चट्टगाँव । मुख्यतया मुस्लिम राष्ट्रमा धार्मिक द्वन्द्वपछि अल्पसंख्यकको सुरक्षाका लागि वकालत गर्ने स्पष्टवादी हिन्दु भिक्षुलाई बिहीबार बंगलादेशको अदालतले पुनः जमानत दिन अस्वीकार गरेको छ । चिन्मय कृष्ण दासलाई नोभेम्बरमा एक र्यालीमा कथित रूपमा बंगलादेशी झण्डाको अपमान गरेको आरोपमा पक्राउ गरिएको थियो र उहाँले राजद्रोहको आरोपको सामना गरिरहनुभएको छ ।
अघिल्लो जमानत सुनुवाइपछि हिंसा भड्किएपछि सुरक्षा बलले दक्षिणी बन्दरगाह शहर चट्टगाँवमा रहेको अदालतलाई घेरा हालेको थियो । भिक्षुका अनुयायीहरूमाथि सरकारी वकिलको हत्या गरेको आरोप लगाइएको थियो । दासले राजद्रोहको आरोप अस्वीकार गर्नुभएको उहाँका वकिल अपूर्बाकुमार भट्टाचार्जीले बिहीबार बताउनुभयो । तर, सरकारी वकिल रेहानुल वाजेद चौधरीले ‘अझ धेरै अनुसन्धान गर्नुपर्ने’ भएकाले जमानतको विरोध गरेको बताउनुभयो ।
अभियोजन र प्रतिरक्षा दुवैले अदालतले जमानत आवेदन अस्वीकार गरेको बताउनुभयो । नोभेम्बरमा मारिएका वकिल सैफुल इस्लाम अलिफको परिवारले उहाँको मृत्युसँग सम्बन्धित रहेको भन्दै दुईवटा छुट्टै मुद्दा दायर गरेका छन् । यसमा तोडफोड र विस्फोटक पदार्थ बोकेको आरोपमा ५८ जना हिन्दु वकिल पनि छन् । गतवर्ष विद्यार्थी नेतृत्वको क्रान्तिले स्वेच्छाचारी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि बंगलादेशमा धार्मिक सम्बन्ध अशान्त भएको छ ।
नयाँदिल्लीको हिन्दु-राष्ट्रवादी सरकार हसिनाको प्रमुख समर्थक थियो र अगस्ट ५ मा प्रधानमन्त्रीको दरबारमा आक्रमण गर्दा प्रदर्शनकारीबाट भागेर ७७ वर्षीया हसिना भारतमा निर्वासनमा हुनुहुन्छ । बंगलादेशले डिसेम्बरमा भारतलाई हसिनालाई ‘नरसंहार, हत्या र मानवताविरुद्धको अपराध’को आरोपको सामना गर्न फिर्ता पठाउन अनुरोध गरेको थियो । भारतले अनुरोध प्राप्त गरेको पुष्टि गरेको छ तर थप टिप्पणी गर्न अस्वीकार गरेको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच