पौडेलको ‘वेलकम आरोह अवरोह’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ । आत्मकथामा आधारित सो पुस्तकमा उहाँका आफ्ना भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजारलगायत विषय समेटिएको छ ।

घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकमा लेखक पौडेलले ऊ बेलाको काठमाडौं उपत्यकाको भौगोलिक तथा सामाजिक अवस्थाको पनि चित्रण गर्नुभएको छ । साथै पुस्तकमा नेपालमा विगत लामो समयदेखिको आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा प्रस्तुत गरिएको छ ।

विज्ञापन व्यवसायी एवं नेपाल विज्ञापन एजेन्सी व्यवसायी संघको अध्यक्षसमेत रहेर काम गरिसक्नुभएका उहाँले पुस्तकमा व्यावसायिक जीवनका आरोह-अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा आफूले भोग्नुपरेका सफलता, असफताका कथाहरू पनि समेट्नुभएको छ ।

लेखक पौडेलले विज्ञापन क्षेत्रमा नयाँपन ल्याउने आफ्नो प्रयाससँगै आफूले जाने भोगेका विषयवस्तुलाई सार्वजनिक गरी नेपालको सञ्चार तथा विज्ञापान क्षेत्रमा लागिरहेका र यस क्षेत्रमा लाग्ने आगामी पुस्ताले हासिल गर्नुपर्ने ज्ञानका कुरालाई पनि पुस्तकमा सकेसम्म समेटेको बताउनुभयो ।

पुस्तकमा क्लिन फिडको अवधारणा, बाढीपीडितका लागि गरिएको पहिलो ‘एसएमएस क्याम्पियन’, भूकम्पका बेला विदेशमा रहेका नेपालीबाट एक डलर र स्वदेशमा रहेकाहरूबाट एक सय रुपैयाँ संकलनको अवधारणा र यसले पुर्‍याएको सहयोगको प्रसंग पनि राम्रोसँग उल्लेख गरिएको छ ।

यसैगरी तत्कालीन सञ्चारकर्मी (हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति) रवि लामिछानेसँगको सहकार्यमा टेलिभिजनमा भएको ‘म्याराथन टक सो’, ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानमा १० लाख जनाको हस्ताक्षर संकलन अभियान र सो हस्ताक्षरलाई संयुक्त राष्ट्रसंघमा बुझाइएको प्रसंग पनि पुस्तकमा समेटिएको छ ।

यस आत्मकथामा लेखक पौडेलले कलाकारितादेखि विज्ञापन व्यवसायसम्मको आफ्नो जीवनको यात्रालाई रोमाञ्चक ढंगले समेट्नुभएको छ । उहाँले आफ्नो व्यवसायका सिलसिलामा करिब छ सयभन्दा बढी विज्ञापन निर्माण गरेका अनुभवको बयान गरी पछिल्लो समयमा आएर फेरिएको विज्ञापन शैलीका बारेमा पनि उल्लेख गर्नुभएको छ । लेखक पौडेलले पुस्तकको पहिलो प्रति सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि पुस्तक सार्वजनिक गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?