जुम्लाका किसानले गर्न थाले मार्सी धानको बिमा

हिमालय टाइम्स
Read Time = 4 mins

-विजय रावत

जुम्ला । जुम्ली काली मार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्नका लागि जुम्लाका किसानले बिमा गर्न थालेका छन् । यहाँको पातारासी–३ का किसान कृष्णबहादुर महताराले दुई हजार ७२५ वर्गमिटर जग्गामा मार्सी धान रोप्नुभएको छ ।

दुई साताअघि मात्रै प्रिमियमबापत ३३५ रुपैयाँ तिरेर उहाँले सो खेतीको बिमा गर्नुभएको हो । अब उक्त मार्सी धान नभित्र्याउँदासम्म केही क्षति भए बिमाबापत २६ हजार पाँच सय रुपैयाँ किसान महताराले पाउनुहुनेछ । सोही वडाका  पदमबहादुर महताराले पनि ३.८४ रोपनी जग्गामा लगाएको मार्सी धानको बिमा गर्नुभएको छ । २६० रुपैयाँ प्रिमियम रकम तिरेर बिमा गरेका किसानले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउनेछन् । मार्सी धान मुख्यरूपमा कर्णाली प्रदेशको जुम्लामा मात्रै उत्पादन हुने गर्छ  । केही वर्षयता मुलुकभित्र र बाहिरसमेत माग बढेपछि यसको उत्पादन बढाउन र किसानलाई खेतीतर्फ आकर्षण गर्न पहिलोपटक बिमा कार्यक्रम ल्याइएको हो ।

मार्सी धानमा रोग किराको संक्रमण हुनुका साथै प्राकृतिक प्रकोपका कारण उत्पादनमा समेत कमी आउन थालेको किसान बताउँछन् । बिमा सुरु भएपछि किसानले ढुक्कसँग खेती गर्न सक्ने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख दिपदर्शन फडेराले जानकारी दिनुभयो । कम्पनीका अनुसार धान फल्ने विश्वकै उच्च स्थान छुमचौर जिउलोका किसानले मार्सी धानको बिमा गरेका छन् ।

छुमचौरमा कृषि अनुसन्धान केन्द्र विजयनगरले ६ जातको मार्सी धान रोपेको छ । दुई हजार ८५० मिटर उचाइमा फल्ने मार्सी धानको पहिचान बचाउन पनि बिमा थालिएको कम्पनीले जनाएको छ । कृषि क्षेत्रको बिमाका लागि सरकारले ८० प्रतिशत रकम बेहोर्दै आइरहेको छ  । बाँकी २० प्रतिशत रकम बेहोर्ने गरी छुमचौरका १६ जनाले मार्सी धान खेतीको बिमा गरेको शिखर बिमाले जनाएको छ ।

मार्सी धान जुम्लाको ब्रान्ड भएकाले बिमा कार्यक्रम सुरु गरिएको छ । जुम्लामा प्रतिरोपनी मार्सी धानखेती गर्न किसानको चार हजार ९६५ रुपैयाँ खर्च हुने जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । बिमाबापत किसानले सरकारले बेहोर्ने रकम कटाएर प्रतिरोपनी ५० रुपैयाँका दरले प्रिमियम तिरिरहेको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले बताउनुभयो । जिल्लाभर झण्डै तीन हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब १५ सय हेक्टरमा काली मार्सी धानको खेती हुने गरेको कार्यालयले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?