निर्वाचनमा ५.०६ प्रतिशत मत बदर, प्रत्यक्षभन्दा समानुपातिकमा बढी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको बताएको छ । सोमबार निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुल खसेको मतको ५.०६ प्रतिशत मत बदर भएको बताउनुभएको हो । यस क्रममा प्रदेशसभाको समानुपातिक तर्फको मत सबैभन्दा बढी ६.५५ प्रतिशत बदर भएको भट्टराईले जानकारी गराउनुभयो ।

त्यस्तै, सबैभन्दा कम मत बदर प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भएको उहाँले बताउनुभयो । प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको बदर मत प्रतिशत ४.०७ प्रतिशत रहेको उहाँले बताउनुभयो । त्यस्तै, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा मत बदर भएको उहाँले भन्नुभयो । उपसचिव भट्टराईका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ हेर्दा सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ४.१६ प्रतिशत मत बदर भएको छ । ‘मतदानमा विगतको तुलनामा र आयोगले गरेको अपेक्षाभन्दा कम मतदान भएको हामीले पायौँ ।

समग्रमा हेर्ने हो भने ६१.४१ प्रतिशत मतदान भयो । सबैभन्दा बढी मधेश प्रदेशमा ६५.७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७.८० प्रतिशत मतदान भयो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधिसभातर्फ ६१.४१ प्रतिशत मतदान भएको थियो । त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ६१.३५ प्रतिशत, प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१.३६ प्रतिशत र प्रदेशसभाको समानुपातिक प्रणाली तर्फको ६१.३१ प्रतिशत मतदान भएको थियो । हामीले कुल खसेको मतलाई सदर र बदर भनेर पनि हामीले तथ्यांक निकालेका छौँ ।

कुल खसेको मतको ५.०६ प्रतिशत बदर भएको हाम्रो तथ्यांकले देखाएको छ । त्यसमा सबैभन्दा बढी प्रदेशसभाको समानुपातिकतर्फ मत बदर भएको देखिन्छ,’ भट्टराईले भन्नुभयो । आयोगका उपसचिव भट्टराईका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको छ भने प्रतिनिधिसभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ । त्यस्तै, प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४.०७ प्रतिशत र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६.५५ प्रतिशत मत बदर भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?