तराई मधेसमा निक्कै महत्वका साथ मनाइने छठ पर्व पछिल्लो समय पहाडका समुदयाले पनि निकै उल्लासपूर्वक मनाउने गरेका छन् । आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ । छठ पर्व खास गरी तराईवासीमा मैथिली, भोजपुरी र अवधि भाषाभाषीहरूले मनाउँदै आएको महत्वपूर्ण सांस्कृति पर्व हो ।
खासगरी तराई-मधेसमा हर्षोल्लासपूर्वक मनाइने छठ पर्व केही वर्षयता भने के तराई, के पहाड सबैतिर उत्तिकै आस्थाका साथ मनाउने गरिएको छ । यसै क्रममा देशको केन्द्रीय राजधानी रहेको काठमाडौंका पनि विभिन्न स्थानमा छठ पर्व मनाउने क्रम जारी छ । यस वर्ष काठमाडौं महानगर क्षेत्रभित्र आठ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाइएको छ । काठमाडौंको गौरीघाट, कोटेश्वर दोभान, कमलपोखरी, वंशीघाट, बालाजु बाईसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिर छठ पर्व मनाउने व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।
यो पर्वले राष्ट्रिय स्वरूप ग्रहण गर्दै आएको छ । यो समस्त जातजातिले मनाउने पर्व पनि हो । समानरूपमा एउटै पोखरी या जलाशयको किनारमा सूर्यको पूजा गर्ने चलन जातीय समन्वय र सद्भावको जलन्त उदाहरण हो ।
यस्तै तराई मधेसका विभिन्न ताल तलैया, नदीका किनार र पोखरीलाई झकिझकाउ रूपमा सजाइएको छ । जनकपुरधामका गंगा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत जलाशयलाई सजाइएको छ ।
अहिले यो पर्वले राष्ट्रिय स्वरूप ग्रहण गर्दै आएको छ । यो समस्त जातजातिले मनाउने पर्व पनि हो । समानरूपमा एउटै पोखरी या जलाशयको किनारमा सूर्यको पूजा गर्ने चलन जातीय समन्वय र सद्भावको जलन्त उदाहरण हो । यो प्रत्येक वर्ष कात्तिक शुक्लषष्ठीका दिन मनाइने पर्व हो । यो पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकार विशेषगरी ठेकुवा, भुस्वा कसार आदि पारिवारिक र आफन्तजन एकै ठाउँमा बसेर खाने गरिन्छ ।
यस वर्षको छठ पर्व मंगलबारदेखि विधिवत रूपमा सुरू भएको छ । शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कार्तिक शुक्ल षष्ठीको वेलुका अस्ताउँदो र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिई यो पर्व मनाइने गरिन्छ । छठ पर्वको दोस्रो दिन हिजो (बुधबार) ‘खरना’ थियो भने पर्वको पहिलो दिन मंगलबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको थियो ।
बुधबार बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाई व्रतालुले त्यही खीर खाए । यो विधिलाई ‘खरना’ भनिन्छ । बुधबार दिनभरि उपवास बस्ने व्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गरेका छन् । बिहीबार (आज) छठको मुख्यदिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने भोलि (शुक्रवार) बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त गरिन्छ ।
यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरूषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । १४ वर्षको वनबास र एक वर्षको अज्ञातबास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा उल्लेख भएको बताइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।
विधि
सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धी गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अघ्र्य दिन्छन् ।
व्रतालु भक्तजनहरू राति धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर, शुद्धाशुद्धीको धेरै विचार गर्नुपर्ने भएकाले कहीँ-कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् । शुद्ध भावनाले यो व्रत गर्नाले तुरून्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ ।
त्यस कारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छन् ।
विसर्जन
षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घ्यूमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
यो व्रत गर्नाले छालाकारोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घस्रिँदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्नेजस्ता कार्य पनि गर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानव शरीर विज्ञानका अनुसार यो व्रतको महत्व आज पनि त्यत्तिकै छ ।
कार्तिक शुक्ल चतुदर्शीका दिनबाट सुरू हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाउने गरिन्छ । यो एउटा यस्तो चाड हो, जसमा डुब्न लागेको सूर्यका साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन्, सम्मान गर्छन् तर डुब्न लागेको घाम, गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् । तर, यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ ।
त्यस्तै, सूर्यले सबै प्राणीहरूलाई समान रूपमा प्रकाश दिन्छ । त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ । वर्षको दुईपटक चैत र कात्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धीमा अत्यन्तै ध्यान दिइन्छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ । छालासम्बन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्नका लागि मानिसहरू भक्तिमा लिप्त भएर नजिकैको पोखरी, जलाशय, कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् । छैठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईजस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई बिना कुनै भेदभाव समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजा, प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।
पछिल्लो समय तराई–मधेस, पाहडका साथै र केन्द्रीय राजधानी काठमाडौंमा मनाइने यो पर्वले समानता, एकता, सहआस्था र बन्धुत्वभावको विकास गरेको छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
नहान खान (नहाए खाए)
कार्तिक शुक्ल चर्तुदशीका दिनदेखि छठ आरम्भ हुन्छ । दशैँ र तिहारलगत्तै सुरू हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको सुरूवात मानिने यस दिनलाई व्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई-धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ, यस दिनमा व्रतालुहरूले प्रण गर्दछन्- म अब जथाभावी खाँदिन र तन-मनले प्रभुको शरणमा बस्नेछु ।
खर्ना
विधिवत रूपमा सुरू भएको छठको दोस्रो दिन शुक्ल पञ्चमी लाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सखरको खीर, लौकाको तरकारीजस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिन एक छाकमात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास हो ।
छैठ
छठको तेस्रो दिन अर्थात् छठ पर्व । यस दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । कात्तिक शुक्ल षष्ठीको साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवाजस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देउतालाई चढाउँदछन् । प्रातःकालीन अघ्र्यका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउञ्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिन रातभर भजन–कीर्तन र नाच-गान हुने गर्दछ । घाटलाई बेहुलीझैँ सिँगारिएको हुन्छ ।
छठको चौथो दिन
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीको उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलिमा पानी भरी जल चढाउँछन् र पालैपालो ठेकुवा, भुसुवा, फलफूल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी व्रत समाप्त गर्दछन् ।
काठमाडौंमा पनि छठ पछिल्लो समयमा धूमधामका साथ मनाउन थालिएको छ । माथि उल्लेख गरिएका स्थानमा गएर छठ मनाइँदै छ काठमाडौंमा पनि । यि क्षेत्रमा यो पर्वमा मानिसहरूको घुइँचो लाग्ने गर्दछ । दलका ठूला नेता, राष्ट्रपति, उपराष्ट्रपतिलगायत पनि त्यहाँ पुग्ने गरेका छन् । पछिल्लो समय के तराई मधेस, के पाहडका साथै र केन्द्रीय राजधानी काठमाडौंमा मनाइने यो पर्वले समानता, एकता, सहआस्था र बन्धुत्वभावको विकास गरेको छ । छठी माताले हामी सबैलाई सतमार्गमा लाग्न र जीवनमा खुशीयाली ल्याउन प्रेरणा दिनुहोस् यही कामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच