समानुपातिक प्रणाली शीर्ष नेताहरूको तजबिजमा सीमित, दलभित्र तीव्र असन्तुष्टि

अनिल क्षेत्री
Read Time = 15 mins

काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीमा समानुपातिक सांसद सिफारिसप्रति तीव्र विवाद देखिएको छ । समानुपातिक प्रणाली सीमान्तकृत, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको लगायतका क्षेत्रबाट संसद्मा प्रतिनिधित्व सुनिश्चित गराउनका लागि व्यवस्था गरिए पनि दुरुपयोग बढ्दो क्रममा देखिएको छ । प्रतिनिधिसभामा नेताका आफन्त, पहुँचवाला, बिचौलियादेखि व्यापारीसम्मको प्रवेश देखिएको छ । खास अवसर पाउनुपर्नेको स्थानको दुरुपयोग गर्दै उनीहरू संसद्मा पुग्न सफल भएका छन् । यसकारण हरेक राजनीतिक दलहरूमा समानुपातिक सांसदको नाम छनोटप्रति विवाद देखिएको हो ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा नेताका आफन्त, पहुँचवाला र आफन्तको उपस्थिति देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजूसहित गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँण, कांग्रेस नेता स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारी पनि सांसद बन्नुभएको छ । समानुपातिक नाम छनोटमा आफन्तवाद हाबी भएपछि भएको विवादका कारण कांग्रेसले आयोगले तोकेको समयभन्दा १० घण्टापछि राति २ बजे नाम पेस गर्‍यो । त्यो पनि मधेश प्रदेशमा आवश्यकभन्दा बढी अल्पसंख्यकको नाम राखेको थियो । संघीय संसद्मा समानुपातिकतर्फ तीन सिटमा ६ क्लष्टरबाट ६ पुरुष आकांक्षी भएपछि कांग्रेसमा तीव्र विवाद भयो । लामो कसरत र विवादपछि तीन पुरुषको कोटामा डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र जीवन परियार सिफारिस भए पनि असन्तुष्टि कायमै छ । संघमा मात्रै होइन, प्रदेशको समानुपातिक सूचीमा पनि कांग्रेसमा विवाद भयो । प्रदेश १ का दुई, मधेश, बागमती र लुम्बिनीको एक-एक पुरुष नाम छान्न विवाद भएको हो ।

नेकपा एमालेले प्रतिनिधिसभाका समानुपातिकमा रोजेका कतिपय व्यक्तिहरू नेताका आफन्त र विवादास्पद समेतलाई अवसर दिलाएको भन्दै नेता कार्यकर्तामा असन्तुष्टि छाएको छ । एमालेले बुझाएको समानुपातिक सांसदको सूचीमा एमाले उपाध्यक्षसमेत रहनुभएका रामबहादुर थापाकी श्रीमती नैनकला थापादेखि महासचिव शंकर पोखरेलकी बहिनी मेनकाकुमारी पोखरेलसम्म हुनुहुन्छ । यस्तै, एमालेले व्यवसायी तथा प्रभु गु्रपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई पनि समानुपातिक सांसद बनाएको छ । एमालेका पूर्वसचिवसमेत रहनुभएका नेता भीम आचार्यकी पत्नी नीरादेवी खनाल आचार्य प्रदेश १ को समानुपातिक सांसदका लागि छनोट हुनुभएको छ । विवादास्पद छविका इसाई धर्म प्रचारक एकनाथ ढकालको नाम सिफारिसले एमालेभित्र विवाद चर्किँदै गएको छ । स्मरणीय के छ भने एकनाथ अहिले पनि नेपाल परिवार दलका अध्यक्ष हुनुहुन्छ । परिवार दलको गत वर्ष भएको तेस्रो महाधिवेशनबाट ढकाल अध्यक्षमा तेस्रोपटक निर्विरोध निर्वाचित हुनुभएको थियो । परिवार दलले यसपालि समानुपातिकको बन्दसूची नपठाए पनि पार्टी अध्यक्ष नै अर्को पार्टीको समानुपातिकबाट सांसद बन्न सफल हुनुभएको छ । ढकाललाई सांसद बनाएको प्रति पार्टीभित्र व्यापक विरोध भए पनि सर्वशक्तिमान अध्यक्ष केपी ओलीकै रुचिमा यो निर्णय भएको हुँदा कसैले पनि खुलेर विरोध गर्न सकेका छैनन् । ढकालले चार वर्षअघि ‘होली वाइन’ काण्ड मच्चाएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत विवादमा पार्नुभएको थियो । तल्लो पंक्तिका कार्यकर्ताहरूले भने सामाजिक सञ्जालमा तीव्र आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालको आलोचना र प्रश्नहरूले अध्यक्ष ओलीनिकट नेताहरू घेराउमा परेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय भइरहने ओलीनिकट एमाले नेता गोकुल बाँस्कोटा पनि घेराउमा पर्नुभएको छ । पार्टीका नेता तथा कार्यकर्ताले प्रश्नको वर्षा गर्न थालेपछि नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत एमालेका एकनाथको योगदान थाहा नभएको र आफूले ढकाललाई नचिनेको जवाफ दिँदै भन्नुभएको छ, ‘एकनाथको योगदान मलाई थाहा छैन र म चिन्दिनँ पनि । तर, समानुपातिक सिष्टम होइन, नेताहरूको तजबिज रहेछ, त्यो पक्का हो अब था भो ।’

परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक तर्फबाट सांसद बनाउने निर्णय गरेपछि एमाले नेता भीम रावलले पनि प्रश्न उठाउनुभएको छ । आइतवार ट्वीट गर्दै रावलले भन्नुभएको छ, ‘जापान सरकारको समेत छानबिनमा परेको होली वाइनको झोली भर्ने तरिका । एकसाथ एउटा दलको अध्यक्ष र अर्को दलको समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाको सदस्य, क्या चमत्कार ∕ राजनीतिमा नैतिकताको खडेरी ? स्मरणीय छ, ढकालको विवाह पनि विदेशी महिलासँग भएको थियो ।’

ढकालले अमेरिकामा कर छलीको आरोपमा दुई वर्ष र कोरियामा जासुसीको आरोपमा तीन वर्ष कारावासको सजाय भोगेको रावलले उल्लेख गर्नुभएको छ ।
आयोगमा पठाइएको सूचीअनुसार माओवादी केन्द्रमा पनि नेताका आफन्त सांसद बनेका छन् । उपमहासचिव जनार्दन शर्माकी बहिनी नारायणी शर्मा समानुपातिक सांसद बन्नुभएको छ । माओवादी नेता शिवपूजन यादवकी आफन्त मीना यादव, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलकी श्रीमती उर्मिला माझी पनि सांसद बन्नुभएको छ । माओवादीका उपमहासचिव शक्ति बस्नेतकी आफन्त ज्ञानु बस्नेत पनि समानुपातिक सांसद बन्नुभएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिक सांसदमा मधेसी महिला कोटाबाट चयन हुनुभएकी मीना यादव माओवादी नेता शिवपुजन राय यादवकी श्रीमती हुनुहुन्छ । यादव समानुपातिक सांसदमा चयन भएपछि सर्लाहीका माओवादीका नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईकी श्रीमती सुशीला श्रेष्ठ पनि समानुपातिक सांसद बन्नुभएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नी भाउजू बबिता राउतलाई प्रदेशसभा सदस्य बनाउनुभएको छ । मधेश प्रदेशको समानुपातिक सांसद चयनमा जसपामा पनि विवाद देखिएको हो । प्राप्त मतको आधारमा निर्वाचन आयोगले मधेश प्रदेशमा जसपालाई सात सिट दिएको छ । तर, नाम चयनमा विवाद भएपछि अध्यक्ष उपेन्द्र यावदले आयोगमा १० जनाको नाम बुझाउनुभएको छ । जसपाले आयोगमा बुझाएको पत्रमा भने समावेशी समूह मिलाई उम्मेदवारहरूको नाम छनोट गरिएको उल्लेख गरे पनि सिफारिसमध्ये तीन उम्मेदवार सांसद बन्न वञ्चित हुने निश्चित छ ।

राप्रपाबाट पनि अधिकांश समानुपातिक सांसद पहुँचवालाहरू नै बनेका छन् । पूर्वअध्यक्ष पशुपति शमशेर राणा, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री रोशन कार्की जस्ता शीर्ष नेताहरू नै समानुपातिक सांसद बन्नुभएको छ । समानुपातिक नाम चयनमा राप्रपाभित्र पनि तीव्र विवाद देखियो । समानुपातिकमा सातमध्ये पाँचजना महिला पठाएको राप्रपामा बाँकी दुईजना पुरुषको कोटामा पाँचजना आकांक्षी भएपछि तीव्र विवाद भयो । दुईजना पुरुषको कोटामा एकजना पशुपति शमशेर राणाको नाममा विवाद थिएन । तर, दोस्रो पुरुषको कोटामा डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, ऋषिबाबु परियार र प्रमोद साहले दाबी गर्नुभएको थियो । दिनभरको छलफल र विवादपछि महाधिवेशनमा आफूलाई सहयोग गर्नुभएका डा.लोहनीलाई छोडेर अन्ततः अध्यक्ष राजेन्द्र लिङ्देनले तामाङको नाम सिफारिस गर्नुभयो । विवादकै कारण राप्रपाले आयोगले तोकेको समयभन्दा निकैपछि मध्यरातमा मात्र समानुपातिक सांसदको नाम सिफारिस गरेको थियो ।

राजनीतिक दलहरूले दलहरूले आफैँ निर्धारण गरेको प्राथमिकता मिचेर प्रतिनिधिसभा र प्रदेशसभामा क्रमसंख्याको तलतिर भएका नाम आयोगमा पेस गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसद छनोटको विषयलाई लिएर विवाद सृजना भएको छ । पार्टीले पाएको १३ सिट समानुपातिकमा नाम सिफारिस गर्दा आफ्नालाई सिफारिस गरिएको भन्दै उक्त पार्टीका कतिपय नेताले सामाजिक सञ्जालमै गुनासो गरेका छन् । खसआर्य पुरुषतर्फ दोस्रो नम्बरमा रहे पनि आफूलाई सांसद नबनाइएको भन्दै समानुपातिक तर्फका उम्मेदवार गणेश कार्कीले विरोध जनाउँदै सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘म नि झण्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।’ समावेशी दलित समूहको पहिलो नम्बरमा आफ्नो नाम भएर पनि आफू छनोट नभएको भन्दै कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नै विरोध जनाउनुभयो । दलित महिलाबाट पहिलो नम्बरमा रहनुभएकी रोक्कालाई छनोट नगरेर उक्त पार्टीले दलिततर्फ पहिलो र दोस्रो नम्बरमा रहेका पुरुषलाई नै छनोट गरेपछि विरोध भएको हो ।

प्रतिनिधिसभामा तीन जोडी श्रीमान् श्रीमती
प्रतिनिधिसभामा तीन जोडी श्रीमान श्रीमती नै सांसदको रूपमा देखिने भएका छन् । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रत्यक्ष निर्वाचित हुनुभएको छ । उहाँकी पत्नी आरजू राणा देउवा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सांसद बन्नुभएको छ । नेकपा एमालेबाट धनुषा ३ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचित जुली महतो र धनुषा ४ बाट प्रत्यक्ष निर्वाचित रघुवीर महासेठ श्रीमान् श्रीमती हुनुहुन्छ । अघिल्लो संसद्मा पनि महतो र महासेठ दुवैको प्रतिनिधिसभामा प्रतिनिधित्व रहेको थियो । त्यो बेला महासेठ प्रत्यक्ष निर्वाचित भएर आए पनि महतो समानुपातिकबाट आउनुभएको थियो । प्रतिनिधिसभामा देखिने अर्को जोडी हो जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईको । राई सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको छ भने उहाँकी श्रीमती सुशीला श्रेष्ठ प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?