काठमाडौं । विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिको आयोजनामा आज (शनिबार) र भोलि (आइतबार) साहित्यिक विश्व सम्मेलन हुने भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा काठमाडौंको गौशालास्थित होटल आनन्दमा सम्मेलन हुने महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’ले शुक्रबार पत्रकार भेटघाट गर्दै जानकारी गराउनुभएको हो ।
आयोजकका अनुसार विश्वका विभिन्न देशको सहभागिता रहने उक्त कार्यक्रममा एकै साथ १४ वटा पुस्तकहरूको लोकार्पण हुनेछ भने राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मानित पनि गरिनेछ ।
कार्यक्रम ‘नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान’ मूल नाराका साथ आयोजना गरिएको हुनाले यो मूल विषयमा प्राडा गोविन्दराज भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्यसैगरी अहिलेको जल्दोबल्दो विषय पर्यावरणीय समस्या रहेको हुनाले लामो समयदेखि पर्यावरण क्षेत्रमा काम गरिरहनुभएका असमका प्रा.डा. देवेन सापकोटाले पर्या कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, प्रज्ञा-प्रतिष्ठानहरूका कुलपतिहरू, उपकुलपतिहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका बौद्धिक व्यक्तित्वहरू, प्रतिष्ठित लेखक साहित्यकारहरू, विश्वविद्यालयहरूका विभाग प्रमुखहरू, प्राध्यापकहरू, राजदूतहरू, समाजमा प्रत्यक्ष सरोकार राख्ने चर्चित व्यक्तित्वहरू, कलाकारहरू, साहित्यकारहरूलगायतको बाक्लो उपस्थिति रहने कुरा पनि अध्यक्ष लिम्बूले अवगत गराउनुभयो । कार्यक्रमलाई पाँच सत्रमा विभाजन गरिएको छ ।
पहिलो सत्रमा कार्यक्रमको उद्घाटन हुनेछ । उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्रीज्यूले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ त्यसपछि पुस्तक लोकार्पण, पुरस्कार सम्मान समर्पण र विशिष्ट व्यक्तित्वहरूको मन्तव्य रहने जनाइएको छ ।
त्यसैगरी, दोस्रो सत्र सम्मेलनको प्रमुख सत्र हुनेछ । यो सत्रमा कार्यपत्रहरू प्रस्तुत हुनेछन् । केही सिर्जना वाचन र विशिष्ट मन्तव्यहरू रहनेछन् । तेस्रो सत्र बेलुका हुनेछ । यो सत्रमा केही मन्तव्यहरू रहे तापनि सिर्जना वाचन प्रमुख हुनेछ ।
चौथो सत्र आइतबार बिहान सात बजे हुनेछ । यो बन्द सत्र पनि हो । यो सत्रमा महासंघ परिवारको मात्रै सहभागिता रहनेछ । यसमा शाखाहरूले गरेको कार्य र भावी योजनाहरूका बारेमा रिपोर्टिङ हुनेछ । पाँचौँ सत्र खाजापछि साढे आठमा सुरु हुनेछ । यो सत्रको प्राथमिकता पनि केही मन्तव्य र सिर्जना प्रस्तुति नै रहनेछ । यसरी एघार बजे दुईदिने विश्व सम्मेलनको समापन हुनेछ । खानापछि अपराहृन विदेशी पाहुनाहरूलाई महामहिम राष्ट्रपतिसँग साक्षात्कार गराइने कार्यक्रम रहेको छ भने सोमबार बिहान अतिथिहरूको बिदाइ हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच