दुर्गा प्रसाईंका आठजना समर्थक विरुद्ध कर्तव्य ज्यान मुद्दा

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 8 mins

झापा । ट्रक चालक भारतीय नागरिक पोदो रायको उपचारका क्रममा तीन दिन अघि मृत्यु भएपछि उनलाई पेट्रोलबम प्रहार गर्ने आठ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही हुने भएको छ । बिर्तामोडको विएण्डसी अस्पतालका संचालकसमेत रहेका दुर्गा प्रसाईका समर्थक उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा कानुनी कारबाही हुने झापा प्रहरीले जनाएको छ ।

सो घटनामा पक्राउ परेका झापा हल्दिबारी गाउँपालिका १ स्थायी ठेगाना भई हाल बिर्तामोड नगरपालिका ५ बस्ने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानको युवा दस्ता नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बु, सहसचिव बिर्तामोड- ७ का ३३ वर्षीय सुरेश चौधरी, कोषाध्यक्ष अर्जुनधारा नगरपालिका- ९ का ३८ वर्षीय रुद्र भुजेल, सदस्यहरु हल्दिबारी- १ का २४ वर्षीय विवस लिम्बु , बुद्धशान्ति गाउँपालिका-४ का बलिहाङ माबो लिम्बु , बिर्तामोड- ३ का ३५ वर्षीय उदय लिम्बु , पीडीएफका मेचीनगर इन्चार्ज मेचीनगर नगरपालिका-६ का ३४ वर्षीय राजेश महत, पीडीएफका सल्लाहकार हल्दिबारी- १ का ५१ वर्षीय वीरबहादुर गुरुङ उपर कर्तव्य ज्यान मुद्दामा प्रक्रिया अघि बढेको छ ।

उनीहरू माथि लागेको आरोप प्रमाणित भएमा आजीवन जन्म कैदको कानुन आकर्षित हुने कानुन जानकारहरु बताउँछन् । घटनाको अनुसन्धान भइरहेकोले यो विषयको टुङ्गोमा प्रहरी पुगिसकेको छैन । यद्यपि, गरेको पेट्रोलबम प्रहारबाट सामान्य घाइते अवस्थामा भागेका रायलाई जलिरहेको ट्रकमा पुनः हालेर सो उच्छृङ्खल समूह फरार भएको अनुसन्धानबाट खुलिसकेको छ ।

झापा जिल्ला अदालतबाट आपराधिक उपद्रो र ज्यान मार्ने उद्योगमा उनीहरू विरुद्ध म्याद थप गरि अनुसन्धान भइरहेकोमा भारत विहारको इस्लामपुर घर भएका ट्रक चालक रायको असोज १९ गते सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटलमा मृत्यु भएको थियो ।

रायको मृत्यु भएपछि उनका आफन्तहरुले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाका नजिक भारतीय सिमावर्ती बजार पानीटंकीमा शव राखेर प्रदर्शन गरेका थिए । उनीहरू केहीबेर नाकामा समेत अवरोध गरेका थिए । भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरी रायको शव नेपाल पठाएको थियो । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी प्रहरीले शव आफन्तलाई जिम्मा लगाई सकेको छ ।

महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँकाठमाडौँमा पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकले असोज ६ गते राति कनकाई नगरपालिका-८ पर्ने बिरिङपुल र बिर्तामोड-६ को बुट्टाबारीमा दुईवटा भारतीय ट्रकमा पेट्रोलबम प्रहार गरेका थिए । घटना रायसहित ट्रक चालक भारतीय नागरिक कुमार महतो जलेका थिए । महतोको शिलगुडीमा उपचार भइरहेको छ।

सो उच्छृङ्खल समूहले भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिरहातर्फ गइरहेको UP57AT4493 नम्बरको ट्रक र असोज ७ गते बिहान बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको WB 73 E 3056 नम्बरको ट्रक बुट्टाबारीमा जलाएको थियो । मृतक राय बुट्टाबारीमा जलाएको ट्रकको चालक थिए ।

मोटरसाइकलमा आएका प्रसाईंका समर्थकको सो समूहले ट्रक चालक दुबै जनालाई मार्ने उद्देश्यले पेट्रोलब ट्रकको क्याबिनमा प्रहार गरेको थियो । ट्रक चालक महतो र राय जलेर गम्भीर घाइते भएका थिए । उनीहरूलाई विएण्डसी अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि शिलगुडी लगिएको थियो । प्रसाईंले सञ्चालन गरेको विएण्डसी अस्पतालमा सुरक्षाको कारण देखाएर थप उपचारका लागि घाइते दुबैजनालाई उनीहरूका आफन्तले भारत नै लगेका थिए ।

त्यस रात प्रतिव्यक्ति तीन हजार भत्ता दिएर प्रसाईं समूहले उनीहरूलाई सो उपद्रो गर्न परिचालन गरेको स्रोतले दाबी गरेको छ । पक्राउ परेकासँग सो विषयमा समेत प्रहरीले सोधपुछ गरेको बुझिएको छ । भत्ता दिएर उनीहरूलाई परिचालन गरेको प्रमाणित भए दुर्गा प्रसाईं समेत सजायको भागिदार हुने एक कानुन व्यवसायीले बताउनुभयो । यो विषयमा भने प्रहरीले मुख खोलेको छैन ।

प्रहरीले असोज ६ गते साँझ पक्राउ परेका महाअभियानका झापा संयोजक रामचन्द्र मैनाली र पीडीएफका मेची संयोजक दुरेन राईलाई छाडिसकेको छ । तथापि, उनीहरू पनि प्रहरी निगरानी भित्रै रहेको स्रोतले बतायो । झापा प्रहरीले दुर्गा प्रसाईं समूहमा आबद्ध भएर बैक तथा वित्तीय संघसंस्थामा उपद्रो मच्चाउने विक्रम ताजपुरियालाई पनि खोजी गरिरहेको स्रोतले बताएको छ । ताजपुरियाको घर माई पश्चिम बताइए पनि वतन स्पष्ट हुन सकेको छैन ।

ताजपुरिया प्रसाईंसँग दैनिक तीन हजार हाजिरा लिएर उदण्ड मच्चाउने समूहका नाइके भएको जनाइएको छ । ताजपुरिया चन्द्रगढी, राजगढ लगायतका वित्तीय क्षेत्रमा आतंक मच्चाउने व्यक्ति हुन् । ताजपुरियाले आफूलाई पक्राउ गर्न नसक्ने धम्की समेत दिने गरेका थिए । फरार ताजपुरियाले केही समय अघि वित्तीय संस्थाका एक कर्मचारीलाई कालो मोबिल भरिएको बोतल प्रहार गरेका थिए । ताजपुरिया विरुद्ध त्यहीबेला प्रहरीमा जाहेरी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?