गुल्मीमा मतदाता भेटघाटमा व्यस्त उम्मेदवार

नेपाली कांग्रेसका प्रभाशाली नेता, संविधान सभा सदस्य एवम् गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार डा. चन्द्र भण्डारी मतदातासँग कुराकानी गर्नुहुँदै ।

हिमालय टाइम्स
Read Time = 6 mins

- रमेश विश्वकर्मा

गुल्मी । गुल्मीमा उम्मेदवारहरु मतदाता भेटघाट तथा चुनाव केन्दीत कार्यक्रमहरुमा निकै व्यस्त देखिएका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भएका उम्मेदवारहरु मतदाता भेटघाटमा तथा चुनाव केन्द्रीत कार्यक्रममा निकै व्यस्त देखिएका हुन् ।

यस जिल्लामा राजनीतिक दल र स्वतन्त्र रुपमा ६६ जनाले उम्मेदवारी दर्ता गराएका मध्ये चार जना स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएसँगै ६२ जना उम्मेदवारहरू अहिले मतदाताको घर–घरमा पुग्न थालेका छन् । असोज २३ गते उम्मेदवारको मनोनयन दर्ता गरेसँगै उम्मेदवारहरूले मतदातासँगको भेटघाटलाई निकै तीब्र बनाएका छन् । राजनीतिक दलका आधिकारिक उम्मेदवारहरू समय तालिका बनाएर नेता कार्यकर्तासँगै मतदाताको घर–घरमा पुगिरहेका छन् ।

राजनीतिक दलले चुनाव केन्द्रीत विभिन्न कार्यक्रमहरु तय गरेका छन् । जिल्लामा पार्टीका बैठक एवम् चुनाव केन्द्रीत प्रशिक्षण, कोणसभा जस्ता विभिन्न कार्यक्रमहरु भएका छन् । त्यस्तै, मतदाताको घरमा पुगेर उम्मेदवारहरूले पार्टीको एजेण्डासँगै आफ्ना एजेण्डा बताउने, आफ्नो पार्टी र आफ्नो पक्षमा मत माग्दै गरेको स्थानीयहरूले बताएका छन् । सत्तारुढ गठबन्धन दलका नेता तथा कार्यकर्ता र उम्मेदवारहरूले पनि गठबन्धन दल र आफ्नो पक्षमा मतदातासँग मत माग्ने, भेटघाट गर्ने जनताको गुनासो एवम् कुराहरू सुन्ने गरेका छन् ।

निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि राजनीतिक दलले जिल्लास्तरीय निर्वाचन परिचालन समिति गठन गरेका छन् । गुल्मीमा सत्तारुढ गठबन्धन दलले नेपाली कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीको संयोजकत्वमा सात सदस्यीय जिल्लास्तरीय निर्वाचन परिचालन संयन्त्र गठन गरेको छ । त्यस्तै, नेकपा (एमाले) ले पनि गुल्मी जिल्ला अध्यक्ष बालसिंह काउछाको नेतृत्वमा जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको जिल्ला कमिटी सचिव गणेश श्रीपालीले बताउनुभयो ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेषगरी चार केन्द्रीय नेताहरुबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– १ मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् संविधानसभा सदस्य डा. चन्द्र भण्डारी र नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवाली प्रतिस्पर्धी हुनुहुन्छ ।

प्रतिनिधिसभा क्षेत्र नं– २ मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेकपा एसका केन्द्रीय सचिव रामकुमारी झाँक्री र नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट प्रतिस्पर्धी हुनुहुन्छ । त्यस्तै, यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार डा।दामोदर भुसालको पनि प्रभाव रहेको बताइएको छ ।

चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य चिन्तामणि पाण्डे प्रतिस्पर्धी हुनुहुन्छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (ख) मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका महासमिति सदस्य धनेन्द्र कार्की र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य फर्सुराम पाण्डे प्रतिस्पर्धी हुनुहुन्छ ।

यता, प्रदेशसभा निर्वाचन क्षेत्र २ (क) मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ र नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डिल्लीराज भुसाल प्रतिस्पर्धी हुनुहुन्छ । प्रदेशसभा निर्वाचन क्षेत्र २ (ख) मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका गुल्मी जिल्ला संयोजक बुद्धि जिसी र नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दिनेश पन्थी प्रतिस्पर्धी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?