
काठमाडौं । ‘निरु शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ प्राडा.देवी नेपाललाई प्रदान गरिने भएको छ । नेपाली तथा असमी दुवै भाषामा बराबर कलम चलाउने बहुमुखी प्रतिभा निरु शर्मा पराजुलीको गतवर्ष निधन भएपछि उहाँका श्रीमान् गोवाहाटी उच्च अदालतका सरकारी वकिल जयन्तकुमार पराजुलीद्वारा स्थापित उक्त पुरस्कार नेपालका स्रष्टा प्राडा.देवी नेपाललाई प्रदान गर्न लागिएको हो ।
असम नेपाली साहित्य सभाद्वारा गठित नव सापकोटा (असम), डा.जीवन राणा (दार्जिलिङ) र चन्द्र भण्डारी (नेपाल) रहेको तीन सदस्यीय प्रतिभा चयन समितिले डा.नेपालको नाम प्रस्ताव गरेपछि सभाले उक्त निर्णय गरेको हो । सिर्जना, समालोचना, बालसाहित्य, सिर्जनात्मक लेखन प्रशिक्षण तथा विभिन्न प्राज्ञिक कर्महरूको उच्च मूल्यांकन गरी डा.नेपाललाई पहिलोपटक यो पुरस्कार प्रदान गर्न लागिएको जानकारी सभाका सभापति दुर्गा खतिवडा, कार्यकारिणी सभापति डा.चिन्तामणि शर्मा र मूलसचिव मदन थापाबाट प्रेषित पत्रबाट प्राप्त भएको छ ।
भारतीय रुपैयाँ ६० हजार (नेपाली एक लाख रुपैयाँ) नगदसहितको उक्त पुरस्कार आगामी डिसेम्बर ५ देखि ८ सम्म उपल्लो असमको गोलाघाट जिल्लामा रहेको सरुपथार सहरमा आयोजना हुने असम नेपाली साहित्य सभाको १६औं महाधिवेशन तथा स्वर्णजयन्ती समापन समारोहमा असम राज्यका मुख्यमन्त्री डा.हिमन्त विश्व शर्मा र सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिङ तामाङ (पिएस गोले) को हातबाट प्रदान गरिने जनाइएको छ ।
असम नेपाली साहित्य सभाले सार्वजनिक गरेको कार्यसूचीअनुसार उल्लिखित चार दिनमा सभाको १६औँ महाधिवेशन तथा स्वर्णजयन्ती समारोहका साथै विभिन्न सांस्कृतिक झाँकीहरूको प्रदर्शन, नेपाली भाषामा एकरूपता सम्बन्धी अन्तर्राष्ट्रिय संगोष्ठी, अन्तर्राष्ट्रिय कविसम्मेलन, राष्ट्रिय युवा साहित्यकार सम्मेलन, सांस्कृतिक साँझ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार अर्पण तथा स्रष्टा सम्मानका साथ भव्य समापनजस्ता कार्यक्रम रहेका छन् ।
उक्त समारोहमा नेपालबाट नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमल निभा, प्राडा.गोविन्दराज भट्टराई, शरच्चन्द्र वस्ती, चन्द्र भण्डारी, विमल वैद्य, दीपक सुवेदी, विष्णु न्यौपाने, डा.गोपीकृष्ण खतिवडा, भगवती ढुंगेल, भरत गुरागाईं बर्बरिक, दुर्गा सिग्देल, तुलसीप्रसाद भट्टराई, प्रिन्स प्रमोद ढकाललगायत अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत प्रतिभा प्राडा.देवी नेपाल र श्रीमती टीका पौडेल अन्य केही साहित्यकारका साथै बिर्तामोडको पञ्चेबाजा समूहको समेत सहभागिता रहने कुराको जानकारी सभाका मूलसचिव मदन थापाले दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच