काठमाडौं । विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएको छ । एक कार्यकाल विश्रामपछि अमेरिकी सत्तामा ट्रम्पको पुनरागमनलाई विश्वभर अनेक अर्थमा व्याख्या गरिएको छ । नेपालमा पनि अमेरिकी चुनावमा हारजितको समीक्षा र चर्चा चलेकै छ । अमेरिका नेपालको एक महत्वपूर्ण मित्र राष्ट्र र सहयोगी पनि हो । अमेरिकी सहयोगका परियोजनाहरूले नेपाललाई वर्षौंदेखि योगदान गरिआएकै छन् । यद्यपि, नेपाल अमेरिका सम्बन्धको उचाइ जति नै धेरै भए पनि हृवाइटहाउस प्रशासनका लागि यो कम प्राथमिकताको विषय हो । पहिलो कार्यकालमा ‘ट्रम्पले नेपाललाई नक्सामा पनि चिन्दैनन्’ भन्ने उक्ति चर्चामा थियो । व्यक्तिगत रूपमा ट्रम्पले नेपाललाई दिने महत्वको खास अर्थ पनि नरहन सक्छ तर अमेरिकी विदेश नीतिमा आमूल परिवर्तन ल्याउने एजेण्डासहित चुनाव जितेका ट्रम्पको विदेश नीतिको प्रभाव भने नेपालसम्म पर्नसक्छ ।
ट्रम्पले यसपटक पनि अमेरिका फस्र्टको नीतिलाई प्राथमिकतामा राखेका छन् । सन् २०२५ को जनवरी २० मा अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकाल सुरु हुनेछ । त्यसपश्चात् हृवाइट हाउसले लिने मुख्यतः दुईवटा नीतिप्रति नेपालको चासो स्वाभाविक रहनेछ । पहिलो विदेशी नीति, दोस्रो आर्थिक नीति । चीनसँगको व्यापार घाटा कम गर्न ट्रम्पले अघिल्लो कार्यकालमा संकुचित अर्थनीति अपनाएका थिए । जसको मार विश्व अर्थतन्त्रमै परेको थियो । अमेरिका र चीनबीचको व्यापारिक प्रतिस्पर्धाको प्रत्यक्ष असर विश्वका सबैजसो देशमा पर्ने नै हुन्छ । त्यसैले ट्रम्प प्रशासनको अबको आर्थिक नीतिले नेपाली अर्थतन्त्रलाई समेत प्रभाव राख्दछ ।
ट्रम्पले यस पटकको चुनावमा विश्वशान्तिको एजेण्डालाई प्राथमिकतामा राख्नुभएको थियो । विश्वशान्ति अन्तर्राष्ट्रिय मञ्चमा नेपालले पनि प्रस्तुत गर्दै आइरहेको एजेण्डा हो । अब विश्वशान्तिको एजेण्डालाई ट्रम्प प्रशासनले कसरी कार्यान्वयन गराउनेछ भन्नेमा नेपालमा चासो हुन जरुरी छ । नेपालको वैदेशिक सम्बन्ध र आर्थिक सरोका मुख्यतः उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसँगको सम्बन्धका आधारमा प्रभावित हुँदै आइरहेको छ । उदाउँदा शक्ति राष्टका रूपमा भारत र चीनसँग अमेरिकाले कस्तो व्यवहार गर्ला ? नेपाललाई मुख्यतः यसै विषयले फरक पार्छ ।
भारत र चीन दुवै दक्षिण एसियामा आफ्नो प्रभाव जमाउन चाहन्छन् । अमेरिकी सरोकारले आफ्नो स्वार्थ नबिग्रियोस् भन्नेमा भारत र चीन दुवै सचेत हुने नै छन् । नेपालले पनि आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा यसबारे सजगता देखाउन जरुरी छ । ट्रम्पको पहिलो कार्यकालमा सुरु भएको इण्डो प्यासिफिक रणनीति नेपालमा सबैभन्दा चर्चाको विषय बनेको थियो । नेपालीहरूले एमसीसी परियोजना इण्डो प्यासिफिक रणनीतिको हिस्सा हो वा होइन भन्नेमा लामै बहस पनि गरे । ट्रम्पको दोस्रो कार्यकालमा पनि सायद यो विषयले चर्चा पाउनेछ । नेपालमा कार्यान्वयनको चरणमा रहेको एमसिसीको प्रभाव र निरन्तरतासँग जोडिएर फेरि पनि इण्डो प्यासिफिक रणनीतिबारे बहस हुनसक्छ ।
ट्रम्पले कस्तो आप्रवासन नीति अख्तियार गर्लान् ? नेपालीलाई यसले पनि प्रभाव पार्नेछ । हाल अमेरिकामा बसोबास गरिरहेका तर त्यहाँको नागरिक नभइसकेका नेपालीहरू ट्रम्पको आप्रवासीसम्बन्धी नीतिलाई चासोका साथ पर्खिरहेका छन् । हजारौँ नेपालीले हालै अमेरिकी स्थायी अनुमति भिसा प्राप्त गर्न डिभी भरेका छन् । डिभीबारे विगतमा असहिष्णु देखिनुभएका ट्रम्पले दोस्रो कार्यकालमा यसबारे लिने नीतिले भने नेपाल र नेपालीलाई प्रभावित पार्नेछ ।
सन् २०२४ विश्वमा लोकतान्त्रिक अभ्यासका लागि महत्वपूर्ण वर्ष रहृयो । छिमेकी राष्ट्र भारतमा पनि हालै संसदीय निर्वाचनपछि तेस्रो कार्यकालका लागि नरेन्द्र मोदी निर्वाचित हुनुभएको छ । अमेरिकामा ट्रम्पको पुनरागमन भएको छ । चीनमा सी को तेस्रो कार्यकाल जारी छ । यस्तोमा अस्थिर राजनीतिको शिकार बनिरहेको नेपालले तीनै शक्ति राष्ट्रहरूसँगको सम्बन्धमा विशेष संवेदनशीलता राख्नुपर्ने देखिन्छ । हरेक घरमा अमेरिका जान चाहने नेपालीको संख्या बढिरहेको परिप्रेक्ष्यमा, नेपालको शासन प्रशासनमा ट्रम्पको प्रत्यक्ष सरोकार नदेखिए पनि त्यसले नेपाली समाजमा भने प्रत्यक्ष अर्थ राख्ने देखिन्छ । सधैँ असंलग्न आन्दोलन र विश्वशान्तिको पक्षमा उभिँदै आएको नेपालले अब पनि कूटनीतिक सन्तुलन कायम राख्दै अमेरिका मात्रै नभए चीन र भारतसँगको सम्बन्ध समेतबाट लाभ लिन जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच