काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसका दुई र माओवादी केन्द्रका एकजना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । कैलाली जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेमराज भट्टका अनुसार कांग्रेस उम्मेदवार भुलसहित दुई जनाको उम्मेदवारी परेकोमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएकी रूपमती । डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार बुधबार थारूले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेस उम्मेदवार भुल निर्विरोध हुनुभएको हो । नेकपा एमालेले भने यसअघि नै कांग्रेस उम्मेदवार भुललाई समर्थन गरेर साझा उम्मेदवार बनाएको थियो । सुदूरपश्चिममा कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको संयुक्त सत्ता गठबन्धन छ । नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवारले फिर्ता नलिएको अवस्थामा पनि कांग्रेस एमालेकी साझा उम्मेदवार भुल निर्वाचित हुने निश्चित थियो ।
कांग्रेस एमाले बाहेकका सबै मत नाउपाले पाए पनि जित्ने सम्भावना नरहेकाले रूपमतीले उम्मेदवारी फिर्ता लिनुभएको हो । जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने प्रावधान छ । २५ जना कुल मतदाता रहेको सुदूरपश्चिममा कांग्रेस एमालेको मत संख्या १३ जना पुग्छ । कांग्रेससँग आठ र एमालेसँग पाँच मत संख्या छ । नाउपासँग सात मतभार रहेकोमा माओवादीसँग तीन, समाजवादी एक र स्वतन्त्र एक मतभार रहेको थियो । कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पदम कलेलको ०७९ साल पुस २३ गते निधन भएपछि पद रिक्त थियो । निर्विरोध निर्वाचित भुललाई निर्वाचित भएको प्रमाणपत्र भने मंसिर १६ गते मात्रै दिइनेछ ।
पुथा उत्तरगंगा-२ को अध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । एमाले–कांग्रेसको सत्तारूढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका एमाले उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएपछि माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको हो । उम्मेदवारको नाम फिर्ता लिने दिन बुधबार बिहान ९ बजेपछि माओवादी केन्द्र बाहेकका उम्मेदवारले नाम फिर्ता लिएका हुन् । यो वडामा माओवादी, एमाले–कांग्रेस गठबन्धन र एक स्वतन्त्रले मनोनयन पत्र दर्ता गराएका थिए । कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिनुभएका जीवन रोकाले माओवादी उम्मेदवार आफन्त पर्ने भएकाले नाम फिर्ता लिएको जानकारी दिँदै भन्नुभयो, ‘हामी एउटै घरको नाता पर्ने हो । माओवादी उम्मेदवार काका नाता पर्नुभयो, भेगीय हिसाबमा पनि एउटै पर्नुभयो । पार्टीले के गर्ने ? भन्ने उसको कुरा हो । गाउँपालिका उपाध्यक्षमा पार्टीकै उम्मेदवार जिताउन लाग्छु । आफ्नो खुसीले उम्मेदवारी फिर्ता लिएको हो, पार्टीले कारबाही गरे स्वीकार्छु ।’ नेकपा एमालेका नेताहरूले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ का वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित नभई दबाबमा घोषणा गरेको आरोप लगाएका छन् । पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा एमाले जिल्ला उपसचिव केसकुमारी तुलाचन कांग्रेसको चुनाव चिहृन लिएर उम्मेदवार बन्नुभएको छ । यहाँ माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढा उपाध्यक्ष उम्मेदवार हुनुहुन्छ ।
स्वामीकार्तिकमा नेकपा एसलाई समर्थन
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार सुनादेवी थापा भोटे (धामी) ले उम्मेदवारी फिर्ता लिनुभएको हो । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । रिक्त पदका लागि सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । नेकपा माओवादी केन्द्रले नेकपा एसका उम्मेदवारलाई समर्थन गर्ने जनाएको छ ।
माओवादीलाई समर्थनसहित नेकपा एसको उम्मेदवारी फिर्ता
रुकुम पूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवारलाई नेकपा एसले समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । दुई दलको सहमतिपछि एकीकृत समाजवादीकी सुनिता बुढामगरले उम्मेदवारी फिर्ता लिएर माओवादीकी उम्मेदवार नरपुरा बुढालाई समर्थन जनाउनुभएको हो । नेपाली कांग्रेसको तर्फबाट नेकपा एमालेकी केशकुमारी तुलाचनले उम्मेदवारी दिनुभएको छ । स्वतन्त्रबाट कोपिला पुन, मोहनभक्त बुढा, भीमकुमारी पुन र श्रीदेवी सुनारको उम्मेदवारी परेको छ ।
जिसस ओखलढुंगाको प्रमुखमा भट्टराई सर्वसम्मत
जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा टेकराज भट्टराई सर्वसम्मत हुनुभएको छ । एमाले र कांग्रेसका बीचमा सहमति हुँदै एमालेले उम्मेदवारी नदिएपछि भट्टराई सर्वसम्मत जिल्ला समन्वय समितिको प्रमुख हुनुभएको हो । एकल उम्मेदवारी परे पनि निर्वाचन कार्यक्रमअनुसार प्रक्रिया पूरा गरिने निर्वाचन अधिकृत तथा निमित्त जिल्ला निर्वाचन अधिकारी विदुर बस्नेतले जानकारी दिनुभएको छ । सर्वसम्मत निर्वाचित प्रमुख भट्टराईलाई मंसिर १६ गते नै निर्वाचित भएको प्रमाणपत्र दिइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डेढ वर्षअघि तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । जिसस ओखलढुंगामा नेपाली कांग्रेसको एकल बहुमत छ ।
कीर्तिपुरको मेयरमा २० जना भिड्ने पक्का
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा २० जना भिड्ने भएका छन् । निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुर नगरपालिकाले सार्वजनिक गरेको अन्तिम नामावली सूचीअनुसार नगरपालिका प्रमुखमा २० जना उम्मेदवार भिड्ने भएका हुन् । मंसिर २ गते भएको मनोनयन दर्ताको क्रममा २० जनाले उम्मेदवारी दर्ता गरेका थिए । तीमध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन आयोगले जानकारी दिएको छ । तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० गते निधन भएपश्चात् त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो । यस्तै, स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाअन्तर्गत वडा नम्बर १ को वडा अध्यक्षमा नौजना चुनाव भिड्ने भएका छन् । वडा नम्बर ४ को वडाध्यक्षमा १२ जनाले चुनाव भिड्ने पक्का भएको छ ।
यसैबीच, स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा मनोनयन दर्ता गर्नुभएका नेकपा एसका उम्मेदवार भानु रिजालको उम्मेदवारी निष्क्रिय भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल आफैँले बुधबार विज्ञप्ति जारी गरी रिजालको उम्मेदवारी निष्क्रिय भएको र माओवादी केन्द्रका उम्मेदवार प्राडा. शिवशरण महर्जनलाई सघाउने उल्लेख गर्नुभएको छ । सोही नगरपालिकाको वडा नं. ४ को वडाध्यक्षमा भने नेकपा एसकी उम्मेदवार रिता खड्काको उम्मेदवारी कायम रहने विज्ञप्तिमा उल्लेख छ । नेकपा एसको तर्फबाट कीर्तिपुरको निर्वाचन संयोजन गर्ने जिम्मेवारी पाउनुभएकी प्रदेश सांसद रमा आलेले वडाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी निष्क्रिय नपारेसम्म मेयरको उम्मेदवारी एकोहोरो निष्क्रिय पार्नुको अर्थ नहुने बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच