काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी बढी भएको वर्षायामको एक अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो । प्राधिकरणले साउनमा तीन अर्ब ९९ करोड ५६ लाखको विद्युत् निर्यात गरेको थियो भने भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रुपैयाँको विद्युत् निर्यात गरेको थियो । साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट निर्यात गरिएकोमा भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको हो । दुर्ई महिनाको विद्युत् निर्यातको औसतदर प्रतियुनिट सात रुपैयाँ ३३ पैसा रहेको छ । साउनको प्रतियुनिट औसतदर आठ रुपैयाँ ११ पैसा थियो भने भदौमा छ रुपैयाँ ६२ पैसा रहेको छ ।
प्राधिकरणका अनुसार भदौको तेस्रो साता (१६-२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्ता (९-१५ गते)मा ६९ करोड आठ लाखको विद्युत् निर्यात भएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले चालु आर्थिक वर्षको दुई महिनामा चार अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चालु आवमा करिब ३० अर्बको विद्युत् निर्यात लक्ष्य राखेका थियौँ, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ ।’
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धीदर र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । बाढीपहिरोभन्दा पहिले दैनिकरूपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेकोमा हाल दैनिकरूपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । बाढीपहिरोका कारण सञ्चालनमा रहेको सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब सात सय ५० मेगावाट विद्युत् उत्पादन बन्द छ । गत आर्थिक वर्ष भारतबाट १६ अर्ब ९३ करोडको विद्युत् आयात भएको थियो भने सोही अवधिमा १७ अर्ब छ करोड रुपैयाँको विद्युत् निर्यात भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच