काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रुसका लागि पनि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली संघ(एनआरएनए) अध्यक्ष डा. बद्री केसीसँग शुक्रबार भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भण्डारीले भन्नुभयो, ‘यस सम्बन्धमा खासै धेरै समस्या छैन, परराष्ट्र मन्त्रालयसँग समन्वय गरी छिट्टै श्रम स्वीकृति खुला गर्छौं ।’ सो अवसरमा एनआरएनए अध्यक्ष केसीले तत्कालीन अवस्थालाई ध्यानमा राखी मन्त्रिपरिषद्ले गरेको निर्णयमा पुनरवलोकनका लागि पहल गरी वर्षौंदेिख विभिन्न रोजगार, पेशा, व्यवसाय एवं उच्च शिक्षा अध्ययन गर्न रसियामा रहेका हजारौं नेपालीहरूका लागि सहजरूपमा आवतजावतका लागि श्रम स्वीकृति एवं नवीकरण कार्य तत्काल सुचारु गरिदिन अनुरोध गर्नुभएको थियो ।
वैदेशिक रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देश रुसमा सेनामा सहभागी हुन सक्ने सम्भावना रहेको र सोबाट सिर्जना हुन सक्ने मानवीय जोखिम रहेको भन्दै गत वर्षको पुस १९ मा वैदेशिक रोजगार विभागले रुसका लागि श्रम स्वीकृति दिन रोकेको थियो ।
भेटका क्रममा अध्यक्ष केसीले इराकको कुर्दिस्तानमा रहेका नेपालीका समस्याबारे जानकारी गराउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुर्दिस्तानमा ठूलो संख्यामा नेपालीहरू विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेका छन्, ती नेपालीहरूलाई पासपोर्ट नवीकरण तथा नेपाली दूतावासबाट प्राप्त गर्ने सुविधा लिन कुवेतस्थित नेपाली दूतावास तोकिएको छ, जुन त्यति सहज नभएको गुनासो आउने गरेको छ, उक्त सुविधा कतार तथा युएई नेपाली दूतावासबाट पाउने गरी व्यवस्था गरिदिनुहुन पनि म अनुरोध गर्छु ।’ जवाफमा मन्त्री भण्डारीले उक्त विषयमा परराष्ट्र मन्त्रालयमार्फत् समन्वय गर्ने उल्लेख गर्नुभयो । अध्यक्ष केसीले वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन एनआरएनएसँग संयुक्त र सामूहिक कार्यक्रम तर्जुमा गर्नसमेत आग्रह गर्नुभएकोमा मन्त्री भण्डारीले बढीभन्दा बढी श्रमिक तथा स्वरोजगारकर्र्ता कोषमा आबद्ध गर्न सरकारले परिमार्जनसहितको योजना बनाइरहेको र त्यसमा एनआरएनएसँग पनि सहकार्य गर्ने बताउनुभएको थियो । आगामी फेब्रुअरीमा सरकारले गर्न लागेको श्रम रोजगार सम्मेलनमा पनि एनआरएनएलाई सहभागी गराउने उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष केसीले चेक रिपब्लिकमा कोरोनापछि श्रम स्वीकृति नवीकरण रोकिएकाले श्रम स्वीकृति एवं नवीकरण कार्य सहजीकरणका लागि पनि आग्रह गर्नुभएको थियो ।
भेटका क्रममा मन्त्री भण्डारीलाई बुझाइएको पत्रमा वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको ज्ञान, सीप र पुँजी स्थानीय तहमार्फत् परिचालन गर्न तथा उनीहरूलाई नीतिगतरूपमा सहयोग उपलब्ध गराउंँदै पुनर्एकीकरण गर्न, गैरआवासीय नेपाली लक्षित विप्रेषण तथा लगानी प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन एवं पुरस्कार र सम्मानको व्यवस्था गर्न, वैदेशिक रोजगारीमा जानेलाई अनिवार्यरूपमा अभिमुखीकरण सीप दिन, सातै प्रदेशमा व्यावसायिक सीप शिक्षा केन्द्र खडा गरी दक्ष जनशक्तिमात्र विदेश पठाउने व्यवस्था गर्न, वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई वैधानिकरूपमा बंैकिङ च्यानलमार्फत् ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले नेपाली श्रमिकलाई उनीहरूले पठाएको विप्रेषणमा २ प्रतिशतसम्म प्रिमियम सरकारले उपलब्ध गराउने व्यवस्था गर्न अनुरोध गरिएको छ । सो अवसरमा रुसका लागि नेपाली राजदूत प्रा.डा. जंगबहादुर चौहानको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच