कांग्रेस केन्द्रीय समिति बैठक :

व्यवस्थामाथि प्रश्न, संघीयता र समानुपातिकको विरोध, नेताहरूको प्रश्न- ‘गठबन्धन जोगाउनु मात्रै उपलब्धि हो ?’

कृष्ण भुसाल
Read Time = 18 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालय सानेपामा केही दिनदेखि जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी भएर मात्रै नपुग्ने भन्दै सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरूले सरकारलाई जनमुखी र प्रभावकारी बनाउनका लागि प्रधानमन्त्रीलाई समेत आग्रह गर्नुपर्ने बताएका थिए । आइतबार सम्पन्न बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले केन्द्रीय सदस्यहरूले जनतालाई प्रत्यक्ष महसुस हुनेगरी सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने धारणा आएको जानकारी दिनुभयो ।

आइतबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबारे गम्भीर समीक्षा गर्न माग राखेका थिए । उनीहरूले सरकार अहिले के गरिरहेको छ ? यसबारे समीक्षा गरिनुपर्नेमा जोड दिएका थिए । भ्रष्टाचारका एक दुई फाइल खोलिए पनि नेपाली जनताले भ्रष्टाचार घटेको महसुस नै नगरेको उनीहरूको भनाइ थियो । शान्ति सुरक्षाको अवस्था ठिक नभएको र दिनदहाडै खुकुरी चल्दासमेत सरकार मौन रहेको भन्दै सरकारमा बस्नु मात्र उपलब्धि मान्न नहुने प्रतिक्रिया दिएका थिए ।

समिति बैठकमा संघीयता, धर्मनिरपेक्षता र समानुपातिक निर्वाचन प्रणालीप्रति एकपछि अर्को असहमति पनि व्यक्त गरिएको थियो । केन्द्रीय समिति बैठकमा बोल्दै प्रदेशका पदाधिकारी, मुख्यमन्त्रीदेखि केन्द्रीय सदस्यसम्मले संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीलाई हटाउनुपर्ने सम्मका अभिव्यक्ति दिएका थिए । हिन्दू राष्ट्रको विषयलाई पार्टीले प्रष्ट एजेण्डा बनाएर उठाउनुपर्ने विषयले पनि बैठकमा प्रवेश पाएको थियो ।

संघीयताको औचित्यमाथि प्रश्न
बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताबारे पुनर्विचार गर्नुपर्ने भन्दै संघीय प्रणालीले राष्ट्रिय सुरक्षाको दृष्टिकोणले खतरा रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘संघीय प्रणाली मुलुकको समग्र हित र राष्ट्रिय सुरक्षा दृष्टिकोणले खतरा छ । यसमा पार्टीले पुनर्विचार गर्नुपर्छ ।’ भण्डारीले संविधानको एक पिलर धर्म निरपेक्षताको विषयमा पनि प्रश्न उठाउनुभएको थियो । धर्मको विषयमा आफूहरूले अघिल्लो महासमिति बैठकमा राखेको लिखित विषयको सुनुवाइ सभापतिबाट नभएको उहाँको गुनासो थियो । सनातन हिन्दू धर्ममाथि आक्रमण भइरहँदा पार्टीले टुलुटुलु हेरेर बसेको उहाँले टिप्पणी गर्नुभएको थियो ।

भण्डारीले नेपालको शब्दकोशबाट ‘ॐ’ शब्द हटाउन खोजेको भन्दै आपत्ति जनाउनुभएको थियो । ‘नेपालको शब्दकोशबाट ॐ शब्द हटाइँदै छ । योे बैठकबाट निर्णय गरियोस् । सरकारलाई निर्देश गरियोस् । यो हद भयो । अति भयो,’ भण्डारीले भन्नुभयो, ‘नेपालको शब्दकोशबाट ॐ शब्द हटाउने तयारीप्रति सरकारमा भएकाले हामीले खबरदारी गर्नुपर्छ । मौखिक रूपमा यो आवाज राखेका छौँ । नभए सशक्त रूपमा आवाज उठाउँछौँ ।’

केन्द्रीय सदस्य एवं सांसद राजन केसीले ४० प्रतिशत समानुपातिक राष्ट्रियसभामा लगेर प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘माओवादी दबाबपछि सम्झौतामा संविधान बनायौँ, तर ४० प्रतिशत समानुपातिक राख्दा कुनै दलको बहुमत नआउने स्थिति बनेको छ । यस्तोमा स्थिर सरकार बन्नै नसक्ने अवस्था आयो, यसैले प्रतिनिधिसभाको ४० प्रतिशत समानुपातिक राष्ट्रियसभामा लाने र प्रतिनिधिसभा प्रत्यक्ष चुनावबाट छानिने व्यवस्था भए मुलुकमा सहजै स्थिर सरकार बन्छ ।’

