गुल्मी । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले संविधानमा लेखिएका दलित हक अधिकार पूर्ण रुपमा कार्यान्वयन नहुँदा दलित समुदाय अन्यायमा पर्ने गरेको बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको अन्तरक्रिया तथा छलफलमा पुर्कुटीले पहिलेको तुलनामा अहिले जातीय भेदभाव र छुवाछूतका घटना कम सुनिए पनि पूर्ण रुपमा भने अन्त्य नभएको उहाँले बताउनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग दलित समुदायका अधिकांश विषय ठोक्किन आउने भएकाले उनीहरुको हक अधिकारका र संरक्षणका लागि बढी क्रियाशील बन्नुपर्ने बताउनुभयो । उहाँले दलित समुदायका व्यक्तिहरु आफुलाई हिनताबोध हुने नाम र थर सच्याउन आए राष्ट्रिय दलित आयोगले सूचीकृत गरेका थरहरु भित्र रहेर निर्वाध रुपमा प्रशासनले सहजीकरण गरिदिन आग्रह पनि गर्नुभयो । जातीय भेदभाव र छुवाछूत जस्तो कुप्रथाको अन्त्यका लागि राष्ट्रिय दलित आयोगले सरकारलाई विभिन्न तवरबाट झकझकाउने गरेको बताउनुभयो ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले समाजमा पौराणिक समयदेखि जरा गाडेर बसेको जातीय विभेदलाई निमिट्यान्न पार्न दलित र गैरदलित दुवै लाग्नुपर्ने बताउनुभयो । जरा गाडेर बसेको विभेदलाई जरैदेखि उखुल्न अहिलेको पुस्ताले हिम्मत गर्नुपर्ने भन्दै उहाँले दलित समुदायले पनि आफ्नो शिक्षा, स्वास्थ्य र रोजगारमा क्षमता अभिवृद्धि गर्दै सक्षम बन्नतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले जातीय विभेदको अन्त्यका लागि आफ्ना संयन्त्रहरु प्रयोग गरी समुदायस्तरमा चेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जिल्ला प्रशासन कार्यालयबाट थर सच्चाउने लगायतका विषयमा दलित समुदायका व्यक्तिलाई हुँदै आएको सहजीकरणका विषयमा जानकारी गराउनुभयो । प्रहरी उपरीक्षक राजन भुजेलले यस जिल्लामा जातीय विभेदका घटनाहरु पछिल्लो दुई वर्षको अवधिमा दर्ता नभएको भन्दै त्यस्ता समस्या आए प्रहरीले उच्च प्राथमिकताका साथ मुद्दा दर्ता गरी कारबाही प्रक्रियालाई अगाडी बढाउने बताउनुभयो ।
कार्यक्रममा सहभागी दलित अगुवाहरुले जातीय विभेद कानुनी र काजगी रुपमा अन्त्य भएपनि व्यवहारिक रुपमा अन्त्य नभएको बताउनुभयो । दलित अगुवा गणेश विश्वकर्मा, कृष्ण विश्वकर्मा, लक्ष्मण परियार, दल बहादुर विश्वकर्मा, पूर्व वडाअध्यक्ष नारायण बराल, कार्यपालिका सदस्य सीता विश्वकर्मा लगायतले संविधानमा लेखिएका हकअधिकार व्यवहारिक रुपमा महसुस हुने गरी लागु गर्न आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच