काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहने घोषणा गरिसक्नु भएका नेता डा.शेखर कोइरालाले आफ्नो सक्रियता बढाउनुभएको छ । दुई साताअघि मोरङमा कोशी प्रदेशभरका पालिका सभापतिहरूलाई बोलाएर ‘सबैलाई आफूले संरक्षण गर्ने’ उद्घोष गर्नुभएका कोइराला सुदूरपश्चिम प्रदेश केन्द्रित यात्रामा आज निस्कँदै हुनुहुन्छ ।
नेपाल प्रजातन्त्र सेनानी संघको सुदूरपश्चिम अधिवेशनलाई उद्घाटन गर्ने औपचारिक कार्यक्रम भए पनि कैलालीमा रहँदा कोइरालाले प्रदेशभरका सबै जिल्ला सभापतिसहित नेताहरूसँग विशेष भेटघाट गर्न लाग्नुभएको हो । शुक्रबार दिउँसो १ बजेदेखि कोइरालाले क्रमशः कञ्चनपुर, कैलाली, डोटी, बैतडी, बझाङ, डडेल्धुरा, अछाम, दार्चुला र बाजुराका जिल्ला सभापति, पूर्वसभापति, महासमिति सदस्य एवं नेताहरूसँग भेट गर्नुहुने कार्यतालिका रहेको छ । कोइरालाको सचिवालयले सुदूरपश्चिम भ्रमण र भेटघाट नियमित मात्रै रहेको बताए पनि कांग्रेस वृत्तमा यो भ्रमणबारे चासो बढेको छ । सभापति शेरबहादुर देउवाको गृहप्रदेश पुगेर सबै जिल्लाका नेतासँग छुट्टाछुट्टै भेट गर्ने शेखरको तयारीलाई संस्थापन पक्षले पनि चासोका साथ हेरेको छ ।
गत मंसिर २३ मा पार्टीको कोशी प्रदेश सम्मेलनमा पुग्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगरस्थित कोइराला निवास पुग्नुभएको थियो । कोशी सम्मेलनमा शेखरको अनुपस्थितिले कांग्रेसमा तरंग पैदा गराएकै थियो । सुदूरपश्चिम भ्रमणबाट शेखरले थप सन्देश दिन चाहेको निकट नेताहरू बताउँछन् । ‘कोशी सम्मेलनमा जाँदा पार्टी सभापतिले पनि शेखर दाइलाई खोज्नुभएन । अहिले शेखर दाइ पार्टी सभापतिकै प्रदेशमा जाँदै हुनुहुन्छ । यो सामान्य भ्रमण मात्रै हो भनेर नबुझ्नुहोला’, शेखरनिकट एक नेताले हिमालय टाइम्ससँग भन्नुभयो । सुदूरपश्चिमका जिल्ला सभापतिहरूको चाहनाअनुसार नै धनगढीमा कार्यक्रम राखेर शेखर त्यसतर्फ जान लागेको ती नेताको दाबी छ ।
सभापति बन्ने सुर
कांग्रेसको १४औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गर्दा कोइरालाले ४० प्रतिशत मत हासिल गर्नुभएको थियो । कांग्रेसको केन्द्रीय सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउन जरुरी हुन्छ । कोइरालाको जारी राजनीतिक अभियान आगामी महाधिवेशनमा ५० प्रतिशतभन्दा बढी समर्थन जुटाउनकै लागि हो । धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, डा. मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी लगायतका नेताहरूको समर्थनमा विगतमा उम्मेदवार बन्नुभएका कोइराला समर्थनको दायरा बढाउन चाहनुहुन्छ । सभापति देउवा अब उम्मेदवार नरहने हुँदा देउवानिकट अन्य नेताहरूलाई आफ्नो टिममा ल्याउने कोइरालाको कसरत जारी छ । आफ्नो टिमलाई यथावत जोगाउने चुनौती पनि छँदै छ । महामन्त्री गगन थापाले सभापतिमा आफैँ उम्मेदवारी दिने चर्चाबीच कोइरालाले आफ्नो सक्रियता बढाउनुभएको हो । कोइराला र थापाबीच नयाँ सरकार गठनयता राजनीतिक संवाद हुन सकेको छैन । महामन्त्री थापा सभापति देउवाको टिमबाट उम्मेदवार बन्ने प्रयासमा हुनुहुन्छ । कोइरालानिकट नेताहरू अघिल्लो महाधिवेशनको मतले सभापति बन्न नपुग्ने र महामन्त्रीले टिम छाड्दा हुनसक्ने क्षति पनि कभर गर्नुपर्ने भएकाले कोइरालाको सक्रियता अझ बढेको दाबी गर्छन् । देउवा टिममा प्रभावशाली मानिनुभएका सहमहामन्त्री भीष्मराज आङदेम्बे, बालकृष्ण खाँण, एनपी साउद, मोहन बस्नेत लगायतका नेताहरूले आगामी महाधिवेशनमा शेखरलाई सहयोग गर्ने संकेत गरिसकेका छन् ।
यात्रा जारी रहने
नेता कोइरालाका राजनीतिक सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार अबका केही महिना कोइरालाको राजनीतिक यात्रा नियमित रहनेछ । सुदूरपश्चिमको कार्यक्रमलगत्तै कोइराला मधेश प्रदेश जाने र त्यहाँ पनि सबै जिल्लाका अगुवा नेताहरूसँग भेटघाट हुनेछ । ‘यो वर्ष दाइ ३५ जिल्ला पुगिसक्नुभयो । सबै जिल्ला पुग्ने प्रयास रहन्छ । धनगढीपछि मधेश प्रदेश जानुहुन्छ’, थपलियाले भन्नुभयो । पार्टीको विभिन्न तहले आयोजना गर्ने कार्यक्रम, शोकको सन्दर्भ तथा पारिवारिक कार्यक्रमहरूमा सहभागिता जनाउनका लागि पनि कोइरालाले काठमाडौं बसिरहनेभन्दा जिल्ला पुग्ने कार्यक्रमलाई प्राथमिकता दिनुभएको सचिवालयको भनाइ छ ।
कांग्रेसमा अधिकांश जिल्ला पुग्ने नेताहरूमध्येमा कोइराला पनि पर्नुहुन्छ । सभापतिको उम्मेदवार नरहँदा १३औँ महाधिवेशनका क्रममा सबैजसो जिल्ला पुगेर अभियान चलाउनुभएका कोइरालाले लोकप्रिय मत हासिल गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच