काठमाडौं । आज (आइतबार) विविध कार्यक्रम गरी विश्व विज्ञान दिवस मनाइँदै छ । हरेक वर्ष १० नोभेम्बरका दिनलाई विश्व विज्ञान दिवसका रूपमा मनाउने गरिन्छ । यस वर्ष (ग्लोबल वेल विइङ) ‘विश्व कल्याणका लागि विज्ञान’ भन्ने मूल नाराका साथ विश्वभर विज्ञान दिवस मनाइँदै छ । युनेस्कोको अग्रसरतापछि सन् २००१ देखि यो दिवस निरन्तर मनाउँदै आइएको हो । विश्व विज्ञान दिवसको सुरुवात सन् १९९९ मा हंगेरीको बुढापेस्टमा आयोजित विज्ञानमाथिको विश्व सम्मेलनबाट प्राप्त सकारात्मक नतिजासँग जोडिएको छ । समाजमा विज्ञानको महत्वपूर्ण भूमिका र उभिरहेको वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरी विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्व र प्रासगिंकतालाई कसरी प्रभाव पार्दछ भनी बुझ्नको लागि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउन सुरु गरेको हो ।
आजको अवस्थामा विज्ञान तथा प्रविधि विकासको आधार तथा मानिसको सारथि बनेको छ । तथापि, अधिक विज्ञानको विकासले राम्रा मात्रै नभई कतिपय समस्याहरू पनि आएका छन् । त्यस्ता समस्याहरूको जनमानसमा लैजान दिवसले भूमिका खेल्नेछ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नाष्टले वि.सं ०६६/०६७ मा प्रकाशन गरेको विज्ञान र प्रविधिको अवस्था सर्भेक्षणअनुसार नेपालमा ३३० वटा वैज्ञानिक संस्था छन् । ती संस्थाहरूको स्तरोन्नति तथा विकासका लागि सरकारले प्राथमिकता नदिएको विज्ञहरूले गुनासो गर्छन् । नाष्टका डा. रवीन्द्र ढकालले विज्ञान र प्रविधिलाई समाजसँग जोड्न नवीन कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले मुलुकमा निर्माण भएका नयाँ-नयाँ प्रविधिलाई बढावा दिन नाष्टले नेशनल इन्नोभेसन डिजिटल नेटवर्क औजारको सुरुआत गरेको बताउनुभयो ।
नेपालले प्रत्येक वर्षको असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाउँदै आएको छ । राष्ट्रिय विज्ञान दिवस भने २०७० देखि मनाउन थालिएको हो । नेपालको विज्ञान प्रविधिको इतिहासमा असोज १ गते महत्वपूर्ण दिन हो । विसं २०१३ साल असोज १ गते ‘पब्लिक साइन्स कलेज’को स्थापना भएको थियो । उक्त कलेज जनस्तरमा स्थापित देशको पहिलो विज्ञान कलेज हो ।
सुरुका दिनमा त्रिचन्द्रमा प्रभातकालीन कक्षाका रूपमा सञ्चालित ‘पब्लिक साइन्स कलेज’ २०१८ फागुन १८ मा लैनचौरस्थित आफ्नै भवनमा सरेको थियो । ‘पब्लिक साइन्स कलेज’का उत्प्रेरक तथा संस्थापक रसायनशास्त्री प्राध्यापक अमृतप्रसाद प्रधानको २०२३ मा हवाई दुर्घटनामा निधन भएपछि उहाँकै स्मृतिमा कलेजको नाम ‘अमृत साइन्स कलेज’ (अस्कल) राखिएको हो । अमृत साइन्स कलेज स्थापना भएको दिन असोज १ गतेलाई हरेक वर्ष विज्ञान दिवस मनाउने निर्णय नेपाल सरकारले गरेको हो ।
विश्वमा विज्ञान प्रविधिको विकास अति तीव्र गतिमा भइरहेको छ । हाम्रो देशमा भने आधुनिक विज्ञान प्रविधिको अध्ययन, अध्यापन, अनुसन्धान र उपयोग अति सुस्त गतिमा भइरहेको छ । नवप्रवर्तन, अनुसन्धान र आविष्कारका माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्याउनु पर्नेमा सरोकोरवालाहरूको जोड छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच