ओखलढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिका–४, फेदिगुठमा रहेका महत्वपूर्ण पर्यटकीय स्थल ओझेलमा परेका छन् । पर्यटनका लागि प्रचुर मात्रामा संभावना बोकेका महत्वपुर्ण पर्यटकीय स्थलहरु लगानी र प्रचारप्रसारको अभावमा ओझेलमा परेका हुन् । अनौठा प्राकृतिक बनावट भएका ठाउँहरु जसले पर्यटक कुरीरहेका छन् । पहाडको शिवलिङ्ग, सातकन्य गुफा, ११ देवीको एउटै मन्दिर, जागेश्वर महादेव मन्दिर लगायत अन्य प्राकृतिक मनोरम दृश्यहरु रहेका छन् ।
शिवलिङ्गको दुर्लभ पहाड
चम्पादेवी गाउँपालिका–४,स्थित ब्याँचुकमा शिवलिङ्ग आकारको अजंगको दुर्लभ पहाड रहेको छ । कालीगढले मिहेनत गरेर बनाएको शिवलिङ्ग भन्दा फरक नदेखिने दुई ठुला पहाडको बिचमा छुट्टै एउटा शिवलिङ्ग आकारको पहाड रहेको छ । दुईतर्फी झरना सहितको खोलाले काटेको भाग एकातर्फी आँफै भिरालो र अर्काेतर्फ अर्काे ठुलो पहाडमा काटिएर टाँसिएको पहाड रहेको छ । चारै दिशाबाट हेर्दा शिव लिङ्ग आकारको देखिन्छ ।
‘यो विश्वकै दूर्लभ शिवलिङ्ग हो, हामीले थाहा पाउँदा यो यस्तै पहाड थियो, यो भगवानकै पालादेखि शिवको बास भएको हुनुपर्दछ’ बयोबृद्ध रुद्र बहादुर कार्कीले बताउनु भयो । उहाँका अनुसार ः यो शिवलिङ्ग भन्दा केहि माथीको भागमा ढुंगाको पहराबाट पानी निस्कीएको छ । त्यहा कुनै माटो भएको ठाउँ देखिदैन तर ठुलो पानीको पलाएको छ । जस्तोसुकै गर्मीको समयमा पनि फ्रीजमा राखे बराबरको चिसो पानी हुन्छ । उक्त पानी शिवलिङ्गको पश्चिम भेगबाट नजिकैबाट बग्दै शिवलिङ्गको फेदसम्म आइपुग्दा साना ठुला गरेर ९ वटा भन्दा बढी झरनाहरु रहेका छन् । शिवलिङ्गको पूर्व र पश्चिम तर्फबाट बग्ने दुवै खोला शिवलिङ्गको फेद भागमा आएर मिसिएका छन् । दुवै खोलाको पानी गर्मी समयमा पनि अति चिसो भईरहने गरेको छ । ९० सालको महाभुकम्पमा ठुला–ठुला पहाड फुटेर झरे, पहिरो गयो, तर उक्त चिल्लो पहाडमा एउटा सामान्य ढुंगा पनि हल्लिएन । ७२ सालको भुकम्पमा पनि त्यहाँ कुनै केहि असर नगरेको कार्कीले बताउनु भयो ।
मध्यान्ह दिउँसो वा रातको समयमा विभिन्न खालको चिन्न र छुट्याउन नसकीने आवाज आउने गरेको पनि स्थानियवासीले बताएका छन् । यहाँको प्राकृतिक बनावट हेर्दा कुनै भगवान वा देवीदेवताको बास रहेको हुन सक्ने बुढापाकाहरुको भनाई छ । सुख्खा ढुंगाको पहराबाट छङ्गछङ्ग पानी आउनु, बाह्रै महिना पानीको मुहान नसुक्नु, एउटै खोलामा छोटो–छोटो दुरीमा साना ठुला झरना नै झरना हुनु, शिवलिङ्ग आकारको पहाडमा बोटविरुवा नभई सधै चिल्लो देखिनुले गर्दा अदृश्य शक्ति भएकोमा शंका नभएको बताउने गरेका छन् । त्यो ठाउँमा एकैछिनमा घाम लाग्ने, एकैछिनमा कुहिरो आउने, पानी नपरेको बेला मध्ये दिउँसो पनि कुहिरो आउने, छिन–छिनमै मौसम परिवर्तन हुने गरेको छ ।
उक्त शिवलिङ्गको वरीपरी भएका जंगलमा विभिन्न जातका मनै लौभ्याउने फुलहरु फुल्ने गर्दछन् । चराचुरुङ्गी, मयुर, कालीज, तिथ्रा, जुरेली, हुचिल, चिल, सिकारी, काग, न्याउली, बेहुली चरी, लाटोकोसेरो, चिवे, फिस्टो, पाखेआँेत लागायतका डेढ दर्जन बढी जातका चराचुरुङ्गी पाउने गरेका छन् । जंगली जनावरहरु, बाघ, चितुवा, मृग, घोरल, बाँदर, ढेडु, गोहोरो, सालक, दुम्सी लगायतका जीवजनावरहरु यत्रतत्र हेर्न र देख्न पाइन्छ ।
एघार देवीको एउटै मन्दिर
चम्वादेवी गाउँपालिका–४, ब्याँचुकस्थित ११ वटा देवीको एउटै मन्दिर रहेको छ । परापूर्वकाल देखि हाल सम्म विभिन्न समयमा ११ वटा देवी २ महादेव, बालाझाँक्री उतपन्न भएका हुन् । साथमा गंगाश्वरी (गैँया गैँयीनी), कालीनाग र शिद्धसिकारी समेत रहेका छन् । परापूर्वकाल देखि मालिका, कालिका देवी उतपन्न भई पूजार्चना हुदै आएकोमा पछि अन्य देवीहरु पनि सँगै उतपन्न भएका हुन् । उक्त मन्दिरमा भएका देवीहरु यस प्रकार रहेका छन् ।
१. मालिका देवी २. कालिका देवी ३.चञ्चला जलकन्या देवी ४.सेतीदेवी ५. भवश्वरी देवी ६. फुलमाला देवी ७. बनसकन्या कुमारी देवी ८. जलेश्वरी देवी ९. पञ्चकन्या कुमारी देवी १०. सातकन्या देवी ११. कुण्डला देवी १२. कैलाश्वर महादेव १३. जलेश्वर महादेव १४. बालाझाँक्री १५. कालीनाग १६ सिद्ध सिकारी
यो मन्दिरमा स्वच्छ मनले दर्शन, पूजाराधना गर्दा मनोकाङक्षा पुरा हुने भनाई छ । त्यहा दर्शन गरेर स्वच्छ मनले मागेको एउटै वस्तु चिताएको पुगेको स्थानिय दर्शनार्थी बताउछन् । पुजाराधना गर्दा विशेष गरी धनसम्पति बृद्धि भएको पनि बताउने गरेका छन् । हरिबोधनी एकादशी देखि पञ्चमी देखि विशेष मेला पुजाराधना गर्ने चलन रहे पनि साउन महिना बाहेक अरु बेलामा पनि पुजाराधना गर्ने गरेका छन् ।
जागेश्वर महादेव मन्दिर
चम्पादेवी गाउँपालिका–४, फेदिगुठमा जागेश्वर महादेवको मन्दिर रहेको छ । बालाचतुर्दशीका दिन विशेष मेला लाग्ने गरेको छ । महादेव मन्दिरमा अन्य दिनहरुमा पनि पूजाराधना गर्ने गरेका छन् । महादेवको उत्पतिको कथा यस्तो रहेको छ
जिल्लाको पूर्वपश्चिम जोड्ने पैदलयात्रीको लागि मुलबाटो त्यहि रहेको छ । यो बाटोलाई जिल्ला सदरमूकाम आउने जानेको लागि सहज र मुख्य बाटोको रुपमा लिने गरिएको छ । सडक सन्चालन नहुँदा पैदल यात्रीले यहि बाटोको प्रयोग गर्ने गरेका थिए । जुन बाटो अहिले पनि छँदैछ । मूलबाटोको छेवैमा रहेको जागेश्वर महादेवको शिलामा यसरी पूजाराधना गर्न शुरु गरिएको किंवदन्ती रहेको छ ।
परापूर्वकालमा ढाक्रेहरु सामान लिएर आउनेक्रममा विहानको खाना खाने बेलामा त्यहाँ आइपुगेका रहेछन् । ढाक्रेहरु बाटोमै खाना बनाएर खाने चलन रहेछ । पानी र रुखविरुवा भएको ठाउँ भएकाले त्यही खाना पकाएर खाने बिचार गरी खाना बनाउन शुरु गरेछन् । नजिकै मलायोगिरीको रुखको फेदमा एउटा ठाडो परेको ढुंगा रहेछ, त्यो ढुंगालाई एउटा चुल्हो र अरु दुईवटा ढुंगा राखेर भात पकाउन शुरु गरेछन् । जब आगो बालेर भातको भाँडो बसाएछन् तब त्यो भातको भाँडो घोप्टीएछ । अरु दुइवटा राखिएका चुलढुंगा डेक नचली अडिएका थिए । तर त्यो एउटा त्यहि रहेको चुलढुंगा ( महादेवको शिला) भने चलेर भाँडो लडेको थियो । पटकौँ पटक भाँडो बसाउँदा पनि लडेको लडेई गरेपछि ढाक्रे रिसाएर उक्त चुलढुंगोलाई पुनिउले हानेछन् । पुनिउले हानेपछि उक्त ढुंगाबाट रगतको धारा आएछ । त्यो देखेर ढाक्रेहरु भात नखाई उठेर हिडेछन् । करिब आधा घण्टाको उकालो पैदल यात्रा गरी एउटा ठुलो बरको रुखनिर पुगेर बसेका थिए । बस्नेबितिक्कै पुनिउले हान्ने ढाक्रे ढली रगत छादेर त्यहि देह त्याग गरेछन् । ढाक्रेको अचानक मृत्यु भएपछि अरु ढाक्रे साथीहरुले हल्लाखल्ला गरे अनि स्थानियबासीहरु सहभागी भए । के भएर यस्तो भयो भनेर खोजी गर्दा उसका साथीहरुले खान बनाउने बेलामा भएको अनौठो घट्नाको बारेमा बाताएछन् । र स्थानियबासीहरु त्यहा गएर हेर्दा रगत आएको चिल्लो शिला देखेपछि यो महादेवको शिला हो भनी पूजाराधना गर्न शुरु गरिएको किंबदन्ती रहेको छ । अहिले महादेवको शिलाको शिरमा पुनिउँको डाँम (चोट) प्रष्टरुपमा देख्न सकिन्छ ।
धार्मिक कथाहरुमा जागेश्वर महादेवको प्रसंग
सत्य युगमा दक्षप्रजापतिकी जेठी सुपुत्रीको रुपमा सतिदेवीको जन्म भएको थियो । उहाँको श्रीमहोव सँग विवाह भएको थियो । सतिदेवीका बाबा दक्षप्रजापतिले लगाउनु भएको थियो । महायज्ञमा महादेव र सतिदेवी बाहेक सबै छोरी ज्वाँईलाई बोलाएका थिए । यो थाहा पाई सतिदेवी महायज्ञमा गई आफ्ना बाबुआमा सँग किन हामीलाई नबोलाएको भनि गुनासो गरीन् ! तर दक्षप्रजापतिले आफ्ना पति श्रीमहादेवलाई नाना थरीका गाली गरेको सहन नसकी सतिदेवीले महायज्ञको अग्नीकुण्डमा हाम फाली देहत्याग गरीन । त्यो थाहा पाएर श्रीहादेवले आफ्नी मृत पत्नी सतिदेवीको लास बोकेर भ्रमण गर्दा सतिदेवीको अंग जहाँ जहाँ पतन भए त्यहा त्यहा शिद्धपीठहरु उत्तपन्न हुँदै गए । त्यहि क्रममा मलायोगिरीमा सतिदेवीको आसन पतन भई जागेश्वर महादेव शिद्धपीठको उत्तपन्न भएको कथा छ । पृथ्वीलोकमा सतिदेवीको अंग पतन भएर ७ करोड ५० लाख शिद्धपीठहरु उत्तपन्न भएका छन् । ति शिद्धपीठहरु मध्ये बज्रेश्वरी शिद्धपीठ श्रीजागेश्वर महादेवको उत्पन्न भएको हो ।
यहाँ हरेक वर्षको बालाचतुर्दशीका दिन दिवंगत भएका आफन्तको नाममा बत्ति बाल्ने सतबिउ छर्ने गरिन्छ । त्यसै गरी मेला (बजार) लाग्ने र बजारमा रमाईलो गर्नेको घुइँचो हुने गरेको छ ।
सातकन्या देवी गुफा
जिल्लाको चम्पादेवी गाउँपालिका–४ स्थित गुठगाउँमा सातकन्या देवीको गुफा रहेको छ । ठुलो पहराको बिचमा रहेको देवीको गुफामा पूजाराधना गर्ने गरिएको छ । यो गुफा हेर्दा निक्कै अचम्मको, पहराको ठुलो ढुंगाको बिचमा रहेको छ । यस गुफालाई सातकन्य गुफा भनेर चिनिने गरेको छ ।
किंबदन्तीअनुसार, परापूर्वकालमा सातवटी कन्या घाँस काट्न गएका थिए । ती सातै जना कन्याहरु एकैपटक हराए, घाँस लिएर घर फर्केनन् । परिवार लगायत स्थानिय बासीले खोजी गर्ने क्रममा कहिकतै नभेटिएपछि हार मानेर खोज्नै छोडेका थिए । झाक्रीमार्फत कम्प दिदा भिरको बिचमा एउटा ढुंगाको ठुलो गुफा हेको छ, त्यो गुफाम हामी सातै जना कन्या एकै ठाउँमा रहेका छौ भनेपछि स्थानियबासीले खोजी गर्न थालेछन् । त्यसरी हराएका सातजना कन्याको देवीको रुपमा सातकन्य देवी भन्दै उक्त दिन देखि पूजाराधना गर्न थालिएको स्थानिय बासीको भनाई रहेको छ ।
गुफा कति लामो छ भन्ने यकिन हुन नसकेपनि परापुर्वकालमा गुफामा कुखुराको भाले छोडीदिदा करिब ४ किलोमिटर जति टाढा रहेको चम्पादेवी गाउँपालिका–३, स्थित चित्रेमा रहेको शिद्धपोखरीमा पुगेर बासेको बुढापाकाहरुले बताउने गरेका छन् । चित्रेमा भएको शिद्धपोखरी अहिले पनि रहेको छ ।
यो गुफामा मानिसहहरु उभिएर हिड्न सक्ने र ओहोरदोहोर गर्न सकिने रहेको छ । यो गुफामा छिर्दा पहिला तेर्साेबाटो र करिब ३/४ मिनेट जति हिडेपछि ओरालो बाटो छ । ओरालो बाटो सकिने बित्तिकै एउटा ठुलो शिवलिङ्ग जस्तो देखिने वस्तु रहेको छ । उक्त मूर्ति शिवकै हो भनेर ठम्याउन भने सकिने अवस्था नरहेको स्थानिय मिन बहादुर गिरीले बताउनु भयो । मूर्ति भेट्टिएपछि तेर्साे बाटो आउने र त्यहा भन्दा उता नगएको भनाई छ । अहिले गुफा हेर्ने र दर्शन गर्नेको संख्या दिनानु दिन बढ्दै गएको छ । यो गुफा फेदिगुठ बजारबाट करिब आधाघण्टाको पैदलयात्रामा पुग्न सकिन्छ । बैशाखे पूर्णिमामा विशेष पूजाराधना गर्ने गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच