
काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग फरक मत राख्नेहरूको राजनीतिक ‘अवसान’को खतरा बढेको छ । लामो समयदेखि ओलीसँग फरक मत राख्दै आउनुभएका नेता डा.भीम रावल एमालेबाट निष्कासित हुनुभएको छ । त्यस्तै, पार्टी नेतृत्वसँग कार्यालय निर्माणबारे असहमति राखेकै कारण स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन गरिएपछि एमालेमा नेतृत्वसँग फरक मत राखेर राजनीतिक रूपमा क्रियाशील रहनै असम्भव देखिएको छ ।
एमालेको दशौँ महाधिवेशनमा अध्यक्षका लागि ओलीसँग प्रतिस्पर्धा गर्नुभएका नेता रावललाई लामो समयदेखि भूमिकाविहीन बनाइएको थियो । बुधबार बसेको एमाले सचिवालय बैठकले उहाँलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गर्यो । यसबाट एमालेमा पाँच दशकदेखि सक्रिय रावललाई नयाँ राजनीतिक कदमका लागि बाध्य बन्नुपरेको छ । पाँच वर्षअघि संसद् विघटनको सन्दर्भमा तत्कालीन नेकपामा चुलिएको विवादका दौरान एमाले नै विभाजित भए पनि रावल एमालेमै बस्नुभएको थियो । अधिकांशले एमाले विभाजनपछि रावल माधव नेपालतिर लाग्ने अनुमान गरे पनि उहाँले एमालेभित्रै लडाइँ लड्ने उद्घोष गर्नुभएको थियो । अब भने एमालेभित्रै रहेर राजनीतिक संघर्ष गर्ने सम्भावना पनि समाप्त भएको छ ।
निलम्बित स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पार्टीले ६ महिना छुट्टी दिएकाले सिर्जनात्मक काममा व्यस्त रहने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत ६ महिनाको अवधिलाई रचनात्मक बनाउन सुझावसमेत माग्नुभएको छ । निलम्बित केन्द्रीय सदस्यले भने एमालेको पञ्चकरण भएको उल्लेख गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत पञ्चायतविरुद्ध लडेका नेताहरूले नै एमालेमा पञ्चहरूको नक्कल गरेको बताउनुभएको छ ।
ओली-रावल सम्बन्धको उतारचढाव
२०६५ साल फागुनमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा ओलीकै प्यानलबाट उपाध्यक्षमा रावलले प्रतिस्पर्धा गर्नुभएको थियो । संविधान निर्माणपछि बनेको ओली नेतृत्वको सरकारमा रावल उपप्रधान एवं रक्षामन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । त्यतिबेला ओलीको विश्वासपात्रको रूपमा सबैले रावललाई चिन्थे । पार्टीको आन्तरिक शक्ति संघर्षमा लामो समय सहकार्य गरे पनि विगत आधा दशकदेखि ओली-रावल सम्बन्ध तीक्ततापूर्ण रहृयो । एमाले र माओवादीबीच भएको एकतापश्चात् नेकपामा रावललाई उचित भूमिका दिइएन ।
नेकपाको सचिवालयमा समेत नपरेपछि अध्यक्ष ओलीको कटु आलोचकका रूपमा रावल प्रस्तुत हुनुभयो । नेपालमा आयोजनाको तयारी गरिएको आइफा अवार्डबारे सत्तारूढ दलकै सांसदका रूपमा रावलले कडा विरोध जनाउनुभयो । नेकपा सरकारले एमसिसी अगाडि बढाउन खोज्दा रावलले विरोध जनाइरहनु भयो । ओलीले संसद् भंग गरेपछि प्रचण्ड र माधव नेपाललाई रावलले साथ दिनुभएको थियो । एमाले ब्युँतिएपछि ओलीविरुद्ध निरन्तर लागे पनि पार्टी विभाजनमा माधव नेपाल र झलनाथ खनाललाई रावलले साथ दिनुभएन ।
सर्वोच्चको परमादेशपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले विश्वासको मत लिने बेला रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको थियो । पार्टीभित्रै रहे पनि नेतृत्वलाई निरन्तर लाञ्छित गरेको भन्दै संस्थापन पक्ष रावलसँग रुष्ट थियो । यहीकारण एमालेको सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी रावलबाट खोसियो । यिनै विवादको निरन्तरता महाधिवेशनसम्म पुग्यो । चितवन महाधिवेशनमा रावलले ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिनुभयो ।
एक हजार ८३७ मत ल्याउनुभएका ओलीविरुद्ध रावलले २२३ मत ल्याउनुभयो । महाधिवेशनको साढे दुई वर्षसम्म भूमिकाविहीन बनाइएका रावलले गत निर्वाचनमा संसदीय टिकटसमेत पाउनुभएन । बीचमा ओली र रावलबीच वार्ता भए पनि वार्ताले रावलको एमालेबाट निष्कासनलाई रोक्न सकेन । विवाद र संघर्षको यही शृंखलाले अन्ततः रावललाई झण्डै पाँच दशक सक्रिय योगदान गरेको पार्टीबाट अलग बनाउँदै छ ।
नयाँ पार्टी खोल्ने तयारीमा रावल
राजनीतिक वृत्तमा धेरैले रावललाई नेकपा एकीकृत समाजवादीमा जानसक्ने नेताका रूपमा चित्रित गरेका छन् । यसअघि घनश्याम भुसाल पनि एमाले छाडेर एसमा गएका कारण यस्तो चर्चा भएको हो । स्वयं रावल भने नयाँ पार्टी स्थापनाको तयारीमा रहेको बताइन्छ । एमालेले आफूलाई अन्याय गरेको र ओलीको चरित्रबारे राजनीतिक भण्डाफोर गर्न देशव्यापी यात्रामा निस्कने तयारी रावलले गर्नुभएको छ । लगत्तै नयाँ पार्टीको सम्भावना देखिन्छ । ‘एमालेमा रहने वातावरण नभएपछि समाजवादीमा जानुपर्छ भन्ने छैन । उहाँ देशव्यापी यात्रामा जानुहुन्छ । जनमत बुझ्नुहुन्छ र उपयुक्त निष्कर्षमा पुग्नुहुन्छ’, रावलनिकट एक नेताले जानकारी दिनुभयो ।
ती नेताका अनुसार पुराना राजनीतिक दलप्रति जनताको चासो घटेको बेला परम्परागत दलमा जानुभन्दा नयाँ राष्ट्रवादी शक्ति निर्माण गर्ने रावलको सोच छ । ‘पुरानै पार्टी र पुरानै सोचभन्दा माथि उठेर अगाडि बढ्न सुझाव दिएका छौँ । सही प्रयत्न गर्ने हो भने देशभरी नयाँ माहोल बन्नसक्छ’, रावलनिकट नेताको भनाइ छ । उहाँका अनुसार आफ्नो आगामी राजनीतिक यात्राबारे रावलले केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुहुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच