परीक्षा अगावै कक्षा ८ को प्रश्नपत्र बाहिरियाे, ५ सय देखि हजार रुपैयाँमा खरीद-बिक्री भएको खुलासा 

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । विद्यार्थीहरुको क्षमता मुल्यांकन गर्न परीक्षा संचालन हुन्छ । परीक्षा जहिल्यै पनि मर्यादित हुनु पर्छ । तर कलैयाका केही निजी विद्यालयले कक्षा ८ को परीक्षा अमर्यादित बनाएको खुलासा भएको छ ।

एसइइ परीक्षाको प्रश्नपत्र बाहिरिएको पहिला सुनिन्थ्यो । तर, आधारभुत तहको परिक्षामै प्रश्नपत्र बाहिरिनु आश्चर्यजनक भएको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताउनुभयो ।

‘विद्यालयको देखावटी प्रसिद्धी कमाउन र अभिभावकको आँखामा छारो हान्ने काम निजी विद्यालयले गर्ने गरेका छन,’ उहाँले भन्नुभयो, ‘आफ्नो स्वार्थ पूर्ति गर्न विद्यार्थीको भविष्य धरापमा पार्न खोजिएको छ ।’ प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न शिक्षक, विद्यालयलाई कानुनी दायरामा ल्याई कारवाही गर्न उहाँले सम्बन्धित निकायसँग माग गर्नुभयो ।

चैत ५ गते देखी सुरु भएको कक्षा ८ को जिल्ला स्तरिय परीक्षाको दिनहुँ प्रश्नपत्र बाहिरिएको आफुले जानकारी पाएको उहाँले बताउनुभयो ।

प्रश्नपत्र बाहिर ल्याउने व्यक्तिले गणित, विज्ञान र अंग्रेजी विषयको प्रश्नपत्र १४ सय रुपैयाँमा बिक्री गरेको एक विद्यार्थीले बताउनुभयो ।

बाँकी विषयको प्रश्नपत्र ५ सय देखि एक हजार रुपैयाँमा खरीद बिक्री भएको ती विद्यार्थीले जानकारी दिनुभयाे ।

प्रश्नपत्र बाहिरिएको तथ्य सामाजिक संजालमा भाईरल भएपछि कलैया उपमहानगरपालिका सहितको सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ ।

कलैया स्थित मनकामना ईंगलिश बोर्डिङ्ग स्कुलबाट प्रश्नपत्र बाहिरिएको आफुले जानकारी पाएको कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले बताउनुभयो ।

‘प्रश्नपत्र बाहिरिनु दुःखद भएको र यसले कलैयाको शिक्षा क्षेत्रलाई बदनाम गराउने काम भएको छ,’ उहाँले भन्नुभयो, ‘प्रश्नपत्र परीक्षा सुरु हुनु भन्दा एक घण्टा अगाडी बाहिरिने गरेको जानकारी पाएको छु ।’ प्रश्न पत्र बाहिर ल्याउने घटनाबारे छानबीन सुरु गर्न शिक्षा शाखालाई निर्देशन दिईसकेको उहाँले जानकारी दिनुभयो । यो घटनामा दोषी देखिने व्यक्ती र शैक्षिक संस्थालाई कारवाही गर्ने दाबी समेत नगर प्रमुख साहले गर्नुभयो ।

आरोपित मनकामना इङ्लिस बोर्डिङ्ग स्कुलका संचालक रामबाबु कुशवाहाले आफ्नो विद्यालयबाट कक्षा ८ को प्रश्नपत्र नबाहिरिएको दाबी गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?