तरकारी र मकै बालीमा रोग र किराको प्रकोप

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 9 mins

म्याग्दी । पाँच महिनादेखिको खडेरी, माटोमा अम्लीयपनाको वृद्धि र वन जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढ्दा म्याग्दीका किसानहरुले लगाएको तरकारी, फलफूल र मकै बालीमा रोग र किराको प्रकोप देखिएको छ ।

लामो समयको खडेरीका कारण गहुँबालीमा क्षति व्यहोराका यहाँका किसानहरु मकै बालीमा फौजी किरा र तरकारी तथा फलफूल खेतीमा औंसालगायतका रोगहरु देखिए पछि चिन्तित बनेका हुन् ।

यहाँका किसानले लगाएको फलफूलमा औसा, केरामा खपटे गवारो र मकैवालीमा फौजी किराको प्रकोप देखिएको स्थानीय तहका कृषि प्राविधिकहरुले बताएका छन् । अत्यधिक रासायनिक मलको प्रयोगका कारण ग्रामीण क्षेत्रका खेतबारीको माटोमा अम्लियपना बृद्धि हुँदा तरकारी, फलफूल र खाद्यान्न वालीमा रोग किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, वारी भरी फलेका काँक्रा, घिरौला, गोलभेडालगायतमा औंसा, घोगा लाग्न थालेका मकैमा फाैजी किरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेकाे कृषि प्राविधिकहरुको भनाइ छ ।

प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औसा कीराको संक्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन् । किसानले लगाएको काँक्रा र पाक्न लागेका आरु, आरुपखडामा पनि औसा कीराको व्यापक सङ्क्रमण भेटिएको छ ।

मकैबालीमा अमेरिकन फौजी कीरा र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । कीराको सङ्क्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेतसमेत गराइएको कृषि प्राविधिकहरुले बताएका छन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ । यसैगरी गोलभेडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेको मालिका गाउँपालिका वडा नं ६ उपल्लो दरवाङका कृषक सुजन पौडेलले बताउनुभयो ।

म्याग्दी जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी किराले क्षति पुर्‍याएको छ । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायतका क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप बढेको हो ।

घोवा हाल्न लागेका मकैका बोटमा फौजी किराको आक्रमण बढी भएकोले बोट नै सकिन थालेको बेनी नगरपालिका-२ का कृषक भीमबहादुर रिजालले बताउनुभयो । उहाँका अनुसार विषादीलेसमेत फाैजी कीराको आक्रमण रोकिन सकेको छैन ।

बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरलगायतका स्थानका किसानले लगाएका सयौँ रोपनीको मकै बालीमा फौजी कीराको प्रकोप बढेको कृषि प्राविधिकहरुले बताएका छन् । मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र किराको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी व्यहोर्न परेको बताउनुभयो ।

फौजी कीराको प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । यहाँका किसानले परम्परागत रुपमा लगाउँदै आएको मकैबालीमा फौजी कीराको आक्रमण बढी छ । जिल्लाको ज्यामरुककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी किराको आक्रमण बढेको र बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ ।

प्रायः सुख्खा मौसममा देखिने फाैजी किरा पछिल्लो समय वर्षा भैरहँदा पनि आक्रमण बढेको कृषि प्राविधिक बताउँछन् । फौजी कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पुर्‍याउने कृषि प्राविधिक बताउँछन्

यसैगरी म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् ।

केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोटहरु सुक्न थालेका छन् ।

जिल्लाको बेनी नगरपालिका-२ बगरफाँट, खबराका साथै मङ्गला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका छन् । त्यसैगरी डढुवा रोगका कारण आलुको बोट सुक्न थालेपछि किसानहरुले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधी प्रयोग गरेपनि रोगको प्रकोप कम नभएको बरु रातो कमिला समेत देखिन थालेको बगरफाँटका कृषक खीमबहादुर कार्कीले बताउनुभयो ।

बगरफाँटका कृषक बेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको बताउनुभयो । यहाँको सिङ्गो गाउँका कृषक केरा खेतीमा संलग्न छन् । सुरुवातमा सामान्य देखिए पनि केही समय पछि भने खेतीमा ठूलो क्षति पुर्‍याएको उनको भनाइ छ ।

आफ्ना करिब १० रोपनी धान फल्ने खेतमा केरा खेती गर्नुभएको दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताउनुभयो । हजारी जातको केरा खेतीबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उहाँले बताउनुभयो । “झ्याङ भएको केरामा किरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ । त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।” उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाई गर्ने र कृषि प्राविधिकको सिफारिसमा किटनाशक औषधि छर्कदै आएको कृषक थापाले जानकारी दिनुभयो ।

रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आउनुभएका खबराका अर्का कृषक शोभित शर्माले बताउनुभयो । “लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ,”उहाँले भन्नुभयो ।

धान फल्ने खेतमा केरा खेती गरेका यहाँका किसानहरु धमाधम केराका बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि मारमा परेका छन् । उनीहरुले स्थानीय सरकारसंग सहुलियत र सहयोगको मागसमेत गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?