काठमाडौं । चलचित्र ‘सोल्टिनी’ को छायांकन सुरु हुनुअगाडि यसको पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो भिडियोमार्फत यसको कथा र विषयवस्तुबारे प्रारम्भिक जानकारी दिइएको थियो भने हाल पोष्टर सार्वजनिक गर्दै निर्देशक अर्जुन सुवेदीले चलचित्रको छायांकन प्रक्रिया छिट्टै सुरु हुने जानकारी गराउनुभयो ।
पोस्टरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुलाई प्रेम र वियोगको भावमा प्रस्तुत गरिएको छ । सपुतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउनेछन् । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेकाले दर्शकहरूमा विशेष चासो उत्पन्न भएको छ । पोष्टरको डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गर्नुभएको हो ।
भोजपुरको सुन्दर प्राकृतिक परिवेशमा छायांकन हुने ‘सोल्टिनी’ले समाजमा व्याप्त जातीय भेदभाव र अमानवीयताका विरुद्ध आवाज उठाउने जनाइएको छ । साथै, मुख्य पात्रहरूबीचको प्रेमकथाले चलचित्रलाई थप रोचक बनाउने निर्देशक सुवेदीले बताउनुभयो ।
चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बुसँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, र सुजन खतिवडाको अभिनय रहनेछ । चलचित्रको संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको रहनेछ भने छायांकन सुशन प्रजापतिले गर्नुहुनेछ । चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेख्नुभएको हो ।
प्लानेट थ्री फिल्मस्को प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रका निर्माता रेजिना विष्ट र संसार चौलागाईं रहनुभएको छ । चलचित्रको नेपाल वितरण आरआर फिल्मस् प्रा.लि.र विदेशी वितरण नेपसिनेले गर्नेछन् । डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ । यस चलचलचित्रलाई २०८२ साल असोज ३ गते, संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच