काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय कर दिवस २०८१ का अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यसँग सिएनआईले मंगलबार गरेको ‘परिसंघमा परिचर्चा’ कार्यक्रममा कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले कर प्रणालीमा सुधार गरी अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले करको दर नभई दायरा विस्तार गर्नुपर्ने भन्दै लगानी विस्तार एवं औद्योगिक वातावरण बढाउन नीतिगत स्थायित्व हुनुपर्ने बताउनुभयो ।
सिएनआईको उद्योग तथा राजस्व समिति सभापति राहुल अग्रवालले करसम्बन्धी विषयमा प्रस्तुतीकरण दिँदैै कर प्रणालीमा रहेका विभिन्न द्विविधा हटाउनुपर्ने बताउनुभयो । करका प्रावधान सरल, सहज तथा पारदर्शी बनाउनुका साथै करका प्रावधानको व्याख्यामा एकरूपता ल्याउन, द्विविधा हुने वा फरक व्याख्या हुने विशिष्टीकृत क्षेत्रमा करका प्रावधानको ‘व्याख्यात्मक टिप्पणी’ वा उदाहरणसहित निर्देशिका तथा कार्यविधि बनाइनुपर्ने उहाँको भनाइ थियो । निश्चित क्षेत्रलाई व्यवस्थापन तथा नियमन गर्न बनेका निश्चित ऐनले सो क्षेत्रलाई दिने भनेका सुविधा तथा सहुलियत आर्थिक वा करसम्बन्धी कानुनमा समेत समावेश गरी उद्योग तथा व्यवसाय प्रवद्र्धनमा सहयोग गरिनुपर्ने, आयातित वस्तुमा लगाउनुपर्ने लेवल भन्सार बिन्दुअगावै लगाउनुपर्नेमा परिसंघले जोड दिएको छ । अवैध कारोबारका कारण उद्योगीहरू प्रभावित भएको र त्यसको असर सरकारको राजस्वमा समेत परेको भन्दै अवैध कारोबार नियन्त्रण गर्न प्रभावकारी बनाउन पनि सिएनआईले आग्रह गरेको छ ।
विभागका महानिर्देशक आचार्यले सरकारले कर संकलन गर्ने मात्र नभई लगानी अभिवृद्धिसमेत गर्ने भन्दै करका दर नभई दायरा विस्तार गर्ने नीति सरकारले लिएको बताउनुभयो । अवैध कारोबार नियन्त्रणका लागि निजी क्षेत्रले समेत सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । छलफलमा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख राजु प्याकुरेल, सिएनआईका उपाध्यक्षद्वय राजबहादुर शाह, रोहित गुप्ता, परिसंघ गभर्निङ काउन्सिल सदस्य उद्योगी विजय शाह, शशिकान्त अग्रवाल, विभिन्न समितिका सभापति तथा उद्योगी व्यवसायीको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच