काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको छ । वरिष्ठ राजनीतिकर्मी, मानव अधिकारीवादी एवं वरिष्ठ अधिवक्तासमेत रहनुभएका ढुंगानाको उपचारका क्रममा काठमाडौंको फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । उहाँ लामो समयदेखि कलेजोसम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्थ्यो । नेपालको संसदीय राजनीतिमा खरो र प्रतिबद्ध सभामुखको छवि बनाउनुभएका ढुंगाना पछिल्लो समय मानव अधिकार र कानुनको क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । २०४८ सालको आम निर्वाचनमा काठमाडौं २ बाट नेपाली कांग्रेसको उम्मेदवारका रूपमा प्रत्यक्ष निर्वाचित ढुंगाना संसद्को सोही कार्यकालमा २०५१ सम्म प्रतिनिधि सभाको सभामुखका रूपमा रहनुभयो । संसद्को सो कार्यकालभरी नेपालमा नेपाली कांग्रेस नेतृत्वको सरकार थियो ।
प्रधानमन्त्रीका रूपमा कांग्रेसका गिरिजाप्रसाद कोइरालादेखि विपक्षी दलको नेताका रूपमा एमालेका मनमोहन अधिकारीसम्म रहनुभएको थियो । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री कोइरालाले संसद् भंग गरेपछि कांग्रेसबाटै ढुंगानाले मध्यावधि निर्वाचन लड्नुभएको थियो । मध्यावधिमा एमाले नेतृ विद्यादेवी भण्डारीसँग पराजित भएपछि भने ढुंगानाले कांग्रेसको सक्रिय राजनीतिलाई विश्राम दिनुभयो । त्यसपश्चात् मानव अधिकारको क्षेत्रमा क्रियाशील रहेर उहाँले योगदान गर्नुभयो ।
लामो समय सक्रिय राजनीतिबाट टाढा रहेपछि २०७४ को संसदीय निर्वाचनमा उहाँ पुनः कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभयो । भक्तपुर २ बाट उम्मेदवार बन्नुभएका ढुंगाना एमालेका महेश बस्नेतसँग पराजित भएपछि पार्टी राजनीतिमा सक्रिय भने हुनुभएन ।
विद्यार्थी कालबाटै राजनीतिमा
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले कु गर्दा दमननाथ विद्यार्थी हुनुहुन्थ्यो । पत्रकारिता र साहित्यमा रुचि थियो तर राजनीति गरिहाल्ने सोच थिएन । प्रजातन्त्रको अपहरण भएपछि उहाँको रुचि राजनीतिमा बढ्यो । प्रजातन्त्र पुनःस्थापना गर्न विद्यार्थीहरूले अगुवाई गर्नुपर्छ भन्ने लागेपछि त्रिभुवन विश्वविद्यालयमा सक्रिय विद्यार्थी राजनीति गर्नुभयो । विद्यार्थी संगठनको उपाध्यक्षका रूपमा काम गर्नुभयो । राजनीतिक दलहरूमाथि प्रतिबन्ध थियो । पढाइ र आन्दोलनसँगै अगाडि बढाउनुभएका उहाँले २०२७ सालपछि कानुनी पेसा रोज्नुभयो । नेपाल विद्यार्थी संघको स्थापनासम्म विद्यार्थी राजनीतिमा सक्रिय उहाँ पछि नेपाल बार एसोसिएसनमा सक्रिय रहनुभयो । २०२८ सालमै बार एसोसिएसनको महासचिव बन्नुभएका ढुंगानाले पञ्चायत कालभरी वकालत, पत्रकारिता र साहित्यको माध्यमबाट प्रजातन्त्रको पक्षमा आफूलाई उभ्याइ रहनुभयो ।
प्रजातन्त्र पुनःस्थापनामा योगदान
२०४६ सालको आन्दोलन नेपाली कांग्रेसको नेतृत्वमा भइरहेको थियो । कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईले ढुंगानालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिनुभएको थियो । आन्दोलनका मञ्चहरूमा प्रखर सुनिने ढुंगानालाई प्रजातन्त्र पुनःस्थापनापछि संसद्को टिकट मिल्यो । काठमाडौं २ बाट निर्वाचित भएलगत्तै कांग्रेसले सभामुखको रूपमा अगाडि पनि सा¥यो । पञ्चायती शासन ढलेपछिको पहिलो संसद् भएका कारण कांग्रेस र कम्युनिष्टका बीच स्वाभाविक तीक्तता थियो । सत्तारूढ पार्टीकै नेता सभामुख बन्दा संसद्ले लय गुमाउँछ कि भन्ने धेरैलाई लागेको थियो । तर, ढुंगानाले संसद्लाई निर्जीव हुन दिनुभएन । संसद्लाई प्रतिपक्षको थलोका रूपमा प्रयोग हुन दिनुभयो । सरकारलाई उचित खबरदारी गराउनुभयो । सभामुखका रूपमा आज पनि वामपन्थीहरूले ढुंगानालाई तटस्थ मान्दछन् । आफ्नो जीवनकालको अन्तिम समयसम्म उहाँ कांग्रेस र कम्युनिष्ट सबैका लागि आदरणीय रहिरहनु भयो ।
शान्ति प्रक्रियामा सक्रिय
माओवादी द्वन्द्वलाई शान्तिपूर्ण रूपमा संवादबाटै समाधान गर्नुपर्छ भन्नेमा अरूभन्दा पहिले प्रष्ट हुनेमध्येमा ढुंगाना पनि पर्नुहुन्छ । २०५२ सालमा सुरु भएको माओवादी आन्दोलनले प्रजातन्त्र नै जोखिममा पर्छ कि भन्ने लागेर उहाँले शान्ति अभियान थाल्नुभयो । नेपाली कांग्रेसको सदस्यता नवीकरण नगरी २०५४ सालदेखि देशव्यापी शान्ति अभियान सञ्चालन गर्नुभयो । यही कारण उहाँको तटस्थ छविले व्यापकता पाउँदै गयो । २०५८ सालयता शान्तिका लागि मध्यस्थकर्ताको रूपमा ढुंगानाले निरन्तर योगदान गर्नुभयो । शान्ति अभियानका दौरान माओवादी नेताहरूसँगको संसर्गबारे थाहा पाएका कतिपयले ढुंगानालाई माओवादी भइसकेको आरोप पनि लगाए । यद्यपि, आफ्नो जीवनको उत्तरार्धमा वाम गठबन्धनका उम्मेदवारविरुद्ध उभिएर ढुंगानाले आफूविरुद्धका सबै आरोपलाई खारेज गरिदिनुभयो । तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीबीच ऐतिहासिक १२ बुँदे सहमति गराउन ढुंगानाको निर्णायक भूमिका रहृयो । यद्यपि, सो सम्झौतामा नागरिक समाजलाई पनि पक्षका रूपमा स्वीकार्न दलहरू तयार नभएकोमा उहाँले आलोचना गर्र्दै आउनुभयो । २०६२/६३ को जनआन्दोलनमा नागरिक समाजको नेतृत्व गर्दै ढुंगानाले परिवर्तनका लागि आहृवान गर्नुभएको थियो ।
बहुआयामिक व्यक्तित्व
विद्यार्थी जीवनका सक्रिय विद्यार्थी नेता रहनुभएका ढुंगाना लामो समय कानुन व्यवसायीको औपचारिक भूमिकामा रहनुभयो । त्यसअघि केही समय शिक्षण पेशासमेत अँगाल्नुभएका उहाँ पत्रकारिता र साहित्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो । सक्रिय राजनीति गरेर कांग्रेसको प्रवक्तादेखि मुलुकको सभामुखसम्म बन्न सफल ढुंंगाना सबैले स्वीकार्ने मानव अधिकारवादी नागरिक अगुवाका रूपमा पनि स्थापित हुनुभयो । लोकतन्त्र मानव अधिकार र विधिको शासनका पक्षमा निर्भिक रूपमा उभिँदै आउनुभएका ढुंगानाको निधनबाट राष्ट्रले वरिष्ठ राजनीतिज्ञ मात्रै गुमाएको छैन जनपक्षीय प्रतिपक्षी पनि गुमाएको छ । सत्तालाई सधँै विधि र लोकतन्त्रको बाटो हिँड्न प्रेरित गर्नुहुने ढुंगानाले राजनीतिक प्रतिशोधका आधारमा लगाइने आरोपहरूको बेवास्ता गर्दै आफूलाई सधँै सर्वस्वीकार्य राख्न सफल रहनुभयो ।
निष्ठामा बाँच्ने आदर्श व्यक्तित्व
ढुंगानाको निधनको खबर पाएपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत फ्रन्टलाइन अस्पताल पुग्नुभएको थियो । त्यसक्रममा उपसभामुख रानाले आफूले ढुंगानालाई अभिभावकका रूपमा लिएको र उहाँको निधनप्रति निकै दुःख लागेको बताउनुभयो । यस्तै, बार अध्यक्ष घिमिरेले ढुंगानाले नेपालको संसदीय प्रणालीमा खेलेको भूमिका निकै स्मरणीय रहेको बताउनुभयो । ढुंगाना निष्ठामा बाँच्ने आदर्श व्यक्तित्व भएको उहाँले उल्लेख गर्नुभयो ।
मर्माहत भएको छु : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले आफू मर्माहत भएको बताउनुभएको छ । आइतबार सामाजिक सञ्जालमार्फत पौडेलले ढुंगानाको निधनले मर्माहत भएको बताउनुभएको हो । राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता र नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान सधैँ स्मरणीय हुने बताउँदै राष्ट्रपति पौडेलले ढुंंगानाप्रति श्रद्धाञ्जलि दिनुभएको छ । उहाँले ढुंगानाको निधनपछि शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुंगानाको योगदान विशिष्ट खालको रहेको स्मरणसमेत राष्ट्रपतिले गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुंगानाको निधनमा दुःख व्यक्त गर्नुभएको हो । ‘२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु’, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । उहाँले नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा ढुंगानाले महत्वपूर्ण योगदान दिएको भन्दै आफूले सम्झिरहेको उल्लेख गर्नुभएको छ । ‘नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवंगत मित्र दमननाथ ढुंगानाप्रति हार्दिक श्रद्धाञ्जलि, शोकमा रहनुभएका परिवारजनमा गहिरो समवेदना !’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
निधनको खबरले स्तब्ध भएको छु : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष देउवाले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गर्नुभएको हो । ‘पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको खबरले स्तब्ध भएको छु । नेपालको लोकतन्त्र, मानव अधिकार र न्याय क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण थियो,’ सभापति देउवाले भन्नुभएको छ । साथै उहाँले ढुंगानाको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्व : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष प्रचण्डले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गर्नुभएको हो । ‘नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्व, पूर्वसभामुख, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको छ,’ प्रचण्डले सामाजिक सञ्जालमा लेख्नुभएको छ । साथै उहाँले ढुंगानाको योगदानलाई नेपाल र नेपाली जनताले देशको राजनीतिक, तथा सामाजिक परिवर्तनका लागि सधैँ सम्झिरहने समेत उल्लेख गर्नुभएको छ । ‘नेपाल र नेपाली जनताले देशको राजनीतिक, तथा सामाजिक परिवर्तनमा उहाँले पुर्याएको योगदानलाई सदैव सम्झिरहने छन् । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ अध्यक्ष प्रचण्डले लेख्नुभएको छ ।
आज अन्त्येष्टि
पूर्वसभामुख दमननाथ ढुंगानाको कान्छो छोरा निमेष लण्डनमा रहेको र उहाँ आएपछि आज (सोमबार) अन्त्येष्टि गरिने नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिनुभयो । स्व. ढुंगानाका दुई छोरा र एक छोरी हुनुहुन्छ । जेठा छोरा निशेष र छोरी नीता काठमाडौंमै हुनुहुन्छ । उहाँको शवलाई सोमबारसम्म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिने नेता ढकालले जानकारी दिनुभयो । ‘फ्रन्टलाइन अस्पतालमा शव राख्ने ठाउँ रहेनछ’, उहाँले भन्नुभयो, ‘त्यसपछि शिक्षण अस्पताल लैजाने कुरा भयो ।’ ढुंगाना नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा कलेजो रोगको उपचार गरी तिहारअघि काठमाडौं फर्कनुभएको थियो । पूर्वसभामुख स्वर्गीय ढुंगानाप्रति हिमालय टाइम्स परिवार हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच