पर्यटकीय सम्भावनाले युक्त ठाउँ पनि हो । बेनीदेखि दरबाङ-मुदीबगर-धौलागिरी बेसक्याम्प हुँदै मुस्ताङको मार्फासम्म पुग्ने पदमार्ग निर्माण गर्ने, बाटोमा संकेत चिह्नहरु राख्ने र बीचबीचमा पर्यटक लक्षित स्तरीय होटलहरुको व्यवस्था गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

‘यसो गर्न सक्ने हो भने धौलागिरी आरोहणका लागि आउने पर्यटकहरु सहित मुस्ताङ जानका लागि वर्षेनी हजारौं पर्यटकहरु मुदीमा भित्रिन सक्नेछन्’ पुनले भन्नुभयो ‘यिनै कुराहरुलाई मध्यनजर गरेर योजना बनाइरहेका छौं ।’

गोरेटो बाटो र ठाडा खोलाहरुमा पुल निर्माण गरिएको छ । त्यसका अतिरिक्त मुदी गाउँको प्राकृतिक सुन्दरता,जैविक विविधता, सामाजिक मूल्यमान्यता र पर्यावरणीय शुद्धता कायम गर्न पनि आवश्यक रहेकोले यसतर्फ पनि स्थनीय सरकारको ध्यान रहेको अध्यक्ष पुनले बताउनुभयो ।

जडिबुटी र पर्यटनपछि मुदीमा लघु जलविद्युत आयोजनाको पनि प्रशस्त सम्भावना रहेको छ । मुदी भएर बग्ने म्याग्दी खोलालगायत रातोखोला, जिर्कुस खोला र दोभान खोलाबाट करीव ३ सय किलोवाट बिजुली निकाल्न सकिने सम्भावना छ । तर केही वर्ष अघि डिसिआरडिसि बागलुङको पहलमा रातोखोलाबाट १० किलोवाट क्षमताको जल विद्युत उत्पादन गर्ने काम बाहेक अन्य कुनै जलविद्युतका योजनाहरु नरहेकोमा स्थानीयले गुनासो गरेका छन् ।

त्यसैगरी पशुपालन र टिमुरको व्यवसायिक खेती पनि मुदीका वासिन्दाहरुको आय आर्जनको बलियो माध्यम बन्न सक्ने देखिएको छ । मुदीका प्रत्येक घरमा गाई भैंसी बाख्रा त पालिएका छन् । पछिल्लो समय खरायो पालनमा पनि स्थानीय वासिन्दाहरु आकर्षित भएका छन् । अधिकांश जनजाति र दलितहरुको बाहुल्यता रहेको मुदी गाविसमा पशुहरु दुध भन्दा पनि मासुका लागि बढी प्रयोग हुने गरेको स्थानीयले बताएका छन् । गाउँमा उत्पादन भएको दुध बिक्रीका लागि बजारको व्यवस्था नभएकोले पनि दुध उत्पादनका लागि नभइ मासुका लागि स्थानीयले पशुपालन गरेका वडासदस्य समेत रहेका सन्ता गर्वुजाले बताउनुभयो ।

जति नै धेरै सम्भावनाहरु रहेको भएतापनि मुदीका वासिन्दाहरु अझै पनि सजिलैसँग एक पोका नुन किन्न नसक्ने अवस्थामा छन् । भौगोलिक विकटतालाई कारण बनाएर सरोकारवाला निकायहरु पन्छिने प्रवृत्ति छ । यसप्रति राम्रैसँग जानकार रहेका मुदीवासी टेकबहादुर विक भन्छन् ‘धौलागिरी हिमालको नाम बेचेर डलर कुम्ल्याउने सपना देखेका एनजिओ, आइएनजिओहरुप्रति पनि हाम्रो गम्भीर आपत्ति छ । धौलागिरी हिमाल र यस क्षेत्रको पर्यटन विकास गर्ने बहानामा आफ्नो पेट भर्ने काम गरेका केही एनजिओ आइएनजिओहरुको स्थानीय प्रशासनले दर्ता खारेज नै गरिदिनुपर्ने स्थानीय वासिन्दाहरुको माग रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?