रिडी धाममा माघे संक्रान्तिको मेला सुरु

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

रुपन्देही । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडी रूरू क्षेत्रमा ६दिनसम्म लाग्ने माघे संक्रान्तिको मेला सुरु भएको छ।

रूरू क्षेत्रमा माघे संक्रान्तिमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ । कालीगण्डकीमा स्नान गर्ने र तानसेन नगरपालिका–१४, अर्गलीतर्फ रहेको ऋषिकेशव मन्दिरमा रहेको रूरू कन्याको दर्शन गर्ने प्रचलन रहेको अर्गलीका शोभाकर न्यौपानेले बताउनु भयोे । नेपालका विभिन्न स्थानका साथै भारतबाटसमेत श्रद्धालु रूरूक्षेत्रमा स्नान र रूरू कन्याको दर्शन गर्न तीर्थालु आएका छन् ।

ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईका अनुसार जेठी, माहिली र कान्छी गरी तीनदिनसम्म कालीगण्डकीमा नुहाउने र ऋषिकेशव मन्दिरमा दर्शन गर्ने परम्परा रहेको उहाँको भनाई छ।
नेपालमा रहेका चारधाममध्ये प्रख्यात रहेको एक रिडी धाममा आएर कालीगण्डकीको सङ्गम श्रीकृष्ण गण्डकीमा नुहाएर तर्पण गरे पितृ पक्षले मोक्ष पाउने धार्मिक विश्वास रहेकाले पनि मानिसहरुको घुईंचो लाग्ने गरेको रिडीमा नुहाउन आउनु भएका सोभाखर मरासिनीले बताउनु भयो। नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत श्रद्धालु रूरूक्षेत्रमा स्नान र रूरू कन्याको दर्शन गर्न आउने गरेको बताईएको छ।

मेलाको पहिलो दिन बिहानैदेखि कालीगण्डकी नदीमा स्नान गरी हृषिकेश मन्दिरमा पूजाअर्चना गर्नेको घुइँचो लागेकाे छ । कालीगण्डकी नदीमा स्नान गरी हृषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन यो मेलामा आउँछन् ।

माघे संक्रान्तिको अवशरमा कालीगण्डकीमा स्नान गर्न र ऋषीकेशव मन्दिरको दर्शन गर्नका लागि गुल्मी लगायत पाल्पा, स्याङजा, अर्घाखाँची, प्युठान, बाग्लुङ्ग, रुपन्देही, नवलपरासी दाङ्ग, कपिलबस्तु चितवन, काठमाडौं, पर्वत लगायत जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरु यस क्षेत्रमा आउने स्थानीय गोकर्ण ज्ञवालीले बताउनु भयो।

यस क्षेत्रमा माघेसंक्रान्ति बाहेक ठूलो एकादशी, प्रत्येक संक्रान्ति, ग्रहण एकादशी, औंशी एकादशीमा गण्डकीमा स्नान गरी ऋषिकेशको दर्शन गर्न श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने रुरु क्षेत्र मेला ब्यबस्थापन समितिले जनाएको छ।

धार्मिक र साँस्कृतिक रुरुधामलाई धार्मिक पर्यटनसँग जोड्न परम्परागत रूपमा चल्दै आएको माघे सक्रान्ति मेला सुरु भएको छ ।रिडीको गुल्मीतर्फको भागमा रुरु फ्रेण्ड्स क्लब र एफसी क्लब रिडी बजारको संयुक्त आयोजनामा साँस्कृतिक कार्यक्रमसहित, बालउधान, कृषिमेला प्रदर्शनी हस्तकलाका सामानको प्रदर्शनीसहित मेलाको भव्य तयारी गरिएको रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष शोभित थापाले बताउनुभयो ।

साथै माघ संक्रान्तिको अवसरमा कालिगण्डकी नदिमा गंगा आरती (गन्डकी आरती) पनी हुने भएको छ ।रिडी मेलामा राडी,पाखी, ढक्की, कपडा–लत्ता, डोको, नाङ्लो बेच्न छिमेकी जिल्लाबाहेक रुकुम, रोल्पा, पर्वत, जुम्ला, बुटवल, भैरहवा, भारतको रूपेडियाबाट समेत व्यापारी आएका छन। यहाँ आएर स्नान र दर्शन कार्य सम्पन्न गरेमा देह पुण्य हुने, मुक्ति प्राप्त हुने विश्वास छ। यस क्षेत्रमा मृतकहरूको अस्तु सेलाउन पनि मानिसहरु आउने गर्दछन।
त्यसो त पाल्पा क्षेत्रमा पनि मेलाको तयारी छ भने स्याङ्जा क्षेत्रमा भलिबल प्रतियोगितासहितको मेला लाग्ने भएकाले यो वर्ष गुल्मी स्याङ्जा र पाल्पामा लाग्ने विविध मनोरन्जनसहितको अवलोकन गर्न रुरुधाममा निर्माण सम्पन्न भएको तीनमुखे पुलले विशेष महत्व राख्ने छ ।

मगर समुदायले माघे संक्रान्तिका दिनमा रूरूक्षेत्रका साथै कालीगण्डकी र खोला किनार, धारामा पितृलाई श्रद्धासमेत गर्छन् । रूरू क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व भएकाले मेला भर्न विभिन्न स्थानबाट आउने गर्छन् । पाल्पातर्फ रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा स्याङ्जा र गुल्मीमा मेला भर्न आउने दर्शनार्थी स्थान गरिसकेपछि पूजा गर्न घुइँचो लागेको छ ।

रुरु गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले मेलाले स्थानिय उत्पान र कृषिलाई महत्व दिएको बताउनु भयो। स्वदेशी उत्पान रुकुमका राडी पाखीलाई विशेष आतित्थ्यताका साथ स्वगत गरिएको छ  । मनोरञ्जनको लागि पिङ झुला र राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको आगमन रहेको छ। उहाँले रूरू क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको ले यस पाबन भुमीमा आई दर्शन गर्न सम्पुर्णलाई आग्रह गर्नु भयो। उहाँले यस पटक रुरुक्षेत्रमा सन्ध्याकालीन गण्डकी आरती हुने बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?