सरकार बनाउने नाममा विचार र आस्था केही नमिल्नेसँग गठबन्धन बनाउनुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो । यो संविधानले मुलुकमा स्थिर सरकार दिन पनि नसक्ने र संविधान नै धरापमा पर्ने चिन्ता बढेको उहाँको भनाइ थियो ।

केन्द्रीय सदस्य रंगमती शाहीले पनि बलियो सरकारका लागि समानुपातिक प्रणालीलाई हटाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘समानुपातिक प्रणाली हुँदा हामीले केन्द्रदेखि प्रदेशसम्म बलियो सरकार बनाउन सकेनौँ, त्यसैले समानुपातिक प्रणालीलाई हटाइदिऊँ, महिलालाई मात्रै ल्याउन समानुपातिक व्यवस्था ल्याएजस्तो गरिएको छ, यो हटाएर महिलालाई पनि प्रतिस्पर्धी बन्ने बाटो दिऊँ ।’

कांग्रेसबाट गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुभएका सुरेन्द्र पाण्डेले संघीयतामाथि प्रश्न उठ्नु स्वाभाविक भएको बताउनुभयो । स्थानीय तहलाई नागरिकले रुचाए पनि संघीयतालाई नरुचाएको आफ्नो अनुभव रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘स्थानीय तह पहिले पनि भएकाले नागरिकले पचाएका छन् । नयाँ संरचना प्रदेश सरकारको औचित्यमाथि प्रश्न खडा भएको छ । प्रश्न उठ्नु स्वाभाविक हो भन्ने लाग्छ, किनकि हामीले नारा दिएर घर–घरमा सिंहदरबार पु¥याउँछौँ भने पनि पु¥याउन सकेका छैनौँ, म प्रदेशेको मुख्यमन्त्री छु । हामीले चाहेर पनि गर्न सक्ने अवस्था छैन । संविधान, संघीयता ल्यायौँ, तर संविधानको कल्पनाअनुसार कानुन बनाउने रुचि न विगतका सरकारले देखाए, न अहिलेकोले ।’

बैठकमा प्रदेशका तर्फबाट धारणा राख्दै मधेशका कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ र गण्डकीका शुक्रराज शर्मासहितले बैठकमै आपत्ति जनाउनुभएको थियो । उहाँहरूले संघीयताको विरोध भइरहे पनि अधिकार दिने र दिलाउने कुरामा कुनै अग्रसरता नलिएको भन्दै पार्टीको भूमिकाप्रति आपत्ति जनाउनुभएको थियो ।

केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले कांग्रेसले संघीयता चाहेको हो भने बलियो बनाउन पार्टी नै लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संघीयताबारे प्रश्न उठेका छन् । गण्डकीका मुख्यमन्त्रीसहित धेरै साथीहरूले यो विषयमा प्रश्न उठाउनुभयो । संघीयता र गणतन्त्र चाहेका हौँ भने यसलाई बलियो बनाउन लाग्नुपर्छ, लामो संघर्षपछि कांग्रेसको नेतृत्वमा संविधान जारी ग¥यौँ, तर यसलाई बलियो बनाउन सकेनौँ भने हामीमाथि नै प्रश्न उठ्छ ।’

सरकार प्रभावकारी हुन सकेन
आइतबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सरकारको प्रभावकारी हुनै नसकेको टिप्पणी गरेका थिए । गठबन्धन जोगाउन मात्र सरकारको उपलब्धि हो ? भन्दै उनीहरूले सरकारमा बस्नु मात्र उपलब्धि नहुने बताएका थिए । केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसबाट मन्त्री बनेकाहरूले गरेको राम्रो कामको भाषण आफूले गर्न नपाएको भन्दै कटाक्ष गर्नुभएको थियो । उहाँले सरकारले महँगी नियन्त्रण गर्न नसकेको, अनुगमन नभएको तथा बजार क्षेत्रमा ३५ प्रतिशत सटर बन्द भएको र खाद्यान्नमा १४ प्रतिशतसम्म महँगी बढेको जिकिर गर्दै भन्नुभयो, ‘हाम्रा कुनै पनि साथी (मन्त्री) ले राम्रो काम गरे भनेर मैले भाषण गर्न पाइनँ । सरकारमा बस्नु मात्र उपलब्धि होइन, सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो-यो काम गर्नुहोस् भनेर भन्न सक्नुप¥यो । गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन ।’

कांग्रेसको अबको १० वर्षको देश विकासको दृष्टिकोण के हो ?
केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीले देश विकासको स्पष्ट खाका कांग्रेसले तयार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले राजनीतिक विषयले मात्रै मुलुक बन्न नसक्ने भएकाले कांग्रेसले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने माग राख्नुभएको थियो । ‘अबको १० वर्षको देश विकासको दृष्टिकोण कांग्रेसको के हो ? हाम्रो विकासको खाका कस्तो हुने हो ? त्यसको कुनै आधिकारिक दस्तावेज पार्टीको केन्द्रीय समितिबाट पारित भएको जानकारी मलाई छैन, देशभित्र र देशबाहिर रहेका नेपालीहरूले हामीलाई हेरिरहेका छन् । देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ ।’

कतै उत्साह भेटिँदैन, सबै नराम्रा कामको अपजस कांग्रेसलाई
आइतबारको बैठकमा केन्द्रीय सदस्य श्याम घिमिरेले जनतामा देखिएको निराशा र सबै नराम्रा कामको अपजस कांग्रेसले लिइरहनुपरेको बताउँदै जताततै आममानिस निराश भएको कतै उत्साह नभटिएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, ‘जता पनि, जसले पनि कांग्रेसलाई गाली नै गरिरहेको देखिन्छ । हुन पनि आम मान्छेको जीवन समस्यै समस्यामा छ । समाज बेरोजगारी छ, पारिवारिक विचलन छ, देशमा जे भइरहेको छ, त्यसको अपजस जत्ति सबै कांग्रेसलाई आइपरेको छ । मानौँ कि कांग्रेसबाहेक अरू सबैले ठिकठाक गरिरहेका छन् ।’

यस्तै, केन्द्रीय सदस्य भीम पराजुलीले आफैँ पार्टी सम्मिलित सरकारले कांग्रेसलाई छानीछानी दुःख दिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसलाई छानीछानी दुःख दिने गृहमन्त्रीको नियतबारे पनि समीक्षा हुनुपर्छ । सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरादेखि अरू माओवादी नेताहरू पनि पोलिएका छन् । उनलाई न पक्राउ गरिन्छ, न बयान लिइन्छ, न कुनै मुद्दा चल्छ ।’

केन्द्रीय सदस्य राजीव ढुंगानाले यो सरकार जनताको हो भनी कसरी प्रत्याभूति दिलाउने के छन् आधार ? भन्दै प्रश्न गर्नुभएको थियो । उहाँले सरकार कसरी गइरहेको छ यसको गम्भीर समीक्षा हुनुपर्ने माग गर्दै भन्नुभयो, ‘यो सरकार जनताको सरकार हो भन्ने प्रत्याभूति दिने गरी आफ्ना काम कारबाही अघि बढाउने कि नबढाउने ?, सरकारले गरेका एक–दुई कामका जस प्रचण्डजीको पार्टीले लिने, सिंगो सरकारको असफलताको भारी कांग्रेसले बोक्नुपर्ने गरी अगाडि बढ्ने हो भने यो सरकारमा कांग्रेसको सहभागिताको के अर्थ ? यसबारे गम्भीर र निर्ममतापूर्वक समीक्षा गर्ने बेला आएको छ ।’

राप्रपासँगको समीकरण आवश्यक
बैठकमा कोशी प्रदेशमा सरकारसम्बन्धी देखिएको अन्योल अन्त्य गर्नुपर्नेमा पनि कुरा उठेको छ । केन्द्रीय गठबन्धनसँग बहुमत नभएको भन्दै राप्रपालाई समेत गठबन्धनमा सहभागी गरेर नयाँ समीकरण बनाइनुपर्ने धारणा नेताहरूले राखेका थिए । कोशी प्रदेशसभा सदस्यसमेत रहनुभएका केन्द्रीय सदस्य भीम पराजुलीले राप्रपासँग मिलेर नयाँ समीकरण बनाइदिन माग गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘कोशीमा राप्रपासँग तालमेल नगरी अघि बढ्दा अस्थिरता दोहोरिनेछ भनेर अवगत गराएको थिएँ, कोशी प्रदेशमा सरकारको स्थिरता खोज्ने हो भने राप्रपासँग निर्णायक वार्ता अघि बढाएर नयाँ समीकरण निर्माण गर्नुपर्छ ।’

आइतबारको केन्द्रीय समिति बैठकमा महासमिति बैठकको प्रभावकारिता, पार्टी कार्यक्रमको समीक्षाका साथै समसामयिक विषयमा धारणा आएका प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । आइतबारको बैठकमा ३२ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । आइतबारको बैठकमा केन्द्रीय सदस्यहरू अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, शिवप्रसाद हुमागाईं, कर्णबहादुर बुढा, रामजनम चौधरी, रमा कोइराला (पौडेल), राजीव ढुंगाना, राजेन्द्रकुमार केसी, विनोदकुमार चौधरी, ई मोहन आचार्य, रंगमती शाही, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), विद्यादेवी तिमिल्सिना, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र आमन्त्रित सदस्य नारायणी रायमाझीले आ-आफ्नो धारणा राख्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आइतबारसम्म ७४ जनाले आ-आफ्नो धारणा राखेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी कार्यालय सानेपामा असोज ४ देखि जारी रहेको छ । केन्द्रीय कार्यसमिति बैठक सोमबार पुन ११ बजे बस्ने कांग्रेसले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?