लमजुङमा समानुपातिकतर्फ एमाले पहिलो दल, दोस्रोमा कांग्रेस

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

लमजुङ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको परिणमअनुसार लमजुङ जिल्लामा नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ । समानुपातिकमा नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभातर्फ सबै भन्दा बढी मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार लमजुङमा प्रतिनिधि सभातर्फ नेकपा एमालेले ३१,१७८ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २७,७९६ मत प्राप्त गरेको छ । निर्वाचनमा भाग लिएका कूल ४७ वटा राजनीतिक दल मध्ये ४ महिना अघि स्थापना भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई समेत उछिन्दै तेस्रो स्थान बनाएको छ । स्वतन्त्र पार्टीले ८,२१७ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले ६,४८३ मत मात्र पाएको छ ।

निर्वाचन परिणाम अनुसार चौथोस्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थान बनाएको छ । उसले २,३०८ मत पाएको छ । पाँचौं स्थानमा आएको नेकपा एकीकृत समाजवादीले ५८२ मत प्राप्त गरेको छ ।

लमजुङका दुवै प्रदेश सभातर्फ प्रत्यक्षमा पराजय ब्यहोरे पनि समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार नेकपा एमालेले प्रदेशतर्फ प्रतिनिधिसभा भन्दा पनि बढी मत अर्थात ३२,८०६ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ भन्दा कम अर्थात २६,७८३ मत पाएको छ । तेस्रो स्थान बनाएको नेकपा माओवादी केन्द्रले ८,४१४ मत पाएको छ । प्रदेशमा माओवादीले पनि मत बढाएको छ । चौथो स्थान प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २,८३२ मत पाएको छ भने पाँचौ स्थान बनाएको नेकपा एकीकृत समाजवादीले १,१५३ मत पाएको छ ।

निर्वाचनमा प्रदेशतर्फ समानुपातिकमा ३१ दल सहभागी भएक थिए ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?