✍️ विष्णुचन्द्र गौतम
सानो भौगोलिक सिमानाभित्र रमाइरहेको नेपालमा सीमाविहीन विश्वको परिकल्पनामा दौडिरहेको विश्वव्यापीकरणको प्रभाव दिनानुदिन बढ्दै गइरहेको छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष विश्वव्यापीकरणको असरका कारण बेग्लै, परिमार्जित र परिस्कृत बन्दै गएका छन् । लगभग दुई सयको संख्यामा रहेका विश्वका सबै देश र राष्ट्रहरूमा नेपालीहरूको सम्पर्क, सम्बन्ध विस्तार हुँदै गइरहेको छ । सन् १९८० को दशकमा प्रवेश गरेको विश्वव्यापीकरणले प्रवेश गरेको आधा शतक नबित्दै मुलुकको हरेक क्षेत्र र स्थानमा प्रभाव जमाइसकेको छ ।
विश्वव्यापीकरणबाट आज नेपाल र नेपालीहरू भाग्ने वा लुक्ने अवस्था छैन । विश्वव्यापीकरणका मान्यतालाई अघि सार्दै, स्थानीयकरणलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको विकल्प छैन । विश्वव्यापी मान्यता सोच्ने र स्थानीय मान्यतानुरूप कार्य गर्ने गर्नुपर्दछ । अर्काको भएर परिवर्तन वा विकास हुने होइन, हामी आफ्नै भएर विकास हुनुपर्दछ ।
निकटका छिमेकी भारत-चीनमा आएको राजनीतिक परिवर्तनले मात्र होइन युरोप र अमेरिकाका राष्ट्रहरूमा आएको राजनीतिक परिवर्तनले नेपालमा राम्रैसँग प्रभाव जमाइरहेको छ । अमेरिकामा राष्ट्रपति को हुने, रुसको शासन सत्तामा को रहने वा बेलायतमा प्रधानमन्त्री कुन पक्षको रहने जस्ता कुराले नेपालीहरूको सोचाइ र बुझाइमा असर गरिरहेका छन् । आफूले सोचेको र खोजेको नेतृत्व आउँदा नेपालमा खुशी हुने चलन बढिरहको छ । नेपालको दश वर्षे सशस्त्र युद्धको सुरु, अन्त्य, गणतन्त्रको स्थापना र संघीयताको कार्यान्वयन वा पहिचानको मुद्दाको कार्यान्वयन जस्ता विषयलाई अन्तर्राष्ट्रिय नजरबाट हेर्ने कार्य भइरहेको छ । निर्वाचनमा कुनै दलको विजय–पराजय, सरकारको गठन–विघटनलाई विश्वका अन्य राष्ट्रको भाव र प्रभावसँग जोडेर हेर्ने गरिन्छ ।
विश्व बैंक, युरोपेली युनियन, अन्तर्राष्ट्रिय मुद्रा कोष, ड्यानीडा, नोराड आदि संस्थाले विश्वव्यापीकरण र यसको असरलाई साथै लिएर हिँडिरहेका छन् । यदि यस्ता संस्था, संगठन हुने थिएनन् भने विश्वव्यापीकरण सायद कतै हराउथ्यो होला । बहुराष्ट्रिय कम्पनी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संघसंगठन नै यसका कारक र पर्याय हुन् । विश्व स्वास्थ्य संगठनका प्रमुखले गरेको कुनै सम्बोधनले कोरोना माहामारीको समयमा विश्वलाई हल्लाउन सक्दथ्यो । अमेरिकामा भरखरै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रसंगले संसारमा नेपाललगायत विश्वका धेरै देशमा नयाँ तरंग पैदा गरेको छ । नेपालको नारायणहिटी राजदरबार हत्याकाण्डको विषयले सो समयमा विश्वको कुन सञ्चारमाध्यममा स्थान पाएनहोला रुस–युक्रेन युद्धमा नेपालीहरूको सहभागिताको विषय चर्चाको शिखरमा छ ।
अहिले त नेपाललगायत सम्पूर्ण विश्व यस्तो भइसक्यो कि एउटा देशमा प्राकृतिक विपत्ति आउँदा अर्को देशमा बजार भाऊँ बढ्दछ, कुनै दुई देशबीच युद्ध वा द्वन्द्व भए, तेस्रो देशमा उद्योग बन्द हुन पुग्दछन् । दिनहुँ दुई हजारको हाराहारीमा नेपालीहरू वैदेशिक रोजगार वा उच्च शिक्षाका लागि नेपाल छोड्छन् । विश्वव्यापीकरणकै कारण आज विश्वमा नेपाली नपुगेको कुनै देश सायद् छैन होला । पञ्चालयतकालीन समयमा त्यति धेरैको संख्यामा रहेका उद्योग र कलकारखाना हराउनुमा वर्तमान राजनीतिक नेतृत्वमात्रै दोषी छैन, विश्वव्यापीकरणको असर पनि बराबर दोषी छ । नेपाल जब विश्व व्यापार संगठनको सदस्य बन्यो सानो भूपरीवेष्ठित राष्ट्र भएकै कारण अन्य देशसँग प्रतिस्पर्धा गर्न नसक्दा व्यापार बढाउन सकेन तर अन्य देशहरूले भने नेपालमा व्यापार बढाउन सफल रहे । नेपालको व्यापार घाटा यहीकारण दिन दुई गुणा र रात चौगुणा बढिरहेको छ । विश्वव्यापीकरणबाट नेपालले प्राप्त गरेको ठूलो फाइदा भनेको वैदेशिक रोजगार हो । नेपालमा महिनै पिच्छे अर्बौं अर्ब विप्रेषण भित्रि रहेको छ । गरिबी र आर्थिक असमानता न्यूनीकरण भइरहको छ ।
रोजगारीका लागि विदेशमै भरपर्दा नेपालको आफ्नो उत्पादन र उत्पादकत्वमा भने नकरात्मक असर गरिरहेको छ । गाउँघर, बस्ती खाली बन्दैछन् । खेतबारी बाँझो पल्टिरहेका छन् । अर्काको रोजगारीको पछि लाग्दा मुलुक चौपट्ट होला भन्ने पीर छ । शिक्षण संस्थाहरू विश्वव्यापीकरणकै कारण सरकारको नीति असफल हुँदा विद्यार्थी जति विदेश लाग्दा भूतबङला झै बन्लान भन्ने डर भइरहेको छ ।
विश्वव्यापीकरणको ठूलो प्रभाव मुलुकको सामाजिक-सांस्कृतिक पक्षमा परिरहेको छ । नयाँ पुस्ताले आफ्ना मूल्य, मान्यता, रीतिरिवाज र संस्कार बिर्सँदै जाँदा पहिचान नै खतरा पर्ने चिन्ता छ । नेपाली धर्म, संस्कृति पढ्नुपर्छ र यसको ठूलो महत्व रहेको छ भन्ने कुरालाई बुझ्न र बुझाउन नसकिएको हो कि भन्ने भान छ । यदि यो अवस्थामा परिवर्तन गर्न नसकिए हामी नै नरहन सक्छौं ।
विश्वव्यापीकरणबाट आज नेपाल र नेपालीहरू भाग्ने वा लुक्ने अवस्था छैन । विश्वव्यापीकरणका मान्यतालाई अघि सार्दै, स्थानीयकरणलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको विकल्प छैन । विश्वव्यापी मान्यता सोच्ने र स्थानीय मान्यतानुरूप कार्य गर्ने गर्नुपर्दछ । अर्काको भएर परिवर्तन वा विकास हुने होइन, हामी आफ्नै भएर विकास हुनुपर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच