प्रधानमन्त्री ‘अनिच्छुक’ देखिएपछि तत्काललाई रोकियो मन्त्री फेरबदल, बजेटपछि पुनः छलफल हुने

हिमालय टाइम्स
Read Time = 7 mins

डिबी शर्मा/हिटा
काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले पार्टीका मन्त्री हेरफेर गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्री हेरफेर गर्न उपयुक्त नहुने बताएपछि मन्त्री फेर्ने समाजवादीको निर्णय तत्काल कार्यान्वयन नहुने भएको हो । समाजवादीको आइतबार बसेको सचिवालय बैठकले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरेको थियो । सोमबार नयाँ मन्त्रीले शपथ लिने तयारी गरेका थिए ।

तर, सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा तत्काल मन्त्री फेर्न उपयुक्त नहुने निष्कर्ष निकालेपछि उहाँहरूको शपथ रोकिएको हो । शीर्ष नेताहरूको बैठकमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति बनेको हो । तत्काल मन्त्री फेर्न प्रधानमन्त्री देउवा पनि अनिच्छुक देखिनुभएको थियो ।

बजेटपछि मात्रै यसबारे थप छलफल हुने नेकपा एसका एक नेताले जानकारी दिनुभयो । संसद्मा बजेटबारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ पनि दिनुपर्ने भएकोले अहिले मन्त्री परिवर्तन नगर्ने सहमति भएको हो । उहाँका अनुसार शीर्ष नेताहरूबीच बजेटपछि यसबारे थप छलफल हुनेछ । ‘गठबन्धनका शीर्ष नेताहरूबीच तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ,’ उहाँले भन्नुभयो, संसद्मा बजेट छलफलकै क्रममा रहेकोले अहिले मन्त्री फेर्न उपयुक्त नहुने प्रधानमन्त्रीज्यूको कुरा रहृयो । अब बजेटपछि यसबारे थप छलफल हुनेछ ।’
सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो ।

यसअघि नेकपा एसले आइतबार सरकारमा रहेका चारै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । पार्टी सचिवालयको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीमा सिफारिस गरेको थियो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहनुभएका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गर्ने र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने सिफारिस गरेको थियो ।

एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, शहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो । यसबारे नेकपा एसकै मन्त्रीहरू समेत असन्तुष्ट रहेका थिए ।

कसलाई मन्त्री बनाउने भन्ने निर्णय पार्टीले गर्छ : खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पूर्व-सहमतिअनुसार नै पार्टीका मन्त्री फेरबदल गर्न लागेको बताउनुभएको छ । खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताउनुभयो । सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने बताउनुभयो । ‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने पार्टीको सार्वभौम कुरा हो । अरूले गर्ने होइन,’ उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने निर्णय नेकपा (एकीकृत समाजवादी)ले गर्छ । यो धर्तीका अरू कुनै तागतले गर्ने कुरा होइन । हामीले पहिले नै ६ महिनामा फेरबदल गर्ने सहमति गरेका थियौँ । त्यहीअनुसार हामीले गरेको हो ।’

कांग्रेसभित्र पनि उठ्यो मन्त्री हेरफेरको विषय
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र पनि मन्त्री फेरबदलको विषयले प्रवेश पाएको छ । सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरू आइरहेको बताउनुभयो । कांग्रेसको एकल सरकार बने पनि उनै अनुहारहरू मन्त्री हुने र गठबन्धन सरकारमा पनि तिनै मन्त्री बन्ने गुनासो आएको उहाँको भनाइ छ । ‘नेपाली कांग्रेसको कुनै पनि बैठकमा यो विषयहरूको बारेमा कुनै छलफलहरू भएको छैन । यद्यपि, पार्टीको केही नयाँ सांसदहरू जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनुभएको छैन,’ उहाँले भन्नुभयो, ‘निर्वाचित भएर आउनुभएका केही नयाँ साथीहरूले यत्रो नेपाली कांग्रेसको सरकार हुँदा पनि केही नयाँ साथीहरूले मौका पाएको भए सिक्ने मौका हुन्थ्यो । भविष्यका निम्ति आफूलाई नयाँ जिम्मेवारीलाई तयार गर्न सकिन्थ्यो भन्ने कुरा थुप्रै सांसदहरूको कुरा छ ।’ पार्टीमा औपचारिक रूपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको उहाँले बताउनुभयो । पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पाटीको सभापतिको चाहनामा भरपर्ने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?