भैंसी पालक किसानको घर आगनमा प्रदेश सरकार, दुधको बजारीकरण गर्न पहल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 8 mins

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले भैंसी पालक किसान संग छलफल गरेको छ । दाङ जिल्लाको राजपुर र गढवा गाउँपालिकाका भैंसी पालक किसान संग कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीसहित मन्त्रालयको एक प्रतिनिधि मण्डलले घरदैलोमा पुगेर किसान संग छलफल र अन्तरक्रिया गरेको छ ।

किसानले भोग्दै आएको दुधको बजारीकरण गर्न प्रदेश सरकारले पहल लिने प्रतिबद्धता मन्त्री पन्थीले व्यक्त गर्नु भयो । ‘उत्पादनमा आधारित प्रदेश सरकारले दिदै आएको अनुदान किसानकै हातमा पुग्छ । पुर्‍याएका पनि छौं’मन्त्री पन्थीले भन्नुभयो ‘अव दुध उत्पादन बढाउन नश्ल सुधार र उत्पादित दुधको बजारीकरणकालागि सरकारले योजना बनाउछ ।’ राजपुर भैँसीपालनका लागि राम्रो ठाउँ भएको भन्दै मन्त्री पन्थीले किसानले दुधको उत्पादनलाई बढाउन परम्परागत रूपमा रहेको भैँसीपालनलाई आधुनिकीकरणसँगै नश्‍ल सुधारमा ध्यान दिनुपर्ने बताउनु भयो ।

‘परम्परागत रुपमा भैँसीपालन गर्दा किसानको लगानी धेरै, नाफा कम भइरहेको छ’, मन्त्री पन्थीले भन्नुभयो, ‘परम्परागत रूपमा गरिएको भैँसीपालनले किसानको अवस्थामा सुधार आउँदैन । किसानले थोरै लगानीबाट धेरै आम्दानी गर्नेतर्फ सोच्नुपर्छ ।’ त्यसका लागि किसानले गोठ सुधार, पौष्टिक आधार, नश्‍न सुधारदेखि उत्पादन भएको दुधको बिक्रीमा ध्यान दिनुपर्ने बताउनु भयो ।

परम्परागत रहेको भैँसीपालनलाई व्यवस्थित गर्दै अघि बढ्न सके प्रशस्त आम्दानीसँगै रोजगारीका अवसर समेत सिर्जना गर्न सकिने मन्त्री पन्थीको भनाइ थियो । दुध उत्पादक किसानले भोग्दै आएका समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकार गम्भीर रहेको भन्दै मन्त्री पन्थीले भन्नुभयाे, ‘व्यावसायिक रूपमा उत्पादन गरेको दुध टाउकोमा बोकेर बिक्री गर्न साध्य छैन, घरबाटै दुध बिक्री हुन सक्नुपर्छ । किसानले भोग्दै आएको दुध बिक्रीको समस्या समाधानका लागि प्रदेश सरकारले सहजीकरण गर्नेछ ।’

यादव सेवा समाज दाङ देउखुरीले भैँसीपालक किसानले भोग्दै आएका समस्या समाधानका लागि अन्तरक्रिया कार्यक्रम गरेको छ । जनप्रतिनिधिसहित भैँसीपालक किसानको सहभागितामा राजपुर गाउँपालिका-३ खरदरियामा अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीले परम्परागत रूपमा पाल्दै आएको व्यवसायलाई आधुनिकीकरण गर्नेदेखि उत्पादन भएको दुधको उचित मूल्यसँगै बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने माग गरेका थिए । कार्यक्रम यादव समाज सेवा संघका केन्द्रीय अध्यक्ष हिरालाल यादवको अध्यक्षता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा भएको थियो ।

किसानको चाहना गाउँबाटै दुध विकोस

राजपुर गाउँपालिका–३ खरदरिया निवासी रामधिरज यादव भैँसीपालक किसान हुनुहुन्छ । उहाँसँग अहिले ३५ भैँसी रहेका छन् । पुर्ख्याैली पेसाका रूपमा भैँसीपालन गर्दै आउनुभएका यादवका १४ वटा भैँसीले दुध दिने गरेका छन् तर गाउँमा दुध बिक्रीका लागि डेरी वा दुध सङ्कलन केन्द्रको व्यवस्था नहुँदा प्रत्येक दिन करिब ३५ किलोमिटर टाढा रहेको घोराही बजारसम्म आउनुपर्ने बाध्यता रहेको बताउनुभयाे ।

‘गाउँमै दुध बिक्री गर्ने व्यवस्था भइदिए सहज हुने थियो’, राजपुर गाउँपालिका–३ खरदरिया पुगेका लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीसँग समस्या राख्दै ७० वर्षीय यादवले भन्नुभयाे, ‘भैँसीपालक किसानका लागि पानी र घाँसको अत्यन्त आवश्यक छ तर गाउँमा पानी नै नहुँदा समस्या भइरहेको छ । पानीको व्यवस्थासँगै दुध बिक्रीका लागि सहज व्यवस्था गरिदिए प्रत्येक दिन घोराहीसम्म जानुपर्ने थिएन ।’

गाउँमा दुध खरिद गर्न आउने व्यवसायीले अत्यन्त कम मूल्य दिँदा किसान आफैँ दुध बिक्रीका लागि लमही, घोराही, भालुबाङ बजारसम्म जाने गरेको बताउनुभयाे । आफैँ दही, दुध बिक्रीका लागि बजारसम्म जाँदा थोरै भए पनि आम्दानी हुने र घरव्यवहार चलाउन सहज भएको बताउनुभयाे । उहाँका अनुसार बजार १०० रुपैयाँ लिटर बिक्री हुने दुध गाउँमा व्यवसायीले प्रतिलिटर ५०/६० रुपैयाँ मात्र दिने गरेको बताउनुभयाे ।

गाउँमा व्यवसायीलाई दुध दिँदा भैँसीपालनमा गरेको लगानी नै नउठ्ने अवस्था रहेको अर्का किसान सिताराम यादव बताउँनुहुन्छ । गाउँमा दुधको मूल्य नहुँदा किसान आफैँले बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता रहेको बताउनुभयाे । दुध बिक्रीदेखि भैँसीलाई खुवाउनका लागि पानीको गाउँमा अत्यन्त समस्या रहेको भन्दै यादवले भन्नुभयाे, ‘भैँसीपालन नै हाम्रो मुख्य पेसा हो । दही, दुध बिक्री गरेर घर परिवार चलाउने गरेका छौ तर उत्पादन भएको दही, दुध बिक्री गर्नै समस्या छ । गर्मी मौसममा भैँसीलाई खानेपानी नै हुँदैन । जस्ले गर्दा घाँस खेती गर्नै समस्या छ, यसतर्फ सरकारले ध्यान दिए हामीलाई सहज हुने थियो ।’

परम्परागत रूपमा रहेको भैँसीपालनलाई आधुनिकीकरण गर्न किसान उत्सुक रहे पनि आर्थिक अभावका कारण नसकेको भन्दै यादवले प्रदेश तथा स्थानीय सरकारले अनुदानको व्यवस्था गरेर गोठ तथा नस्ल सुधारमा सहयोग गर्नुपर्ने मन्त्री पन्थीसँग माग गर्नुभयाे । खरदरियाका सिताराम र रामधिरज जस्तै बेला, मटेरिया, प्रतापपुरलगायतका गाउँका किसानले दुधको उचित मूल्यसँगै बजारीकरणमा सहयोग गरिदिन सरकारसँग माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?