एउटै वडामा तीनवटा पुल निर्माण, एकैदिन उद्घाटन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखमा तीनवटा पुल निर्माण भएका छन् । शिखमा निर्माण भएका एकवटा मोटरेबल पुल र दुईओटा झोलुङ्गे पुलको प्रतिनिधिसभाका पूर्व सांसद भुपेन्द्रबहादुर थापा र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले एकैदिन (सोमबार) उद्घाटन गर्नुभएको छ ।

शिखको पोखरेबगर-पाउद्धार सडकअन्तर्गगत अन्नपूर्ण गाउँपालिका-५ र ६ को सिमाना पर्ने घारखोलामा संघीय सरकारको रु. तीन करोड ४८ लाखको लागतमा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । घारखोलामा पुल नहुँदा दुई सय परिवारको बसोबास भएको सात वर्षअघि सडक पुगेको पाउद्धार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको थियो ।

पुल नहुँदा बर्खामा पैदलयात्रा गर्न र घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता हटेको वडा सदस्य पूर्ण पाइजाले जानकारी दिनुभयो । फेवा-बिएम जेभी पोखरालेरु दुई करोड ८२ लाखमा निर्माणको ठेक्का लिएको थियो ।सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीले उक्त पुल निर्माण गरेको हो ।

यसैगरी शिखको निरवाङ र किन्द जोड्ने तीन सय ४४ दशमलब आठ मिटर लामो झोलुङ्गे पुल पनि संघीय सरकारकै बजेटमा निर्माण भएको हो । यो पुलले ४५ मिनेटको यात्राअवधिलाई २० मिनेटमा छोट्याएको छ । झोलुङ्गे पुल निर्माण भएपछि निरबाङ र किन्दका पाँचसय बढी जनता लाभान्वित भएका स्थानीय जसबहादुर पुनले बताउनुभयो ।

पुलबाट शिख, किन्दु, धोस्केखोरीया, घिरवाङ र पाउद्वारका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका अन्नपूर्ण गाउँपालिका-५ का वडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो । “सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले ३४४.८ मिटर लामो र एक सय ४० मिटर भन्दा अग्लो झोलुङ्गे पुल ठेक्कामार्फत करिब डेढ करोडको लागतमा निर्माण गरेको हो” उहाँले भन्नुभयो । यो अन्नपूर्ण गाउँपालिकाको सबैभन्दा लामो पुल भएको वडा अध्यक्ष तिलिजाले जानकारी दिनुभयो ।

पुल निर्माण भएपछि किन्दु, धोस्केखोरका बासिन्दालाई माध्यमिक विद्यालय र वडा कार्यालय रहेको शिख पुग्न सजिलो भएको छ । शिख, घिरवाङ र पाउद्धारका बासिन्दा पनि लाभान्वित भएका किन्दुका बासिन्दा रहेका शिख माविका शिक्षक खेम पुनले बताउनुभयो । त्यसैगरी स्वाँतको खोपा खोलामा रु. ३० लाखको लागतमा ६० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । एउटै वडामा तीनवटा पुल निर्माण भएर एकैदिन उद्घाटन भएपछि स्थानीय वासिन्दाहरु खुसी भएका छन् ।

घारखोलामा निर्माण भएको मोटरेबल पुल र निरबाङ र किन्द जोड्ने झोलुङ्गे पुलको प्रतिनिधि सभाका पूर्व सांसद भुपेन्द्रबहादुर थापाले सोमबार उद्घाटन गर्नुभएको हो । त्यसैगरी स्वाताको खोपा खोलामा निर्माण भएको झोलुङ्गे पुलको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले उद्घाटन गर्नुभयो । स्थानीयबासीहरुले गाउँको समस्याका विषयमा जनप्रतिनिधी र नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?