
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोट्र्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवाङ कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चापदार्थ र विशेष गरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवद्र्धन र सर्वसाधारणलाई सुलभरूपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो । आयातलाई नै केन्द्रित गरी स्थापना भएको संस्थासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास छ । जसबाट दुर्ई देशबीचको व्यापार घाटा कम हुने विश्वास छ । हाल दुई देशबीचको व्यापार घाटा करिब सात अर्ब रुपैयाँ रहेको छ ।
नेपालबाट हाल फेल्ट, गलैचा, धागोलगायतका परम्परागत सामान बढी निर्यात हुँदै आएकोमा कोइमासँगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य सामानका लागि पनि बजार खोज्न सकिने महासंघको विश्वास छ । दुई देशबीच दौंत्य सम्बन्ध स्थापनाको ५० वर्ष र समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष ढकालले दुई देशबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोलस्थित नेपाली दूतावासद्वारा आयोजित ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठूला बजारसँगको सामिप्यता कोरियाली लगानीकर्ताका लागि महत्वपूर्ण रहने बताउनुभयो ।
उहाँले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासंघको सक्रिय संलग्नतामा हालै गरिएका सुधारको चर्चासमेत गर्नुभयो । अध्यक्ष ढकालले सरकारको लगानीसम्बन्धी आठ कानुन संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमको जानकारी गराउनुभएको हो । साथै दुर्ईपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्वपूर्ण कदम भएको पनि उहाँले बताउनुभयो । नेपालको अनुकूल आर्थिक सूचकांकबारेमा प्रकाश पार्दै ढकालले विदेशी मुद्रा सञ्चिति करिब १७ अर्ब अमेरिकी डलर पुगेको र नेपालको पहिलोपटक क्रेडिट रेटिङ भएको जानकारी गराउनुभएको थियो । ढकालले पूर्वाधार विकासको महत्व औंल्याउँदै सडक, रेलमार्ग, विमानस्थल, शहरी योजना, होटल रिसोर्ट, केबलकार र स्मार्ट सिटीहरूमा कोरियाली विशेषज्ञता र लगानीका लागि आग्रह गर्नुभयो । उहाँले कोरियाली व्यावसायिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसर खोजी गर्न निमन्त्रणा दिँदै महासंघको विदेशी लगानी सहायता डेस्कमार्फत् पूर्ण सहयोगको आश्वासन दिनुभयो ।
दुई देशबीच टिआइपिएफ सम्झौता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन फ्रेमवर्क (टिआइपिएफ) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएका अवसरमा राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । मन्त्री भण्डारीले टिआइपिएफ सम्झौताले दुर्ई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री च्योङले दक्षिण कोरियाली कम्पनीद्वारा नेपालमा जलविद्युत्, अटोमोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरेको उल्लेख गर्दै टिआइपिएफ सम्झौताले दुर्ई देशबीचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने बताउनुभयो । विगतका सौहाद्र्रपूर्ण सम्बन्धको स्मरण गर्दै उहाँले दुवै देश एकअर्काका सहयात्री बन्नुपर्नेमा जोड दिनुभयो ।
उद्योगमन्त्रीको सचिवालयका अनुसार दुवै देशका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको वातावरण र अवसरहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय द्विपक्षीय व्यापार महाशाखा प्रमुख तथा प्रवक्ता बाबुराम अधिकारीले नेपालको व्यापारसम्बन्धी विद्यमान नीति तथा सो सम्बन्धमा हाल भइरहेका सुधारका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कोरिया नेपाल बिजनेस फोरमको उक्त कार्यक्रममा मन्त्रालय, लगानी बोर्ड, सोलस्थित नेपाली राजदूतावास र नेपालको निजी क्षेत्रका उद्योगी तथा व्यवसायीका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसहित करिब ३० जना उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच