काठमाडौं । तारकेश्वर नगरपालिकाको आयोजनामा तेस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा ५३ विद्यालयका तीन हजार ४५४ खेलाडीको सहभागिता रहने आयोजक नगरपालिकाले जानकारी दिएको छ । प्रतियोगितामा फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबलटेनिस गरी १० खेलमा प्रतिस्पर्धा हुनेछ ।
फुटबल, भलिबल र कबड्डी तारकेश्वर-९, मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी, एथलेटिक्स हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालय तथा कराँते र उसु तारकेश्वर-९, मनमैजुस्थित अजिमा कबर्डहलमा हुनेछ । तेक्वान्दो तारकेश्वर-६, पैयाँटारस्थित सन फ्लावर एकेडेमी, बास्केटबल तारकेश्वर-१०, मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी, ब्याडमिन्टन तारकेश्वर-१० स्थित जि फोर ब्याडमिन्टन हल र टेबलटेनिस तारकेश्वर-४ स्थित सिर्जना ज्ञान सागर स्कुलमा खेलाइनेछ ।
आयोजक नगरपालिकाका मेयर कृष्णहरि महर्जनले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभालाई प्रस्फुटन गर्न, खेल क्षेत्रबाट एकता एवं मैत्रीपूर्ण भावना अभिवृद्धि गर्न, जिल्ला तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको पूर्वतयारी गर्दै सफलता हासिल गर्न, नगरस्तरीय खेलकुदको संस्थागत विकास गर्न र खेल संस्कृतिको विकास गर्ने उद्देश्यले २०७९ सालदेखि प्रतियोगिताको सुरुवात गरिएको बताउनुभयो ।
प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः एक लाख, ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो । गत संस्करणमा लालीगुराँस नेसनल एकेडेमी टिम च्याम्पियन बनेको थियो । पहिलो संस्करणमा हिमरश्मी पहिलो भएको थियो ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि ३० लाख बजेट विनियोजन गरिएको छ । ‘खेल तारकेश्वरको, सन्देश एकताको’ को भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगिता मंसिर २५ गतेसम्म चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच