काठमाडौं । नेपालको मुख्य पर्यटन सिजनमा पनि पर्यटकको आगमन आशातीत वृद्धि हुन सकेको छैन । पछिल्लो तथ्यांकअनुसार सरकारले निर्धारण गरेको लक्ष्य प्राप्तिसमेत कठिन हुने देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बर २०२४ मा एक लाख १४ हजार पाँच सय पर्यटक नेपाल आएका छन् । यो संख्या यसपालि अघिल्लो ‘पिक सिजन’भन्दा कम हो । त्यति मात्र होइन, सन् २०१९ को यसै महिनाको तुलनामा समेत कम पर्यटक आएको बोर्डको तथ्यांकले देखाएको छ ।
सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार ५३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन् २०२४ अन्त्य हुन अब एक महिना मात्र बाँकी छ । डिसेम्बरमा करिब ७० हजार पर्यटक आउने बोर्डले अनुमान गरेको छ । यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख १५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने देखिन्छ ।
नोभेम्बरमा मात्रै एक लाख १४ हजार ५०१ पर्यटक आएका छन् । यो अघिल्लो वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा पाँच दशमलव ४० प्रतिशत बढी हो । उक्त वर्षको नोभेम्बरमा एक लाख आठ हजार ६३० पर्यटक भित्रिएका थिए ।
सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार ३०३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका बोर्डको तथ्यांकमा उल्लेख छ । बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झण्डै १० प्रतिशत मात्रै बढ्ने देखिएको जानकारी दिनुभयो । सन् २०२३ मा १० लाख १४ हजार ८७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका उहाँले जनाउनुभयो । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेले उल्लेख गर्नुभयो ।
संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठन (युएनडब्लुटिओ)को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ । विभिन्न कारणले सन् २०२४ मा प्रक्षेपण गरिएको पर्यटक आगमन लक्ष्य भेट्टाउन कठिन भएको बोर्डका निर्देशक लामिछानेले उल्लेख गर्नुभयो । ‘हालसम्मको पर्यटक आगमन हेर्दा विश्वव्यापी रूपमा नेपालको पर्यटक आगमन सकारात्मक देखिन्छ’, उहाँले भन्नुभयोे, ‘पर्यटनका विभिन्न सूचकलाई विश्लेषण गर्दा सन् २०१९ को भन्दा बढी पर्यटक आउने प्रक्षेपण गरिएको थियो । लामो समयसम्म बोर्डको अन्तर्राष्ट्रिय प्रवद्र्धन रोकिनु, विमान दुर्घटना र प्राकृतिक विपत्तिलगायत कारणले पर्यटक आगमन सुधार हुन नसकेको अनुमान गरिएको छ ।
करिब ६ महिना बोर्डको अन्तर्राष्ट्रिय प्रवद्र्धन रोकिनु, बीचमा विमान र हेलिकप्टर दुर्घटना हुनु, असोजको ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरो पछिका घटना र गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १० घण्टा उडान बन्दलगायत कारणले अपेक्षित रूपमा पर्यटक आउन नसकेका बोर्डले विश्लेषण गरेको छ । यद्यपि, पदयात्रामा आउने पर्यटक आगमन भने सन्तोषजनक रहेको उहाँको भनाइ छ ।
बोर्डको विवरणमा नोभेम्बरमा भारतबाट १९ हजार ९१५ पर्यटक आएका छन् । संयुक्त राज्य अमेरिकाबाट १० हजार ९८१ र चीनबाट नौ हजार ४५८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । संयुक्त अधिराज्य बेलायतबाट ६ हजार ५११, बंगलादेशबाट पाँच हजार १४८, अष्ट्रेलियाबाट चार हजार ८२९, थाइल्याण्डबाट चार हजार २६२, श्रीलंकाबाट चार हजार ३९५, जर्मनीबाट तीन हजार ९२६ र फ्रान्सबाट तीन हजार ८४१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । तस्बिर : गगनराज न्यौपाने
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच