माओवादी केन्द्रकी नेतृ माया बलको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलको निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत बलको शनिबार राति साढे ८ बजे निधन भएको हो ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अच्युतम काफ्लेका अनुसार ५३ वर्षीया बल तीन वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित हुनुहुथ्यो ।

सर्लाहीको हरिवन नगरपालिका-९ नयाँरोड घर हुनुभएकी बलको स्वास्थ्य अवस्था जटिल बनेपछि दुई साताअघि उहाँलाई काठमाडौं लगिएको थियो । उपचारका लागि उहाँलाई केएमसीमा भर्ना गरिएको थियो ।

०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधिमा विजयी भएकी बल ०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेकी थिइन् ।

१० वर्षे जनयुद्धमा उनले सर्लाहीसँगै सिन्धुली, महोत्तरी, रौतहट लगायतका जिल्लामा रहेर काम गरेकी थिइन् । तीन वर्षअघि क्यान्सर भएको पुष्टि भएपछि सर्लाही जिल्ला पार्टीले उनको उपचारका लागि पहल गरेको थियो ।

त्यतिबेला जिल्ला पार्टीले उहाँलाई एक वर्षसम्म औषधि खर्चका लागि मासिक ५० हजार रुपैयाँ सहयोगसमेत गरेको थियो । बलका श्रीमान, तीनवटी छोरी र एउटा छोरा हुनुहुन्छ ।

उहाँको पार्थिव शरीर आज काठमाडौंबाट सर्लाही लैजाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?