पोखरा । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाउनुभएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा एभेन्जर्समा तीन वर्षको सम्झौतासहित आवद्ध हुनुभएको छ । यससँगै उहाँ नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जोडिने सबैभन्दा ठूलो विदेशी नाम बन्नुभएको छ ।
एनपीएलको सबैभन्दा महँगो फ्रेन्टाइज टिम पोखरा एभेन्जर्सका सञ्चालक मनोबल श्रेष्ठले पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रोड्सलाई नेपाल प्रिमियर लिगका लागि आफ्नो टिमको परामर्शदाता र सल्लाहकारका रूपमा नियुक्त गर्नुभएको हो । रोड्सले यसअघि भारतीय क्रिकेटर र कोच सन्दीप पाटिलले सम्हालेको भूमिका अब सम्हाल्नुहुनेछ ।
सञ्चालक श्रेष्ठले भन्नुभयो, ‘उहाँलाई हाम्रो टिममा पाउँदा निकै उत्साहित छौं । उहाँको अनुभवले पोखरा एभेन्जर्सको भविष्यलाई झन् चम्किलो बनाउनेछ । युवाहरूको क्षमतामा वृद्धि गर्न सहयोग पुर्याउनेछ ।’ रोड्स, जसले मुम्बई इण्डियन्स र हाल लखनऊ सुपर जायन्ट्ससँग काम गर्नुभएको छ ।
क्रिकेटमा आफ्नो प्रभावशाली यात्रा उहाँले जारी राख्नुभएको छ । पोखराको मेन्टरमा नियुक्त भएपछि रोड्सले भन्नुभयो, ‘यस टिममा हुन पाउँदा म उत्साहित छु । अब म मेरो सीप र अनुभवमार्फत सम्पूर्ण खेलाडी र प्रमुख कोच राजिव कुमारलाई सहयोग गरेर टिमलाई बलियो बनाउन प्रयास गर्नेछु ।’ उहाँले उद्देश्यअनुसार जान सकिए खेल सकिँदासम्म प्रत्येक खेलाडी उत्कृष्ट हुने विश्वास लिनुभएको छ ।
रोड्सले केही वर्षअघि नेपालको राष्ट्रिय टिम र उमेर समूहको टोलीलाई छोटो प्रशिक्षण दिनुभएको थियो । हाल उहाँ आइपीएलको लखनउ सुपरजायन्ट्ससँग आवद्ध हुनुहुन्छ । पोखरा एभेन्जर्सले चार विदेशी खेलाडीको कोटामा तीन खेलाडी अनुबन्ध गरिसकेको छ । जोन्टीको अनुभव र विशेषज्ञता टोलीका लागि महत्वपूर्ण हुने निश्चित छ । उहाँ पोखरा एभेन्जर्समा समावेश गरिनुले नेपालको क्रिकेटमा नयाँ युगको सुरुवातको संकेत मानिएको छ । रोड्सको अनुभवले टोलीको प्रदर्शनलाई सुधार्ने र युवा खेलाडीहरूको विकासमा ठूलो योगदान गर्ने अपेक्षा गरिएको छ ।
रोड्स नोभेम्बरको पहिलो साता नेपाल आउनुहुनेछ । उहाँले दक्षिण अफ्रिकाका लागि ५२ टेष्ट र २४५ एकदिवसीय खेलमा प्रतिनिधित्व गरिसक्नुभएको छ । उत्कृष्ट फिल्डिङका लागि पनि उहाँ परिचित हुनुहुन्छ । रोड्सले विभिन्न राष्ट्रिय टिम र आइपीएलसँगको कोचिङमा सफलतापूर्वक कदम अघि बढाइरहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच