
काठमाडौं । व्यापारिक प्रयोजनका लागि भारतबाट आयात गरिएको गुणस्तरहीन दाल सरकारले फिर्ता गरेको छ । प्रभुकृपा अर्डर एण्ड सप्लायर्स कोहलपुर बाँकेले भारतबाट पैठारीका लागि कात्तिक ४ गते नेपालगञ्ज भन्सार नाकामा ल्याएको १२ हजार केजी मासको दाल नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा कोल टार डाई बाहृय रङ प्रयोग गरिएको पाइएकाले नाकाबाटै फिर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
नेपालगञ्ज भन्सार नाकामा ल्याएको १२ हजार केजी मासको दाल खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा कोल टार डाई बाहृय रङ प्रयोग गरिएको पाइएकाले नाकाबाटै फिर्ता गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार कुनै पनि किसिमका दालमा बाहृय रङ प्रयोग गर्न प्रतिबन्ध गरिएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा परिभाषित खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीलाई अनिवार्यरूपमा ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर तथा उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएरमात्र खाद्य पदार्थ पैठारी गर्न पनि विभागले सचेत गराएको । सो बमोजिम नगरेको पाइएमा ऐनबमोजिम कारबाही हुने विभागका प्रवक्ता मोहनकृृष्ण महर्जनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच चाडपर्वका अवसरमा खाद्य स्वच्छता सुनिश्चित गर्न विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी काठमाडौं उपत्यकामा विभिन्न खाद्य व्यवसाय अनुगमन गरेको छ । अनुगमनका क्रममा केही व्यवसायमा गम्भीर कमजोरी पाइएको र आवश्यक कारबाही अघि बढाएको जनाएको छ । विभागका अनुसार अरबिका पिज्जेरिया प्रालिलगायतका केही व्यवसायमा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ फेला परेका थिए । सिनामंगलस्थित पिज्जेरियाले मिति समाप्त भएको तोफु र अन्य खाद्य पदार्थको भण्डारण गरेको पाइएपछि ती वस्तु नष्ट गरिएको छ । साथै किचन सरसफाइमा सुधार गर्न निर्देशन दिइएको र पुनः निरीक्षणसम्मका लागि किचेन बन्द गरिएको छ ।
कालु स्टोर तथा दाउरा थकाली प्रालि जस्ता व्यवसायमा सामान्य सुधार आवश्यक रहेको देखिएको छ भने हात्तीवनस्थित नेपाल डेरी प्रालिलाई सरसफाइमा सुधार गर्न निर्देशन दिनुका साथै ५० हजार जरिवाना गरिएको विभागका प्रवक्ता महर्जनले जानकारी दिनुभएको छ ।
त्यसैगरी विभागले मंगलबार काठमाडौं उपत्यकाभित्र मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थ निरीक्षण अनुगमनका लागि टोली खटाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य उद्योग एवं व्यवसायको अनुगमन, खाद्य पदार्थको नमुनाको प्रारम्भिक चेकजाँच तथा कारबाही गरेको छ । किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट अनामनगरमा भएको निरीक्षण अनुगमनमा काँचो तथा पकाएका खाद्य पदार्थ लेबल विवरण नलगाई एकै ठाउँमा नछोपी भण्डारण गर्ने गरेको फेला परेको छ । सरसफाइ सन्तोषजनक नरहेको, प्रयोग गर्नुपर्ने मासु अघिल्लो दिनमै फ्राई गर्ने गरेको तथा पूर्ण लेबल विवरण नभएको स्लाइस्द ब्रेड प्रयोग गर्ने गरेको पाइएको विभागले जनाएको छ । उक्त रेष्टुरेन्टमा दूध, घ्यू तथा प्रशोधित पिउने पानी गरी पाँचवटा नमुना मोबाइल फुड ल्याबमा परीक्षण गरिएको छ ।
त्यस्तै जम्काभेट रेस्टुरेन्ट एण्ड लाउन्ज प्रालि अनामनगरमा पनि तयारी खाद्य पदार्थ लेबल नलगाई भण्डारण गरेको र धमला डेरीबाट उत्पादित लेबलबिनाको बटर प्रयोग गर्ने गरेको पाइएको छ । उक्त रेष्टुरेन्टमा दूध तथा प्रशोधित पिउने पानी गरी तीनवटा नमुना मोबाइल फुड ल्याबमा प्रारम्भिक चेकजाँच गरिएको थियो । त्यसैगरी सोही स्थानमा रहेको बाजेको सेकुवा प्रालिले तयारी खाद्य पदार्थ लेबल नलगाई भण्डारण गरेको, मसीजन्य कागजमा लेबल नलगाई प्रयोग गर्ने गरेको एक प्याकेट स्टिक नुडल्स भण्डारण कक्षमा फेला परेको छ । उक्त रेष्टुरेन्टमा प्रयोग गर्ने गरेको घ्यू तथा प्रशोधित पिउने पानी गरी दुर्ईवटा नमुना मोबाइल फुड ल्याबमा चेकजाँच गरी लेबल नभएको नुडल्स नष्ट गरिएको, कृत्रिम रङ मापदण्डविपरीत प्रयोग नगर्न र मसीजन्य कागजको प्रयोग नगर्न निर्देशन दिनुका साथै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको विभागका प्रवक्ता महर्जनले बताउनुभएको छ ।
तारे होटलमा प्लाष्टिक बोतल पानी निषेध
चारतारेभन्दा माथिका होटलले प्लाष्टिकका बोतलमा पानी राख्न र ग्राहकलाई दिन नपाउने भएका छन् । पर्यटन विभागले सबै चारतारे, पाँचतारे र पाँचतारे डिलक्स होटललाई परिपत्र गर्दै खानेपानीका लागि प्लाष्टिकको बोतल प्रयोग नगर्न सचेत गराएको हो । विभागले तत्कालका लागि कम्तीमा चारतारेस्तरका होटल तथा रिसोर्टले खानेपानीका लागि प्लाष्टिकजन्य बोतलको प्रयोग निधेष गर्र्न भनेको छ ।
प्लाष्टिकजन्य बोतलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक असर पर्ने भएकाले प्रयोगमा निषेध गरेर काँचका बोतल वा अन्य धातुका भाँडाको प्रयोग गर्न विभागले आग्रह गरेको छ । पाँचतारे होटलहरूले भने दुई वर्षदेखि नै पिउने पानीका लागि प्लाष्टिकका बोतल प्रयोग गर्न छाडिसकेको होटल संघ नेपाल(हान) को दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच