काठमाडौं । महाधिवेशनलगत्तै विभाजनको संघारमा पुगेको भनिएको नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै तत्कालका लागि आन्तरिक संघर्ष मत्थर पारेको छ । महाधिवेशन सम्पन्न भएको साढे पाँच महिनापछि एकीकृत समाजवादीले शीर्ष नेताहरूको कार्यविभाजन टुंग्याएको छ । मंसिर २६ गतेदेखि बसेको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गर्नुका साथै विभिन्न विभागको प्रमुख तोकेको छ । नेकपा एसका सचिव सोमप्रसाद पाण्डेका अनुसार महाधिवेशनलगत्तै कार्यविभाजनबारे देखिएको अन्योल अब समाप्त भएको छ । उहाँले जिम्मेवारी बाँडफाँडबारे पार्टी शीर्ष नेतृत्वबीच प्रशस्त सहमति बनेको र संगठन सुदृढीकरणका लागि आधारसमेत तयार भएको बताउनुभयो । एकीकृत समाजवादीको महाधिवेशन गत असारमा सम्पन्न भएको थियो । महाधिवेशनले सहमतिमै नेतृत्व चयन गरे पनि पदाधिकारीहरूको चयन केन्द्रीय कमिटीभित्र निर्वाचनबाट गरिएको थियो ।
कसलाई के जिम्मेवारी ?
नेकपा एसका सम्मानित नेता एवं पूर्व–प्रधानमन्त्री झलनाथ खनालले स्कुल विभागको जिम्मेवारी पाउनुभएको छ । संगठन विभागको जिम्मेवारी वरिष्ठ नेता डा.वेदुराम भुसाललाई दिइएको छ भने प्रमेश हमालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ । वरिष्ठ नेता घनेन्द्र बस्नेतले राजकीय मामिला विभागको नेतृत्व पाउँदा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे मोर्चा प्रमुख हुनुभएको छ । उपाध्यक्ष जगन्नाथ खतिवडा संघीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वाला प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राई अनेमसंघ इञ्चार्ज र उपाध्यक्ष भानुभक्त जोशी सुदूरपश्चिम इञ्चार्ज हुनुभएको छ । उपाध्यक्ष धर्मनाथप्रसाद साह मधेश इञ्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधर बागमती इञ्चार्ज, उपाध्यक्ष मेटमणि चौधरी लुम्बिनी इञ्चार्ज, उपमहासचिव राजेन्द्र राई कोशी इञ्चार्ज र सचिव चन्द्रबहादुर शाही कर्णाली इञ्चार्ज र सचिव श्रीनाथ बराल गण्डकी इञ्चार्ज हुनुभएको छ । एकीकृत समाजवादीले महासचिव घनश्याम भुसाललाई अनुगमन विभागको प्रमुख बनाएको छ । भुसालले संगठन विभागमा रुचि राखे पनि अध्यक्ष नेपालले संगठनको नेतृत्व पूर्वमहासचिव वेदुराम भुसाललाई दिनुभयो । उपमहासचिव रामकुमार भट्टराईले कार्यालय सचिवको जिम्मेवारी पाउनुभयो भने उपमहासचिव गरिमा शाहले संसदीय इञ्चार्जको जिम्मेवारी पाउनुभएको छ । युवा विभागको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभागको इञ्चार्जको जिम्मेवारी नेतृ रामकुमारी झाँक्रीलाई दिइएको छ ।
आन्दोलनको तयारी
एकीकृत समाजवादीले पार्टीको आन्तरिक संगठन सुदृढीकरणसँगै आन्दोलनको समेत तयारी थालेको छ । स्थायी कमिटी बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा आन्दोलन तयारी समितिसमेत गठन गरेको छ । प्रतिपक्षी पार्टीका रूपमा जनताका सवाल उठाउन र सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्न आन्दोलनको विकल्प नरहेको समाजवादीको निष्कर्ष छ । ‘जनताका दैनिक समस्या, सुशासन, भ्रष्टाचारविरुद्ध जनताको चेतना वृद्धि गर्न आन्दोलन गर्न लागेका हौँ । जनसंघर्षको वा आन्दोलनको माध्यमबाट पार्टीलाई निर्माण, सुदृढीकरण र विस्तार गर्न सकिन्छ भन्ने सम्झेर अबको केही महिना हामी आन्दोलन गर्छौं’ उपाध्यक्ष जगन्नाथ खतिवडाको भनाइ छ । बैठकले आगामी निर्वाचनहरूमा पार्टीले सबै स्थानमा एकल उम्मेदवारी दिनसक्ने गरी जनतामा जाने र संगठन सुदृढ गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । तत्काल कुनै पार्टीसँग एकताको सम्भावना नरहेको बताउँदै एकीकृत समाजवादीले पूर्वएमाले नेता वामदेव गौतमलाई पार्टीमा स्वागत गर्न तयार रहेको निर्णयसमेत गरेको छ । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक गौतमले यसअघि एमाले वा समाजवादीमध्ये जता पनि आफू जान सक्ने बताउनुभएको थियो । एकीकृत समाजवादीले संविधान संशोधनमा आवश्यक सुझाव दिन उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा सात सदस्यीय सुझाव कार्यदलसमेत गठन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच