धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) बीच ‘एजुकेसन पार्टनर’ का लागि सम्झौता भएको छ । सुदूरपश्चिमको शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको एसपिए र रोयल्सबीच एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह र एसपिएका प्रबन्ध निर्देशक सुवास शाहीले हस्ताक्षर गर्नुभयो ।
एसपिएले नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो । यसबाहेक एसपिए कपले पनि नेपालको घरेलु क्रिकेटमा ठूलो योगदान दिएको थियो । धनगढीलाई सिटी अफ क्रिकेटको पहिचान दिन एसपिएले निरन्तर मिहिनेत गरिरहेको छ ।
सम्झौतापछि रोयल्सका मालिक शाहले एसपिएको प्रभाव शिक्षासँगै खेलकुदमा पनि उत्तिकै प्रभावकारी रहेको बताउनुभयो । ‘एसपिएको नाम शिक्षा क्षेत्रसँगै खेलकुदमा पनि उत्तिकै सुनेका छौँ । हामीले सुदूरपश्चिमको क्रिकेट विकास गर्ने लक्ष्य राख्दा एसपिएसँग सहकार्य गर्न पाउनु सौभाग्यको कुरा हो । लामो समयदेखि शिक्षा र खेलकुदलाई बढावा दिइरहेको संस्थासँग जोडिन पाउँदा निकै खुसी छु,’ शाहले भन्नुभयो ।
एसपिएका प्रबन्ध निर्देशक शाहीले पनि सुदूरपश्चिम क्षेत्रको क्रिकेट विकासमा हातेमालो गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । ‘हामी क्रिकेटका माध्यमबाट खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सक्छौँ । हामी सबै एक भएर आउँदा लक्ष्य प्राप्तिका लागि थप सहज हुन्छ । हामी सबैले फाप्ला अन्तर्राष्ट्रिय रंगशालामा खेल आयोजना गर्ने सपना देखेका छौँ र हाम्रो सहकार्यले त्यसलाई वास्तविकतामा परिणत गर्नेछ,’ शाहीले बताउनुभयो ।
क्यानको आयोजनामा आठ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत् टमाटा हुनहुन्छ । टोलीमा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्याण्ड), सेफ अलि जेब (इंग्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (युएई) रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच