२०८१ सालको बडादशैँ हामीबाट बिदा भएको छ । समयको नित्य निरन्तरता पच्छ्याएर यो वर्षको दशैँ पनि गत विगत वर्षको दशैँ जसरी नै अब फेरि कहिल्यै नफर्किने बाटोमा गयो तर यस पटकको दशैँ अविष्मरणीय पनि बन्नपुग्यो । अविष्मरणीय बन्नुका सकारात्मक पाटाहरूभन्दा नकारात्मक पक्ष बढी छन् । त्यसमध्ये सबैभन्दा अविष्मरणीय पक्ष भनेको दशैँका मुखको निरन्तरको झरी, बाढीपहिरो र धनजनको विनाश हो । नेपालीहरूका मनमष्तिष्कबाट त्यस बेलाको पीडाको घाउ अब बल्ल खाटा बस्न थालेको छ । समयले पर्खिँदैन र समय जत्तिको बलवान अरू कुनै कुरा हुन सक्दैन । जे जसरी भए पनि समय बित्यो र सँगसँगै यस वर्षको महान् पर्व बडादशैँ पनि बितिसकेको छ ।
अब समय पुनः आफ्नै लयमा फर्किसक्यो । मानिसहरू आ-आफ्नो पेशा र व्यवसायमा फर्किन थालेका छन् । राजधानी काठमाडौं उपत्यका दशैँका संघारको अविरल वर्षाका कारण चारैतिर बाढीपहिरोको चपेटामा नराम्ररी पर्नपुग्यो । जसले गर्दा आ-आफ्नो गाउँ जाने तयारीमा रहेका धेरै नेपालीहरू आफ्नो गाउँघर जान सकेनन् । काबुबाहिरको यस परिस्थितिमा विदेशबाट गाउँघर फर्किने क्रममा काठमाडौंमा आइपुगेका धेरै नेपालीसमेत बाहिर जान पाएनन् । विगतभन्दा उपत्यकामा बढी चहलपहल देखियो । तर, धेरैले आफन्त गुमाएको पीडा, आफ्नो घर, खेतबारीलगायत अचल-चल सम्पत्तिको क्षति भएको व्यथा तथा गाउँघरसम्म पुग्न नसकेको न्यास्रोपन लिएर दशैँको समय गुजार्न बाध्य हुनुपर्यो ।
प्राकृतिक प्रकोप एकातिर भयावह रूपमा विकराल बनेर देखापर्यो भने अर्कातिर महामारीको प्रकोप त्यत्तिकै व्याप्त बनेर फैलिइरहेको छ । हालका दिनमा डेंगुको प्रभाव सक्रिय बनिरहेको छ । यसबाट धेरै नेपाली प्रभावित छन् । अझै दुई हप्तासम्म यसको व्यापक प्रभाव देखापरिरहनेछ भनेर विशेषज्ञहरूले बताएका छन् । यसबाट नागरिकले सतर्कता अपनाउनुपर्ने अवस्था छ ।
बाढीपहिरोले क्षति पुर्याएका सडक तथा पुलपुलेसा यो १५-२० दिनमा मर्मत र नयाँ निर्माण हुने तथा यातायात सुचारु हुने कुरा सम्भव हुने होइन तैपनि नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारीहरू तथा जनप्रतिनिधिको प्रयासबाट धेरै ठाउँको यातायातलाई अस्थायी रूपमै भए पनि सञ्चालन गरिएको छ । जोखिम उठाएरै भए पनि नागरिकहरू उपत्यकाबाट आ-आफ्नो गाउँ जान र फर्किन पाएका छन् । बाढीले बगाएका पुलहरूका ठाउँमा बेलीब्रिज बनाएर यातायात सुचारु गर्ने काम भइरहेको छ । खोलाका बगरहरूबाटै भए पनि सवारीसाधन गुड्न सक्ने ट्र्याक खोलिएका छन् । यसरी बाटो खुल्न थालेको छ तर पुनः मौसम प्रतिकूल बन्ने पूर्वानुमान भइरहेको छ । जालवायु तथा मौसम पूर्वानुमान महाशाखाले यस्तो सूचना संप्रेषण गरिरहेको छ ।
मनसुन यसभन्दा धेरै पहिले नै निख्रिनुपर्ने थियो तर यस वर्ष पोष्ट मनसुन भनिएको वर्षात्को प्रभाव वर्तमान अवस्थामा समेत रहिरहेको छ । मानिसहरूमा यसको भय दशैँअगाडिको प्रतिकूल मौसमबाट सिर्जना भएको परिस्थितिबाट उत्पन्न हुनपुगेको हो । हामीमा जरा गाडेर बसेको यो भय देशको पूर्वी भागबाट भित्रिँदै गरेको पोष्ट मनसुनका कारण सघन बन्न पुगेको छ । सरकारले किसानहरूलाई केही दिनसम्म खेतभरि पहेँलपुर भएर पाकेको धानसमेत नकाट्नू भनेर सुचित गरेको छ । यस्ता मौसमी निर्देशनहरूको पालना गर्नुपर्ने जिम्मेवारी आमनागरिकमा समेत रहनुपर्छ र सबैले उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ । नत्र भने पहिलेकै जस्तो परिणाम फेरि देखापर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
दशैँअगाडि मौसमा पूर्वानुमान महाशाखाले यस्तै सतर्कताको चेतावनी दिएर सूचना संप्रेषण गरेको थियो तर त्यसलाई त्यति वास्ता गरिएन । जसको परिणाम भयाबह भएर सर्वत्र देखापर्यो र धनजनको अकल्पनीय क्षति हुनपुग्यो । प्रकृतिको यस्तो विनाशलीला देखेका हामी सबैले अब फेरि त्यसरी नै बेवास्ता गरेर बस्नु हुँदैन । दशैँको समयमा पनि देशैभरि दुर्घटनाहरू भइरहे/भइरहेकै छन् । मानिसहरूको ज्यान गइरहेको छ । बाटोका कारणले केही दुर्घटना अवश्यै भएका छन् । मौसमविद्हरूको चेतावनीलाई पालना गरेर अति आवश्यक काममा बाहेक, दृश्यावलोकन, मनोरञ्जन, शैक्षिक भ्रमण, तीर्थयात्रालगायत कार्यक्रम मौसम प्रतिकूल रहने समयावधिसम्म नगर्दा जिउधनको क्षति हुनबाट जोगिन सक्छ । सरकारले गर्ने तयारी एकातिर छँदैछ तर नागरिकहरूले पनि यस्ता कुरामा सरकारको मुख ताकेरमात्र बसिरहनु उचित हुँदैन ।
सरकार भनेको त अन्तिम अवलम्बमात्र हो भन्ने ठानेर आफूले स्थानीयस्तरमा के कस्ता काम गर्न सकिन्छ त्यस प्रकारको तयारी, सतर्कता, उद्धार र राहतको समेत व्यवस्था गर्नसक्ने हो भने यस्ता समस्या निश्चित रूपमा न्यूनीकरण हुनसक्ने थिए । अब सामुमा अर्को ठूलो चाड तिहार आउन लागेको छ । साथै विभिन्न समुदायका अन्य विभिन्न पर्व लगातर आउनेछन् । चाडपर्व मनाउन अनेकौं पेशा व्यवसाय गरेर आयार्जन गर्नु आवश्यक छ । अब केही समय सबै अ–ाआफ्नो व्यापार, व्यवसाय गर्नेतर्फ संलग्न हुनुपर्छ । साथै अन्य विभिन्न काममा दत्तचित्त भएर संलग्न हुनका लागि सबैजना आ–आफ्ना लयमा फर्कौं जसले गर्दा भोलिका दिनमा अन्य पर्व मनाउन र दैनिकी चलाउन सजिलो बन्न सकोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच