फ्रेण्डसिप ड्रागन बोट रेस फेस्टिबल हुने

Read Time = 2 mins

काठमाडौं । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा नेपाल-चीन ‘फ्रेण्डसिप ड्रागन बोट रेस फेस्टिबल’ हुने भएको छ । आगामी असार ८ र ९ गते पोखरामा पहिलोपटक उक्त फेस्टिबल आयोजना हुन लागेको बोर्डले जनाएको छ । पोखरा पर्यटन परिषद, नेपाल चीन ओभरसिज एसोसिएसन सहआयोजक रहनेछन् । उक्त कार्यक्रमका लागि बिहीबार बोर्ड र चिनियाँ दूतावासका अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ फेस्टिबल आयोजना गर्न लागिएको बोर्डले जनाएको छ ।

महानगरपालिकाका मेयर धनराज आचार्य र बोर्डका सदस्य मदन आचार्यको उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन डिसिएम वाङ जिनले हस्ताक्षर गर्नुभएको छ ।
रेसका लागि चीनबाटै आठवटा विशेष खालका बोटसहित अन्य सहभागी नेपाल आउने र फेस्टिबलमा नेपालका सातवटै प्रदेशबाट सहभागिता गराइने आयोजकले जनाएको छ ।

चिनियाँ दूतावासका डिसिएम वाङ जिनले पोखरा चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै फेस्टिबलका माध्यमबाट दुवै देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप प्रगाढ हुने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?