काठमाडौं । नेपाली महिला फुटबल टोली फेरि एकपटक साफ च्याम्पियनसिपको उपाधि जित्नबाट चुकेको छ । छैटौँपटक फाइनल पुगेको नेपाल घरेलु मैदानमा फेरि बंगलादेशसँग पराजित हुँदै उपाधि चुम्नबाट चुकेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार अबेर सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले निराश भएको हो । बारम्बार फाइनल पुगेर पनि उपाधि जित्न असफल नेपाली टोली पुनः एकपटक ‘अभागी’ सावित भएको छ । त्यो पनि बंगलादेशसँगै पराजित भएर पहिलोपल्ट उपाधि जितेर इतिहास बनाउने सपना चकनाचुर भएको हो । घरेलु टोली नेपाललाई हराउँदै बंगलादेशले लगातार दोस्रोपटक उपाधि जितेको छ । घरेलु मैदानमा साफको उपाधि जित्ने नेपालको लक्ष्य तेस्रो प्रयासमा पनि पूरा हुन सकेन । यसअघि २०१९ मा विराटनगरमा भएको साफमा भारतसँग फाइनलमा हारेको नेपाल २०२२ मा काठमाडौंमै बंगलादेशसँग पराजित भएको थियो । बंगलादेशलाई जित दिलाउन मोनिका चक्मा र ऋतु पोर्ना चक्माले गोल गर्नुभयो । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सक्नुभएन । तिनै गोल दोस्रो हाफमा भएका थिए ।
५२औँ मिनेटमा मोनिकाको गोलबाट बंगलादेशले पहिले अग्रता लिएको थियो । कप्तान सविना खातुनको पासमा मोनिकाले गोल गर्नुभएको थियो । तर, त्यो गोल धेरै समय टिकेन । त्यसको चार मिनेटपछि नै अमिशाले नेपालको लागि बराबरी गोल गर्दै नेपाललाई खेलमा फर्काउनुभएको थियो । त्यसपछि पनि दुवै टोलीले अग्रता लिने अवसर पाएका थिए । ६१औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले बायाँ साइडबाट हानेको बल पोष्ट नजिकबाट बाहिर गएको थियो । ६७औँ मिनेटमा नेपाली गोलकिपर एञ्जिलाले मोनिका चक्माको प्रहार उत्कृष्ट बचाउ गर्दा बंगलादेशले अग्रता लिने अवसर गुमाएको थियो । तर, ८१औँ मिनेटमा ऋतु चक्माले उत्कृष्ट गोल गर्दै बंगलादेशलाई फेरि जिततर्फ अग्रसर गराउनुभयो । त्यसपछि नेपालले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन र पराजित हुन पुग्यो ।
यसअघि १९औँ मिनेटमा नेपालकी अमिशा कार्कीले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार बारमा लागेर फर्कँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । ३३औँ मिनेटमा बंगलादेशले बकसनजिकै फ्री किक पाएको थियो । तर, मोनिका चक्माको प्रहार पोष्टभन्दा बाहिर गयो । दोस्रो हाफमा नेपाली टिममा दुई परिवर्तन भएको थियो । पूजा रानाको स्थानमा समीक्षा घिमिरे र सरु लिम्बूको स्थानमा रश्मीकुमारी घिसिङ मैदान प्रवेश गर्नुभएको थियो । बंगलादेशका दुई डिफेण्डरले सुरुवातदेखि नै नेपालकी मुख्य खेलाडी सावित्रा भण्डारीलाई मार्क गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफको सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बढाएको थियो । यसपटक प्रतियोगितामा नेपालले भारत र बंगलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।
बंगलादेशले उचाल्यो दोस्रो उपाधि
सन् २०१० मा बंगलादेशको कक्स बजारबाट सुरु भएको प्रतियोगितादेखि नै नेपाललाई दाबेदार मानिँदै आएको थियो । तर, सेमिफाइनलसम्म नेपालले बलियो दाबेदारी प्रस्तुत गरे पनि उपाधि जित्न सकेको छैन । बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । सन् २०१२ मा श्रीलंकामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।
सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक बनेको थियो । त्यतिबेला नेपाल भारतसँग ६–० गोल अन्तरले स्तब्ध भएको थियो । सोही संस्करणबाट सावित्री भण्डारी (साम्बा)ले राष्ट्रिय टिमबाट डेब्यु गर्नुभएको थियो । पहिलोदेखि तेस्रो संस्करणसम्म भारतसँग फाइनलमा पराजित हुँदै उपविजेता बनेको नेपाल चौथो संस्करणमा सेमिफाइनलमै रोकिएको थियो । त्यसमा पनि भारत नै बाधक बनेको थियो ।
साम्बालाई यसपटक फाइनलमा गोलको कीर्तिमान बनाउने अवसरसमेत थियो । उहाँले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कीर्तिमान बराबरी गर्नुभएको थियो । युरोपका प्रतियोगितामा खेल्ने पहिलो नेपाली महिला खेलाडीसमेत रहनुभएकी साम्बा फ्रेन्च क्लब इए अभान्ट गुइग्याम्पमा खेलेर नेपाल आउनुभएको हो । सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग १-३ गोल अन्तरले पराजित भएको थियो । सोही संस्करणमा बंगलादेशले पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । यसपटक बंगलादेश दोस्रो उपाधि उचाल्न सफल भएको हो ।
उपाधि जित्न नसके पनि खेलाडीले उत्कृष्ट खेले : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको प्रतिक्रिया दिनुभएको छ । खेल हेर्न मैदानमै पुग्नुभएका ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत अब टोलीको मेहनत अर्को खेल जित्ने गरी हुने बताउनुभएको छ । ‘साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले । हाम्रो मेहनत अब अर्को खेल जित्ने गरी हुनेछ । धन्यवाद नेपाली टोली’, ओलीले लेख्नुभएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेल हेर्न उहाँ रंगशाला पुग्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच