कोलम्बो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा सानदार जित हासिल गरेको छ । माक्र्सवादी दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजय हासिल गर्नुभएको थियो । तत्काल चुनाव गराउने र आफ्नो एजेण्डाका लागि संसदीय समर्थन सुरक्षित गर्ने उहाँको निर्णयलाई समर्थन मिलेको छ । दिसानायकेको नेसनल पिपुल्स पावर (एनपिपी) गठबन्धनले २२५ सदस्यीय विधानसभामा कम्तीमा १२३ सिट जितिसकेको छ भने मतगणना भइरहेका अन्य केही स्थानमा पनि अग्रता कायम भएको छ ।
समाचार तयार पार्दासम्म गणना भएका तीन चौथाइभन्दा बढी मतमध्ये गठबन्धनले ६२ प्रतिशत मत प्राप्त गरेको छ भने विपक्षी नेता सजिथ प्रेमदासाको पार्टी १८ प्रतिशत मतका साथ निकै पछि परेको छ ।
‘जनताले भ्रष्टाचार र भ्रष्ट प्रणालीबाट छुट्कारा पाउनका लागि मतदान गरेका छन्,’ चुनावमा एनपिपीलाई समर्थन गर्ने सूचना प्रविधिका व्यवसायी चानाका राजपाक्षले शुक्रबार एएफपीलाई बताउनुभयो ।
अल्पसंख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्ला जाफ्नामा उहाँको पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
एक मजदुर परिवारमा जन्मिनुभएका ५५ वर्षीय राष्ट्रपति दिसानायकेले बिहीबारको चुनावमा मतदान गरेपछि संसद्मा ‘सशक्त बहुमत’ साथ आफ्नो गठबन्धनलाई अगाडि बढाउने अपेक्षा गरेको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो, ‘हामीलाई विश्वास छ, यो एक महत्वपूर्ण चुनाव हो जसले श्रीलंकामा एउटा परिवर्तनको संकेत गर्नेछ । यो चुनावमा एनपिपीले संसद्मा बलियो बहुमतका लागि जनादेश पाउने हाम्रो विश्वास छ ।’
प्रहरीका अनुसार हालका वर्षहरूमा अधिकांश मतदानको विपरीत नौ घण्टाको मतदान अवधि कुनै हिंसात्मक घटनाबिना बितेको छ । तर, ड्युटीमा रहेका बेला एक प्रहरी हवल्दारसहित तीनजना निर्वाचन कार्यकर्ताको रोगका कारण मृत्यु भएको थियो ।
श्रीलंकामा गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा भन्दा कम ७० प्रतिशतको हाराहारीमा मत खसेको सञ्चारमाध्यमले जनाएका छन् ।
करिब २५ वर्षदेखि सांसद रहँदै आउनुभएका वर्तमान राष्ट्रपति दिसानायकेले केही समयका लागि कृषिमन्त्रीका रूपमा समेत काम गर्नुभएको थियो । उहाँको एनपिपी गठबन्धनले निवर्तमान विधानसभामा जम्मा तीन सिटमात्र जितेको थियो ।
देशलाई सन् २०२२ को आर्थिक संकटतर्फ धकेलेको आरोप लागेका संस्थापन पक्षका राजनीतिज्ञहरूबाट आफूलाई सफलतापूर्वक अलग्गै राखेपछि उहाँ सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपति पदका लागि निर्वाचित हुनुभएको थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच